छचल्किए हर्षका आँशु विदेशमा रहेका नेपालीका आँखामा

0
1248

(निबन्ध)

भुवन तामाङ,

पैसा कमाएर पारिवारिक आर्थिक स्थिति सुधार्ने सपना सजाएर बालुवाको देश र मलायातिर उडेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाखौँ छन् । भएको थोरैतिनो घरबारी बन्धकी राखेर चर्को व्याजमा साहुबाट ऋण काढेर धेरै गरीब नेपालीहरु धन कमाउन त्यता गएका छन् ।

अर्कोतिर, परिवार, नातेदार, लोग्ने, स्वास्नीसँग घुर्की लाउँदंै विदेश हानिनेहरु पनि धेरै छन् । स्वदेशमा स्वच्छन्दरुपले रमाइलो र मोजमस्ती गर्न पाइएन भन्दै विदेश उड्नेहरु पनि धेरै छन् । नेपालमा के छ र ? भन्दै उड्ने हुनेखानेहरु पनि धेरै छन् । त्यस्तैगरि, दलाल या मानव तस्करहरुले प्रलोभनमा पारेर लगेकाहरु पनि विदेशमा उत्तिकै छन् ।

केही हप्ता अगाडिसम्म अरब, मलेसिया लगायत देशहरुमा रहेका नेपालीहरुद्वारा चिटिक्क परेका भवन, पार्क र समुद्र किनारमा बान्की पारिपारि खिचिएका तस्वीरहरु उत्साहपूर्ण स्टाटससहित सामाजिक सञ्जालमा देखिन्थे । विदेशमा सञ्चै छु पीर नमान्नु है भनेर घरपरिवारलाई अपडेट गरिएका स्टाटस र तस्वीरहरु पनि सामाजिक सञ्जालमा बाक्लै देखिन्थे । त्यस्तैगरि, नेपाल र नेपालीलाई गिज्याउँदै र विदेशको महिमा गाउँदै पोष्ट गरेका स्टाटसहरु पनि बगे्रल्ती सामाजिक सञ्जालमा देखिन्थे । तर, कोरोना भाइरसको कहर शुरु भएपछि भने अर्कै किसिमका स्टाटस र तस्वीरहरु देखापर्न थालेका छन् र यो क्रम रोकिएको छैन ।

कोरोना भइरसको त्रासका कारण अरब राष्ट्र लगायत विदेशमा समेत लकडाउन भएर रोजगारीका गतिबिधिहरु ठप्प हुँदा धेरैधेरै नेपालीहरु दुईमहिनादेखि पारिश्रमिक, गाँस, बास र स्वास्थ्य उपचारबाट बञ्चित भएका छन् । अव्यबस्थित बसोबास र अस्वस्थ, अपर्याप्त खानाका कारण स्वस्थहरु पनि कैयन त बिरामी र संक्रमित भइरहेका छन् । उनीहरुको हरिबिजोग भएको छ । नेपालीहरु अब त्यहाँ क्यैगरि पनि अडिन नसक्ने भएका छन् । उनीहरु सामाजिक सञ्जालमा रुँदै र बिलौना गर्दै नेपाल आउन पाए हुन्थ्यो भन्दैछन् । त्यसैले अहिले विदेशमा रहेका नेपालीहरु रुँदै र कराउँदै बिलौना गरिरहेका तस्वीरहरु सामाजिक सञ्जालमा देखिन थालेका छन् । विदेशमा रहेका नेपालीहरु अहिले एउटै डुङ्गामा छन् । सबैको समस्या एउटै भैइदिएको छ ।

विभिन्न देशमा रहेका नेपालीहरु स्वदेश नेपाल पुग्न आतुर छन् । यसै मेसोमा कुवेतमा रहेका नेपालीहरु पनि नेपाल आउन व्यग्र देखिएकाछन् । उनीहरुको धैर्यताको बाँध भत्किदैछन् । उनीहरु ‘कुहिएको आलुजस्तै भयौँ, हाम्रो सरकार मरेको हो ?’ भन्दै नेपाल सरकारलाई प्रश्न गरिरहेका छन् । कुवेतबाटै अरुपनि, ‘यतै मरिएला जस्तो छ’ भन्दै पिरलिँदै सामाजिक सञ्जालमा देखिएका छन् । कतिदिन अघि पकाएको कुहिसकेको खानेकुरा देखाउँदै र एउटै कोठामा धेरैजना कोचिएर बस्नुपरेका दृष्य सहित सामाजिक सञ्जालमा नेपाल सरकारलाई स्वदेश लान गुहार मागिरहेका देखिएका छन् । ‘चुनावमा भोटहाल्नका लागि चाहिँ विदेशमा रहेका नेपालीहरुलाई नेपाल आओ भन्ने नेताहरुले अहिले विपद्को परिस्थितिमा चाहिँ किन बोलाउँदैनन् ?’ भनेर सोधिरहेका छन् ।

खुशीको कुरा, करीब दुईमहिनाको लकडाउन पछि नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने तयारी गरेको छ । यही जेठ पहिलो हप्तामा बसेको नेपालको संसदको बैठकमा संसदको परराष्ट्र मामिला सम्बन्धी समितिले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन नेपाल सरकारलाई निर्देशन दिएको छ । विदेशमा रहेका नेपालीहरु चाँडै स्वदेश आउन पाउने सम्भावना बढेर गएको छ । त्यसैले विदेशमा पिरलिएर रुँदै स्वदेश आउने चाहना व्यक्त गर्ने नेपालीहरुको आँखामा यतिबेला हर्षका आँशु छचल्किएका छन् ।

नेपाल सरकारले विदेशमा रहेका नेपालीहरु स्वदेश ल्याउन तयारी शुरु गरिरहेको सञ्चार माध्यमहरुले जनाएका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केहीदिन अघि एक अनलाईन सञ्चार माध्यमलाई बताए अनुसार विदेशबाट नेपालीहरुलाई ल्याउन तयारी शुरु गरिएको बताएका छन् । हवाई उडानहरु कति गर्नुपर्ला, स्वदेश ल्याइएपछि उनीहरुलाई बसाउन क्वारेन्टाइनहरुको संख्या कति बढाउनु पर्ला भन्ने तयारी भैरहेको मन्त्री ज्ञवालीले बताएका छन् । विदेशमै सबैको कोरोना भाइरस पीसीआर परीक्षण गर्न सम्भव नहुने र न्यूनतम स्वास्थ्य जाँच गरेर पालैपालो ल्याउने पनि उनले बताएका छन् ।

सर्वप्रथम विभिन्न कसुरमा विदेशका प्रहरी हिरासत या जेलमा रही आम माफी पाएकाहरुलाई ल्याउनु पर्ने मन्त्री ज्ञवालीले बताएका छन् । त्यसपछि रोजगारदाताहरुले खर्च व्यहोर्नेगरि नेपाल पठाइनेहरुलाई, त्यसपछि रोजगारी गुमेका, रोजगादाताले जबरजस्ती निकालेका र अलपत्र, बेखर्ची भएकाहरुलाई पालैपालो नेपाल ल्याइने बताएका छन् । स्वदेश आइसकेपछि केही खर्च सम्बन्धित व्यक्तिहरुले पनि व्यहोर्नु पर्ने र स्वदेश ल्याइसकिएकाहरुको राम्रो व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट सहयोग लिन सकिने पनि बताएका छन् । स्वदेश आइसकेपछि यहाँ भद्रगोल नहोस् भनि राम्रो तयारी गरिसकेपछि विदेशमा रहेका नेपालीहरुलाई ल्याउने काम चाँडै शुरुहुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

अब विदेशमा रहेका नेपालीहरु पालैपालो स्वदेश आउन पाउने भएका छन् । कोही अघि होलान् कोही थोरै पछि । धैर्य गर्नुपर्ने भएको छ । कुवेत र यूएईले त नेपालीहरुलाई नेपालसम्म नै ल्याइपु¥याइदिने कुरा सार्वजनिक भैसकेको छ । यस्तो खबरले विदेशमा रहेका नेपालीहरु र स्वदेशमा रहेका उनीहरुका परिवारहरुमा खुशीको सञ्चार भएको छ तर सबै नेपालीहरुलाई नेपाल सरकारले स्वदेश ल्याउन लागेको हो ? भन्ने कुरा भने स्पष्ट भएको पाइएको छैन । हुनसक्छ, रोजगारका हिसाबले राम्रो तथा बहाल स्थितिमा रहेका र कोरोना भाइरस संक्रमणको उपचार गरिरहेकाहरु छुट्न सक्छन् ।

जो जसरी विदेश पुगेका भएपनि आखिर हौँ त हामी सबै नेपाली । आपद्विपद्मा परेका नेपालीहरुको उद्धार गर्नु, स्वदेश ल्याउनु नेपाल सरकारको कर्तव्य र जिम्मेवारी हुन्छ र नेपाल सरकारले अभिभावकीय भूमिका निभाउने भएको छ ।

नेपालमा सरकारहरुले रोजगारीका अवसरहरु श्रृजना गरिदिएका भए सायद धेरै संख्यामा नेपालीहरु विदेश पुग्ने थिएनन् । महामारीमा बिचल्लीमा पर्ने थिएनन् । देशलाई यत्रो भार पर्ने थिएन तर खुशीको कुरा विदेशमा रहेका नेपालीहरुलाई नेपाल सरकारले क्रमशः ल्याउने कुरा सञ्चार माध्यममा सार्वजनिक भैरहेका छन् । सबैजना सकुशल नेपाल आउन पाउन् । भबिष्यमा नेपालमै रोजगार, स्वरोजगार हुन पाउन् । विदेशलाई समृद्ध पार्ने हातहरुले नेपाललाई नै समृद्ध बनाउन पाउन् ।

समयले कस्तो परिस्थिति निर्माण गर्छ ? भन्न नसकिने रहेछ । मानव र मानव सभ्यता कतिखेर महामारीको चपेटामा पर्न सक्छ ? भन्न नसकिने रहेछ । कतिखेर मानिसदेखि मानिस नै परपर भाग्नु पर्ने बनाउँने रहेछ थाहा नहुने रहेछ । कतिखेर मानवहरुको घमण्ड चकनाचुर पारिदिने रहेछ थाहा नहुने रहेछ । कोरोना भाइरस कहरले मानव समुदायलाई एउटा बिर्सनै नसकिने पाठ सिकाएको छ तर, यस्तो कठोर र निर्दयी पाठ कहिल्यै सिक्न नपरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here