झापा,
झापाको कचनकवल गाउँपालिकामा मात्रै कोरोना संक्रमितको सख्या ३३ पुगेको छ । भारतका विभिन्न राज्यमा रोजगारीका लागि पुगेका युवा धमाधम गाउँ फर्कन थालेपछि कोरोना संक्रमितको संख्या झापामा ह्वात्तै बढेको हो । विहीवारमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या ३३ पुगेको हो ।
नेपालकै होचो भू– भागका रुपमा रहेको कचनकवल गाउँपालिका भारतको विहारसंग सिमाना जोडिएको छ । भारतमा रेल सेवा सुचारु भएसंगै विभिन्न राज्यमा कामका लागि भएका नेपाली घर फर्किएसंगै संक्रमितको संख्या बढेको हो ।
एउटै गाउँपालिकामा मङ्गलवार १, बुधवार ९ र बिहीबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा बसेका कोरोना पुष्टि भएका २३ जनालाई चार वटा एम्बुलेन्समा राखेर आज नै कोशी अस्पताल विरागटनर पठाइएको प्रहरीले जनाएको छ ।
कोरोना संक्रमितहरु वडा नम्बर ३ का नौ जना, वडा नम्बर ४ का दश जना, वडा नम्बर ५ का तीन जना र वडा नम्बर ६ का एक जना रहेको बताइएको छ । उनीहरूको उमेर १८ देखि ४६ वर्षसम्मका हुन् । उनीहरू सबै जना जेठ ४ गते भारतको दिल्ली, मुम्बईबाट आएका हुन् ।
यस अघि झापाको दमक र वाह्रदशी गाउँपालिकामा एक÷एक जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु उपचार पछि घर फर्किएका छन् ।