झापामा आइतबार थपिएका संक्रमित पनि मुम्बईबाटै आएका थिए

0
1081

भद्रपुर,

आइतबार झापका थप एक जना युवकमा कोरोना भाइरस संक्रमण देखिएको छ।

विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा झापा बाह्रदशी गाउँपालिकाका ३ बस्ने अन्दाजी २५ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। बाह्रदशीका युवकमा कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमितको सङ्ख्या ३७ पुगेको छ।

बाह्रदशीका २५ वर्षीय ती युवक पाँच दिनअघि भारतको मुम्बईबाट आएका थिए। लुकिछिपी आएका ती युवक डिघलबैक नाकाबाट जिल्ला प्रवेश गरेका हुन्। भारतबाट आएका उनलाई स्टार अस्पताल राजगढको क्‍वारेनटाइनमा राखिएको छ। क्‍वारेनटाइनमा बसेका उनको आरडिटीले परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

आरडिटीमा रिपोर्ट पोजेटिभ आएपछि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको बाह्रदशी गाउँपालिका ३ वडाध्यक्ष वीरेन्द्र राजवंशीले जानकारी दिए। उनका अनुसार उनीसहित ११ जनाको स्वाब लिइएको थियो, उनको रिपोर्ट पोजेटिभ आए पनि अरूको रिपोर्ट आउन बाँकी छ।

कोरोना संक्रमित पुष्टि भएका युवकलाई कोरोना अस्पताल विराटनगर पठाउने तयारी भइरहेको उनले बताए। यसअघि पनि बाह्रदशी ४ बस्ने एक पुरुषमा संक्रमण भेटिएको थियो। तर उनी निको भएर घर फर्किसकेका छन्। त्यस्तै जिल्लाको कचनकवल गाउँपालिका ३३, दमक नगरपालिकामा एक जनामा कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन्।

कचनकवलका ३३ जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ भने दमकका संक्रमित पनि निको भएर घर आइसकेका छन्। आइतबार थप एक जनामा कोरोना संक्रमण देखिएपछि प्रदेश १ मा कोरोना संक्रमितको सङ्ख्या ८७ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here