जन बिश्वास नगुमोस्

0
706

सम्पादकीय

अपराजित शत्रु कोरोना भाइरस पहिचान भएको छैठौं महिनामा आइपुग्दा हाम्रालागि भयावह बन्न थालेको छ। अति सुस्त ढङ्गले प्रारम्भ भएको यसको यात्रा अब भने द्रुत गतिमा हुन थालेको परीक्षणको नतिजाले देखाउन थालेपछि यसको उपस्थिति भयानक देखिएको हो। रोकथाम र नियन्त्रणको एकमात्र प्रभावकारी उपाय बन्दाबन्दी नै हो जो हाम्रै कारणले निरर्थक भएको छ । विश्व समुदायको बिश्वास र भरोसाको केन्द्र डब्ल्यूएचओ अर्थात् विश्व स्वास्थ्य संगठनले कोरोनाबाट जोगिने एकमात्र उपाय बन्दाबन्दी भनेको थियो । त्यही कारण विश्वव्यापी बनेको यसको प्रकोपबाट जोगिन अधिकांश मुलुक आजसम्म बन्द मै छन् । अझ स्वास्थ्य सेवाको पहुँचबाट कोशौं टाडा रहेको नेपाली समाजमा महामारीबाट जोगिने यसबाहेक अर्को उपाय नै छैन ।

बन्दाबन्दीको कहर भोगेको पनि दुई महिना बितिसक्यो । तर कोरोना त्रास घट्नुको साटो गुणात्मक रूपमा बढेर गइरहेको छ । यसो हुनुका पछि भाइरसभन्दा बढी हामी स्वयं जिम्मेवार छौं । निर्देशको पालना नगरेका कारण बिस्तार भएको यसको सङ्क्रमण अब ‘तेहरो ‘अङ्कमा आयो भने छक्क पर्नु नपर्ने भएको छ । यसले विश्वको आर्थिक गतिविधि स्थीर बनायो, परिणाम वैदेशिक रोजगारमा गएका हाम्रा युवामात्र होइन स्वदेशमै भएका नेपाली पनि बेरोजगार भए । भारतले बन्दाबन्दीलाई केही खुकुलो बनाउँदा त्यहाँ रहेका नेपाली सीमा क्षेत्र हुँदै लुकिछिपी घर फर्किए। भारतले वैश्विक प्रकोपको बेला उदारता देखाउन नसक्दा फिर्ता आएका नेपालीले भोग्नुपरेको कष्ट एकातर्फ बेग्लै छ भने अर्कातर्फ अब्यवस्थित बसाइले उत्पन्न गरेको जोखिमले सङ्क्रमण समुदायमा फैलिने डर झनै भयावह छ।

अहिले स्थानान्तरण गर्नेहरू सङ्क्रमित देखिएका छन् । भारतका अति प्रभावित क्षेत्रबाट आएकाहरूको परीक्षणको नतिजाले देखाएको यो तस्वीरले हाम्रो सम्भावित दुर्दशाको सङ्केत गर्छ । सीमामा अलपत्र परेका नेपालीहरुलाई सुरक्षित ढङ्गले भित्र्याउनु सरकारको कर्तव्य हो भने कष्टका बेला हरतरहले सहयोगी बन्नु आम नेपालीको नैतिक जिम्मेवारी हो। तर यो सुरक्षित र विश्वासयोग्य चाहिँ हुनै पर्छ । त्यसरी आएकाहरूलाई राख्न बनाइएका आश्रयस्थल निर्दिष्ट मापदण्ड अनुरूप हुनुपर्छ । तर क्वारेन्टीनमा सुबिधा र सेवा त्यसअनुरुप नभएको भन्दै कतिपय भागेको र बस्नेहरू पनि कोचिएर ,असुरक्षित ढङ्गले बस्दा सङ्क्रमण अनियन्त्रित हुन थालेको छ । खुला सीमाना भएका ठाउँमा आगमनलाई ब्यवस्थित बनाउँदै स्वास्थ्य परीक्षणसहित सेवा प्रवाह गर्नेतर्फ स्थानीय निकायसँग समन्वय गरेर महामारी रोकथामतर्फ केन्द्रको मुख्य ध्यान जानु पर्छ ।

पूर्वदेखि पश्चिमसम्मका सीमा नाकाबाट नेपालीहरुको प्रवेशले ब्यापक भइरहेको कोभिड १९ को प्रभाव कम गर्न, समुदायमा पुग्न नदिन अझै साबधानी बढाउनु पर्ने भएको छ । क्वारेन्टिनको क्षमतासमेत बढाएर सेवा र पूर्वाधार विश्वासयोग्य बनाउन प्रदेश सरकारले पनि बिशेष ध्यान दिनु पर्छ । त्यहाँ बस्नेहरुलाई गुणस्तरीय खानादेखि मापदण्ड अनुरूप नसकिए पनि सुरक्षित वातावरणको प्रत्याभूति दिलाउनु पर्छ । त्यसका लागि खर्चको स्रोत राज्यले प्रदान गर्नु पर्छ । अनाबश्यक नियुक्ति गर्ने, फिजुलखर्ची र बिलाशी जीवनशैली कम्तिमा सरकारमा बस्नेहरूले त्याग्नु पर्छ । यसका लागि भर्तिकेन्द्र जस्ता कतिपय संस्था, निकाय र नियुक्ति लगायत मनपरी सुबिधा लिने पद्धति सधैंका लागि अन्त्य गर्नुपर्छ । यसो नगरिए जन बिश्वास गुम्नेछ र अर्को पटक आउने जाडोबाट बच्न सकिने छैन हेक्का हुनै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here