अपाङ्गता भएकाका घरघरमै राहत बाँड्दै कलाकार

0
960

चिप्लेढुङ्गा,

बन्दाबन्दीले असहज बनिरहेको अवस्थामा पोखराका कलाकार यतिबेला आहत मनहरुलाई राहत बाँड्न सक्रिय बनेका छन् । लामो समयदेखिको बन्दाबन्दीले कष्टकर जीवन व्यतीत गर्न बाध्य बनेका अपाङ्गता भएका व्यक्तिलाई घरघरमै पुगेर कलाकार सङ्घले राहत प्रदान गरेको हो ।

पोखरा साङ्गीतिक कलाकार सङ्घले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा तेस्रो चरणको राहत वितरण कार्यक्रमअन्तर्गत पोखरा वडा नं १० र १५ का अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरेको छ । सङ्घका अध्यक्ष सुनिल थापाले अपाङ्गता भएका ४७ व्यक्तिको परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको अवस्था असहज छ, यसमा पनि अपाङ्गता भएकाहरुको जीवन झन् कष्टकर छ, हामीले तेस्रो चरणमा कोलपाटन, नयाँगाउँ, रामबजार क्षेत्रका घरघरमै पुगेर राहत वितरण गरेका हौँ ।” उहाँले राहतलाई तीन तहमा विभाजन गरी वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार राहतमा १० देखि २० किलोसम्म चामल, दाल, तेल, नुन, सोयाबिन, मसला, तथा साबुन वितरण गरिएको छ ।

राहतमा सक्रिय गायक कर्णदासले स्थानीय र जनप्रतिनिधिसँग सहकार्य गरी अपाङ्गता भएका परिवारको पहिचान गरेर राहत वितरण गरिएको जानकारी दिनुभयो । यसअघि सङ्घले पोखरा–६ लेकसाइडका जरेबर र नारेश्वर क्षेत्रमा १६ परिवार, बाराहीचोक क्षेत्रमा २४ परिवार तथा सेन्टर प्वाइन्ट क्षेत्रमा १३ परिवार गरी ५३ परिवार तथा पोखरा महानगरपालिका–३, नदीपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत वितरण गरिसकेको गायक विनोद बानियाँले बताउनुभयो ।

पोखरा युके फाउण्डेशन युकेले हरेक विपत्तिमा सहयोग गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष भीममहेन्द्र गुरुङ र जगत गुरुङको पहलमा पोखरा साङ्गीतिक कलाकार सङ्घले उक्त राहत वितरण गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here