बिर्तामोड । 
होटल व्यवसायी संघ झापाको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व सम्हालेकी छन् । संघको कार्यलय बिर्तामोडमा मंगलबार सम्पन्न सपथ ग्रहणपछि अध्यक्षमा इन्दिरा श्रेष्ठले नेतृत्व सम्हालेकी हुन् ।
संघको अधिवेश नगत चैत ८ गते भएको थियो । संघको नवौं साधारण सभाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै होटल ब्यवसायको क्षेत्रमा पहिलो पटक महिलाले नेतृत्व सम्हालेकी हुन् ।
तीन वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा चयन भएकी अध्यक्ष श्रेष्ठले विश्व नै कोरोना भाइरसको संकटमा गुज्रिरहेका बेला नेपालमा पनि होला ब्यवसायीहरु अत्यन्त समस्यामा परेको उल्लेख गरिन् । यो कठिन अवस्थामा समेत महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने विश्वासका साथ आफुलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेकोमा सबैलाई धन्यवाद दिइन् ।
उनले ब्यवासयीको समस्या, मजदुर तथा श्रमिकको पक्षमा काम गर्दै होटल व्यवसायलाई अझ ब्यवस्थित र मार्यादित बनाउन पहल गर्ने विचार ब्यक्त गरिन् । उनले सबै होटल ब्यवसायीहरुको साथ र सहयोगको अपेक्षा राख्दै सबैले हातेमालो गरेमा मात्रै गन्तव्यमा पुग्न सकिने विचार ब्यक्त गरिन् । लकडाउनका कारण आर्थिक क्षेत्र धरासायी बन्ने अवस्थामा पुगेका बेला सरकारले ब्यवसायीहरुलाई आर्थिक प्याकेज ल्याएर विशेष सहयोग गर्नु पर्ने उनको भनाई छ ।

तीन बर्षे कार्यकालका लागि नव गठित समितिको बरिष्ठ उपाध्यक्षमा नरेश महरा, उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा ख्याम ओली, कोषाध्यक्षमा रमेश थापा मगर चयन भएका छन् । सदस्यमा अनिता खनाल, मिनाकुमारी कोइराला, खड्कमान गुरुङ, निरज सिटौला, राजन गिरी, जयप्रकाश राई, अम्बिका पोखरेल, तिलक निरौला, नारायणप्रसाद खरेल रहेका छन् ।
सपथ ग्रहण कार्यक्रममा होटल ब्यवसायी संघ झापाका नि–वर्तमान अध्यक्ष भोला उप्रेतीले निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।





























