अन्धुवा खोलामा फलामे पुल निर्माण प्रारम्भ

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

तुलसीप्रसाद निरौला / विर्तामोड ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनमा पनि विकास निर्माण कार्यलाई तीव्रता दिइएको छ । निर्माण मजदुरलाई सुरक्षाका सामग्री प्रयोग गराउँदै सामाजिक दुरी कायम गराएर सडक निर्माण ,पुल निर्माण लगायतका कार्य अघि बढाइएको हो ।

यसैक्रममा झापाको विर्तामोड ४ स्थित अन्धुवा खोलामा फलामे पुल निर्माण प्रारम्भ गरिएको छ । विर्तामोड ४ स्थित मातृभूमि टोल विकास संस्था अन्तर्गत विनायक होटल उत्तर बिर्तामोड १ र विर्तामोड ४ जोड्ने अन्धुवा खोलामा फलामे पुल निर्माण प्रारम्भ गरिएको हो ।

अन्धुवा खोला फलामे पुल निर्माण उपभोक्ता समितिले प्रदेश सरकारको सहयोग र जनश्रमदानमा फलामे पुल निर्माण कार्य शुरु गरेको हो । अन्धुवा खोला फलामे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर वस्नेतको अध्यक्षता तथा प्रदेश साँसद एकराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । पुलको शिलान्यास प्रमुख अतिथि प्रदेश साँसद कार्कीले गरेका थिए ।

उनले पुल निर्माणले यस क्षेत्रका वासिन्दालाई आवतजावतमा सहज हुने बताउँदै आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा विर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, वडा सदस्य राहुल शर्मा , विर्तामोड १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डे, कृषि विकास वैंक इलामका म्यानेजर गोपालप्रसाद लामिछाने लगायतले पुल समयमै निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

अन्धुवा खोलामा फलामे पुल निर्माण गर्न रामबहादुर वस्नेतको अध्यक्षतामा अन्धुवा खोला फलामे पुल निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । समितिको उपाध्यक्ष अर्जुन खरेल, सचिव सुवासचन्द्र अग्रवाल, कोषाध्यक्ष सिर्जना सिटौला रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा केदार ढुंगाना ,मञ्जु खनाल अधिकारी ,निर्मला खरेल, तुलवहादुर लिम्वू, देवीप्रसाद खतिवडा रहेका छन् ।

त्यसैगरी सिद्धार्थ नविन उप्रेतीको संयोजकत्वमा झलक खतिवडा र भगवति मेचे खरेल सदस्य रहेको अनुगमन समिति समेत गठन गरिएको थियो । त्यस क्षेत्रमा २०५२ सालमा पक्की पुल निर्माण गरिए पनि उक्त पुल जीर्ण अवस्थामा पुगेकाले सोही स्थानमा फलामे पुल निर्माण शुरु गरिएको अध्यक्ष वस्नेतले वताए ।

प्रदेश सरकारको १५ लाख रुपैयाँ र स्थानीय जनश्रमदान एक लाख ५९ हजार ६ सय २७ रुपैयाँ गरी १६ लाख ५९ हजार ६ सय २७ रुपैयाँको लागतमा फलामे पुल निर्माण गरिने उनले वताए ।  विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनमा पनि निर्माण मजदुरलाई सुरक्षाका सामग्री प्रयोग गराउँदै सामाजिक दुरी कायम गराएर फलामे पुल निर्माण गरिने पुल निर्माण ठेकेदार तोयानाथ अधिकारीले बताए ।

उनले निर्माण सामग्रीको सहजता भए असार मसान्तसम्ममा फलामे पुल निर्माण गरिसक्ने बताए । उक्त फलामे पुल निर्माणले बिर्तामोड १ , विर्तामोड ४ र अन्य क्षेत्रवाट आउने वासिन्दा लाभान्वित हुने बताइएको छ । तस्वीर ःसिद्धार्थ नविन उप्रेती

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here