झापाका क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका चारसय बढी नेपालीलाई सम्बन्धित जिल्लामा पठाइयोे

0
717

लक्ष्मी उप्रेती / मेचीनगर,

झापा जिल्लाको विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका नेपालका विभिन्न जिल्लाका चारसय बढी नेपालीलाई विहीबार सम्बन्धित जिल्लामा पठाइएको छ ।

समाचार स्रोतका अनुसार दाङ, कैलाली, सुर्खेत पोखरा गुल्मी दोलखाका करीव चारसय जना नेपालीलाई सम्बन्धित जिल्लामा पठाइएको हो । नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका झण्डै ६ सय नेपालीलाई बुधबार उद्धार गरी नेपाल फर्काएर झापाका विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएको थियो ।

नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका सम्बन्धित जिल्ला र पालिकाहरुले आफ्ना नागरिकलाई सुरक्षितरुपमा क्वारेन्टाइनमा राख्ने बताएपछि र उनीहरुको आग्रहमा झापाबाट सवारी साधनको व्यवस्थापन गरी सम्बन्धित जिल्लामा पठाइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

‘जो जो जुन जिल्ला र पालिकाका हुनुहुन्थयो उहाँहरुलाई ती जिल्ला र पालिकाले सुरक्षितरुपमा क्वाररेन्टाइनमा राख्ने भनेर पठाउन आग्रह गरेपछि झापाबाट हामीले पठाएको हौें ’ प्रमुख जिल्ला अधिकारी राना मगरले भन्नुभयो—‘त्यही भएर झापा जिल्लाले उहाँहरुलाई पठाएको हो । ’

यातायातको व्यवस्थापनको जिम्मा पाएको मेची बस यातायात प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठकन अनुसार एघार वटा बस गन्तव्यतर्फ लागेका छन् । उहाँका अनुसार एउटा बसमा सरदर ३७ जनाका दरले ११ वटा बसमा चारसय ७ जना मानिस आ आफ्नो जिल्ला हिडेका छन् । बसमा लाग्ने भाडा सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने शर्तमा बस उनीहरुलाई लिएर हिडेका हुन ।

लु २ ख ४४१४ नम्बरको यात्रुवहाक बस दाङतर्फ हिडेको छ भने ना ५ ख ११०४ र ना ७ ख ९३८ नम्बरका दुईवटा बस कैलालीतर्फ हिडेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी मे १ ख ३१४८ र मे १ ख २६०० नम्बरका बस सुर्खेत , मे १ ख २३२२ नम्बररको यात्रुवहाक बस पोखरा, बा ४ ख ३३७७ नम्बरको बस गुल्मी तथा मे १ ख २१५५, ना ६ ख ७७३६र र प्र.न.१—०१—३४५५ नम्बरका बस दोलखाकालागि छुटेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । पूर्वीनाकाबाट नेपाली ओसोर्न मंगलबार र बुधबार पौरवी यातायात एण्ड अटो प्रालिका को १ ख ७८३९ र बा ५ ख ४४९१ को १ ख ७८३५ नम्बरको बस प्रयोग गरिएको थियो ।

मंगलबार साँझ र बुधबार दिनभरी नाकामा अलपत्र परेका नेपालीलाई नेपाल ल्याइएको भएपनि विहीबार भने यो क्रम रोकियो । समाचार स्रोतका अनुसार नेपाल ल्याएर राखिएकाहरुलाई उचित व्यवस्थापन गरेर मात्र अन्यलाई ल्याइने भनेर विहीबार यो क्रम स्थगित भएको हो । काँकरभिट्टा माविको भवन (होल्डिङ् सेन्टर)

होल्डिङ् सेन्टरमा बुधबार साँझ आइपुगेका ३० जना नेपाली नागरिकलाई साँझ ५ वजे दमक स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा राख्न पठाइएको छ । बुधबार साँझ लुकिछिपि सिलीगुडीदेखि मेची पुलमा आइपुगेका उनीहरुलाई काँकरभिट्टा माविको होल्डिङ् सेन्टरमा राखिएको थियो ।

काँकरभिट्टाको होल्डिङ् सेन्टरमा प्रदेश नम्बर ७ का २५ जना, हेटौडा, सुनसरी लगायत जिल्लाका ५ गरी कुल ३० जना थिए । दमकको क्वारेन्टाइनमा राखेर स्वाव परिक्षण पछिमात्र उनीहरुलाई सम्बन्धीत ठाउँमा पठाइने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताउनुभयो ।

भारतबाट ल्याइएका नेपालीहरुलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरिने र कोरोना नभएको निश्चित गरेर मात्र उनीहरुको घर पठाइने यसअघि झापाका प्रमुख जिल्ला अधिकारी राना मगरले बताउनुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here