कथा
विष्णु निरौला आचार्य,
सधैं जानकीले आधा काम भ्याइसक्दा मात्रै बल्लतल्ल उठ्ने मङ्गलमान लकडाउन शुरु भएदेखि बिहान चार बजे नै उठ्न थालेको छ।अहिले ऊ आफ्नो गाउँमा बाहिरबाट प्रवेश गर्ने मानिसहरूको सोधपुछ गर्ने ,निगरानी गर्ने र शङ्का लागेका मानिसलाई क्वारेन्टाइनसम्म पुर्याउने सम्मको जिम्मेवारी सम्हाल्दै आएको छ।देश पूरै लकडाउन भएको अवस्थामा ज्याला मजदुरी गरि खाने,डेरा गरि बस्ने,निम्न आर्थिक अवस्था भएका,असहाय ,अपांग ,वृद्ध वृध्दा,रोगी जस्ता मानिसहरूलाई राहत वितरण गर्ने कामको अगुवाइ गरिरहेको छ।
जानकी भर्खरै उठेर घर कसिङ्गर लाउँदै थिई मङ्गलमानले चियाको अर्डर गर्यो।हत्तपत्त भान्छामा गएर चिया बनाएर लोग्नेलाई टक्र्याइ र आफ्नो काममा लागी।चिया पिईसकेर मङ्गलमान जुत्ता लगाउन लाग्यो।यत्तिकैमा जानकीले भनी(सधैं एकाबिहानैदेखि कहाँ जान्छौ?आज त घरमा केही खानेकुरा छैन ,अहिले नानीहरू उठेपछी उनीहरूको मुखबाट ’आमा भोक लाग्यो’भन्ने वाक्य निस्किन्छ।मैले के खान दिनु? पहिला पसल गएर खानेकुरा किनेर लेराउ अनि जतासुकै गए नि मबाट खोजी हुन्न (अलि झोक्किँदै बोली जानकी।ए लाटी(घरमा सबै खानेकुरा छ त किन बित्थामा ठुस्किएकी तँ? भित्र भण्डार कोठाको खाटमुनि गएर र्हे त!अस्ति पल्लो गाउँमा वितरण गर्न ल्याएको चामल ,दाल ,तेल ,नुन ,आलु ,प्याज,चिउरा पहिला आफूलाई दुई चार महिना पुग्ने राखेर मात्रै बाँडेको नि।
अझ मौकामा चौका हान्नुपर्छ भनेर आठ दश क्यारेट अण्डा पनि ल्याको छु ।तँ सार्है सोझी छेस् यस्तो कुरा हत्तपत्त बुझ्दिनस् के! सुन्न जानकी राहत वितरणको लागि सामान किन्दा पहिले नै अलिकति दिमाग लगाएर काम गरेको नि।राहत वितरकलाई नि खान चाहिन्छ भनेर पहिले नै चालीस पचास बोरा बास्मती चामल किनियो।पीडितहरुको लागि सस्तो मस्तो मोटा चामल किनेर आइडिया लाइयो के।सयओटा जति बास्मती चामलको लोगो भएको बोरा किनियो अनि मुरै नि दुई चार बोरा किनियो।सबै बील बास्मती चामलमा मिलाइयो र दस दस के.जी.मोटा चामल र दुई दुई के.जी.मुरै हाल्दै बोरा प्याक गरियो र एक एक बोरा बास्मती चामल राहत वितरण गरेको भर्पाइ गराइयो पीडितलाई र फेसबुकमा फोटो नि पोस्ट्याइयो।
तँ किन पिर मान्छेस् जानकी(धन्न यो कोरोना भन्ने भाइरस कहाँबाट हाम्रो लागि खास बनेर आएछ भन्या।अझ सुन् न म किन अचेल छिटो उठेको भने नि गाउँमा कोही मानिस बाहिरबाट प्रवेश गरे भने कोरोना सर्न सक्छ भनेर त्यस्ता मानिसलाई भरसक प्रवेश गर्नै नदिने,गरिहाले उनीहरूको अवस्थाबारे जानकारी लिने र उनीहरूलाई क्वारेन्टाइनमा लगेर राख्ने व्यवस्था मिलाउने कामको जिम्मा मैले लिएको छु,यसवापत भत्ता आउँछ के लाटी..भत्ता भनेको तँ बुझ्दिनस् पैसा आउँछ क्या पैसा ।अर्को कुरा पनि सुन्छेस् (अस्ति बयरबोटे काकाको छोरा बिदेशबाट घर आको रछ।म नि त्यतिबेलै टुप्लुक्क पुगेँछु।
आफ्नै गाउँको चिनजानको मान्छे भनेर सबैकुरा सुनाइहाले।मैले नि यसरी बाहिरबाट आको मान्छेलाई घरमा राख्न मिल्दैन,क्वारेन्टाइनमा पठाउनुस् ,म लगिदिन्छु भने।मेरो कुरा सुनेपछि काकाकाकी दुबैजना रुनुभो।मैले मौका पाइहालेँ र भने बरु मलाई अलिकति व्यवस्था गर्नुस् म यो कुरा कहिँ हल्ला गर्दिन।आफ्नो एक्लो सन्तान बल्लतल्ल घरमा आइपुगेको,वहाँहरुले घरमै राख्ने,हेरचाह गर्ने अन्त कतै यो कुरा थाहा नहोस् भन्दै दस हजार रुपैयाँ मेरो गोजीमा हालिदिनुभो।अस्ति दिनैपिच्छे खसीको मासुसँग भात खाएको त्यही पैसाले त हो नि लाटी।अनि यो कोरोनाले हामीलाई गरेन त मालामाल? आज पारी ओखरबोटे गाउँमा नि दुई तिनजना नयाँ मान्छे पसेका छन् भनेर राति नै फोन आथ्यो त्यही भएर अहिले त्यतै जान लाग्या।आज भरे चाहिँ लोकल कुखुराको व्यवस्था गर्नुपर्ला ।
एकोहोरो लोग्नेको कुरा सुनिरहेकी जानकी बोली(हेर बुढा मलाई तिम्रो कुरा रत्तिभर मन परेन।विश्व महामारीको रूपमा फैलिरहेको कोभिड (ज्ञढ कोरोना भाइरसका कारण कत्ति मानिसको बिचल्ली भएको छ।हाम्रो गाउँमा अलि हुनेखाने भनेको हामी नै हो।लकडाउन शुरु भए यता हाम्रो गाउँका कुनैपनी मानिसले पेटभरी खाना खान पाएका छैनन् ।मसिना लालाबाला खान नपाएर गाउँमा रुवाबासी छ।झन् त्यो छेउघरे ठूल्दाइ आफू मुटु रोगी ,बर्से्निका दुई साना नानीहरू ,ठुली भाउजूले बनिबुतो गरेर जेनतेन परिवार पाल्दैथिन्।अचानकको लकडाउनले त्यो परिवारको कन्तबिजोग भाकोछ।घरमा अन्नको गेडो छैन ,बर्से्निका नानी पेट भरिन नपाएर होला जहिल्यै रोएको सुनिन्छ ।आफू मुटु रोगी,बुढी काममा जान नपाएको र छोराछोरीको भोकोपेटको चित्कारले ठुल्दाइ हिजो बेहोस भएछन् ।
म बारीबाट आउँदा यसो निस्किएको थिएँ।सार्है दुख लाग्यो।गरीब हुनु आफैंमा अभिशाप होइन ।एकछिन पछि ठुल्दाइको होस आयो,गहभरी आँशु पारेर केही नबोली म तिर हेरे अनि आफ्ना सन्तानतिर ।मैले मन थाम्न सकिन र घर आएर केही खानेकुरा पुर्याइदिएँ र अब छिट्टै राहत आउँछ भनेर आस्वस्त गराएँ।अहिलेको भाइरस सङ्क्रमणको बेला सारा विश्व त्राहीत्राही भएको बेला अप्ठ्यारोमा परेकालाई सक्दो सहयोग गर्नुको सट्टा आफूले दुख गरेर कमाएको पैसाबाट आफ्नो गाँस काटेर कोरोना पीडित राहत कोशमा संकलन गरेको श्रमिक मजदुरहरुको पैसाको चरम दुरुपयोग गरेको तिम्रो कुराले मेरो मुटु चसक्क घोच्यो।पैसाको पछी लागेरै आज मानवता हराएको थाहा पाएँ।दुखी,गरीब ,असहाय ,वृद्धवृद्धालाई आएको राहत घर घरमा लुकाई पीडितमाथि यतिसम्म अत्याचार गरेको सुन्दा मन छियाछिया भो।
अब तिमीजस्ता भ्रष्टाचारी कतै जाँदैनौ।तिमीले गर्ने हरेक कामको जिम्मा म लिन्छु र पीडितलाई उचित राहत दिलाउन लागीपर्नेछु।आफ्नो ज्यानको पर्वाह नगरी दुर्गम ठाँउहरुमा पुगेर रातोदिन राहत वितरणमा खटिनुहुने तमाम सहयोगी मनहरुमा हृदयदेखि नै नमन गर्दछु।अनि त्यो चामलको बोरा लुकाको खाटमुनिको लुगा चाहिँ के हो नि? तँ त्यतिकै रिसाइहाल्छेस् के भन्नु र? भन न भन रिसाउन्न के ।जानकी कुरा बुझ्न अलि नरम भई।त्यो पिपिइ हो उसको लोग्नेले भन्यो।पिपिइ भनेको के नि? जानकी ले सोधी।
अब बर्षा शुरु हुने बेला भो ,पानी पर्दा मोटरसाइकल कुदाउँदा लाउने लुगा हो त्यो उसले जवाफ दियो।अनि सधैं त रेनकोट भन्थ्यौ त पानीपर्दा लगाउने लुगालाई ,यो त अस्ति टि भि मा कोरोना सङ्क्रमित बिरामीलाई जाँच्न डक्टरले लगाको लुगा जस्तै देख्छु त म त।ए लाटी(उस्तै देखिएपनि नाम फरक छ के।अनि धेरैवटा छ त त्यो पिपिइ त?सस्तो पाइयो,पाँच छ बर्षलाई पुग्ने एकैचोटि ल्याको नि।र्हे जानकी अब हामीले यस्ता कुरामा विवाद गरेर समय बर्बाद नगरौं ।छोराछोरी उठ्ने बेला भो,तँ भान्छातिर लाग् म पनि तल्लो गाउँ पुगेर आउँछु।बरु तैँले भनेजस्तो अब आको राहत चाहिँ सबैलाई समान रुपले वितरण गरौंला ।मङ्गलमान गाउँतिर लाग्यो।जानकीलाई आफ्नो लोग्नेको असली रुप भर्खर बुझ्ने मौका मिल्यो।उसका पाइला भान्छाघरसम्म लम्कन मानेनन् ।मनमा अनेक कुराहरू मडारिइरहेका थिए । उ क्षितिजतिर हेरेर टोलाइरही……टोलाइरही।।