खाद्य कम्पनीबाट पाँच हजार मेटन खाद्य पदार्थ बिक्री

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

काठमाडौँ,

बन्दाबन्दी अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थको बिक्रीवितरण गरेका छन् । स्थानीय तहको मागअनुसार राहतस्वरुप कम्पनीले चार हजार ३३३ मेट्रिक टन चामल र कर्पाेरेशनले एक हजार ८१ मेट्रिक टन खाद्य पदार्थ बिक्रीवितरण गरेको जनाइएको छ ।

बन्दाबन्दीमा साल्ट ट्रेडिङले छ लाख ८८ हजार ९८० किलो चामल, एक लाख नौ हजार ९५५ किलो दाल, ७८ हजार २१३ किलो नुन र ५३ हजार ८८६ लिटर तेल बिक्री गरिएको सूचना अधिकृत कुमार राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ६८ हजार ३७० किलो चिउरा, १७ हजार ४०० किलो चिनी, ४०० ब्याग पिठो, ६३ हजार ८२ साबुन, १०० किलो चिया, ५५० किलो मस्यौरा गरी जम्मा १० लाख ८० हजार ६४३ किलो खाद्य पदार्थ र अन्य वस्तु राहतस्वरुप वितरण गरिएको हो ।

कर्पाेरेशनले लकडाउन अवधिमा ललितपुर, कालीमाटी, सतुङ्गल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताको माग भएका स्थानलाई प्राथमिकतामा राखेर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका साथै अनलाइनबाट खाद्य पदार्थ तथा अन्य सामग्रीको बिक्रीवितरण गर्दै आएको छ ।

सूचना अधिकृत राजभण्डारीका अनुसार काठमाडौँ उपत्यकासहित नजीकका जिल्लामा समेत दैनिक तीन मोबाइल भ्यानमार्फत खाद्य पदार्थ बिक्रीवितरण गरिँदै आएको छ । बन्दाबन्दीका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कर्पाेरेशनले मोबाइल भ्यानमार्फत खाद्य पदार्थ होम डेलिभरी गर्दै आएको हो । चौबीस कार्यालय र तिनबाट नियुक्त डिलरका साथै दुर्गम जिल्लामा रहेका ५७ डिपो र बिक्री केन्द्रबाट सरल, सहज र सुपथ मूल्यमा आयोडिनयुक्त नुन बिक्री गरिँदै आएको छ ।

यसैगरी खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका रामशाहपथ, नक्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा (मोबाइल भ्यान) र अनलाइनमार्फत उपभोक्ताको मागअनुसार खाद्यान्न बिक्रीवितरण गर्दै आएको छ ।

लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको छ । होम डेलिभरीमार्फत चामल, कर्णालीको सिमी, तीन प्रकारका दाल र दुग्ध विकास संस्थान (डिडिसी) को घिउ बिक्री गरिँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कम्पनीबाट देशका आठ अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुरलगायत देशका विभिन्न स्थानमा २६ शाखा कार्यालयका साथै दुर्गम जिल्लाका विभिन्न स्थानमा ५९ डिपो कार्यालय÷बिक्री केन्द्र एवं सहकारी डिलरबाट खाद्य पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here