झापामा कोरोना संक्रमण बढेसंगै बिर्तामोडका सबै बाटो बन्द गर्ने नगरपालिकाको निर्णय

0
1234

बिर्तामोड ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढदै गएपछि स्थानीय तहहरुले आफ्नो क्षेत्र धमाधम सिल गर्न थालेका छन् । झापामा कोरोना संक्रमित बिरामी बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले समेत आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाले हिजो गरेको सर्वपक्षीय छलफलबाट निस्किएको निश्कर्षलाई आज सार्वजनिक सूचनामार्फत् कार्यान्वयनमा ल्याएको हो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले हस्ताक्षर गरी आज जारी गरिएको अपिलमा अरु स्थानीय तहको भूगोलबाट कसैलाई पनि बिर्तामोडमा प्रवेश नदिइने भनिएको छ । अब बिर्तामोड प्रवेशमा पूर्ण रुपमा बन्देज गरिएको उल्लेख गरिएको छ । नगर कार्यपालिकाको बैठकले गरेको निर्णय कार्यान्वयन गर्दै लकडाउनलाई कडाई पूर्वक पालना गर्न नगरपालिकाले नगरवासीलाई अपील गरेको हो । पास विनाका सवारी सञ्चालनमा पूर्णरुपमा सञ्चालनमा रोक लगाइने नगरप्रमुख शिवाकोटीले बताए ।

स्वास्थ्य तथा कृषि बाहेकका सबै सेवा अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले उल्लेख गरे । आज दिउँसो नगरवासीका नाममा अपिल जारी गर्दै नगरप्रमुख शिवाकोटीले अस्पताल, औषधि पसल, शव बाहन र एम्वुलेन्सको सेवा नरोकिने जनाएका छन् ।

दूध, बीउबीजन र मलको उत्पादन तथा बिक्री वितरणमा कुनै रोक लगाइएको छैन भने पशु उपचार सेवामा पनि छुट दिने निर्णय नगरपालिकाले सार्वजनिक गरेको अपिलमा उल्लेख छ । घुम्ती सेवामार्फत बिहान ८ देखि १२ सम्म तरकारी बिक्री गर्न पाइनेछ ।

नगरभित्र सञ्चालन भइरहेका विकास आयोजनाको काम भने नरोकिने भएको छ । ती आयोजनामा मालसमान ढुवानी गर्नुेपर्ने भएकाले त्यस्ता सवारीलाई नगरपालिकाले पास उपलब्ध गराउनेछ । नगरको निर्णयसंगै अब खाद्यन्न पसल समेत बन्द हुने भएको हो । बिर्तामोड नगरपालिकाले आफ्नो क्षेत्र सिल गर्ने जानकारी पाएसंगै आज बिर्तामोडमा सामान किन्नेहरुको भीड नै लागेको थियो ।

बिर्तामोड सिल भएसंगै अब बजारहरु पूर्ण रुपमा बन्द हुने भएका छन् । कोरोनाको संक्रमण बढ्दा समेत लकडाउनलाई प्रभावकारी बनाउन नसकेको बिर्तामोड नगरपालिकाले चौतर्फि आलोचना पछि नगर सिल गर्ने निर्णय लिएको हो । नगर सिल भएसंगै मजदुर र श्रमिकहरु भने अप्ठ्यारोमा पर्ने देखिएको छ । लकडाउन भएको दुई महिना भइसक्दा समेत नगरपालिकाले एक पटक मात्रै प्रति ब्यक्ति चार किलोका दरले राहत स्वरुप विपन्न समुदायलाई राहत प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here