‘एकका लागि एक’ अभियानले दियो भीटीएम किट

0
621

तुलसीप्रसाद निरौला / विर्तामोड।

झापाको सहारा नेपालसहित १८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा झापामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानले तीन सय ४० थान भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट प्रदान गरेको छ ।

केहीदिन अघि बिर्तामोडमा भएको ‘एकका लागि एक’ अभियानको बैठकले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको परीक्षणमा सघाउ पुर्याउन भीटीएम किट खरिद गर्ने निर्णय गरेको थियो ।

सोही वैठकको निर्णय अनुसार तीन सय ४० थान भीटीएम किट खरिद गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापालाई उपलब्ध गराइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

सुरुमा पाँच सय भीटीएम किट खरिद गर्ने योजना बनाए पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाको आग्रहपछि पहिलो चरणमा एक हजार भीटीएम किट खरिद गरिने उनले बताए ।
पहिलो चरणमा तीन सय ४० थान भीटीएम किट खरिद गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापालाई उपलब्ध गराइएको र पछि पुःन छ सय ६० थान भीटीएम किट खरिद गरी उपलव्ध गराइने उनले जानकारी दिए ।

‘एकका लागि एक’ अभियानका साझेदार संस्था वीरता जेसीजका अध्यक्ष तथा भीटीएम किट खरिद तथा हस्तान्तरण कार्यक्रमका संयोजक मिजाश पोखरेलले झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानामगरलाई तीन सय ४० थान भीटीएम किट हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानामगर ,‘एकका लागि एक’ अभियानका साझेदार संस्था नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुव्वा, कार्यक्रमका संयोजक मिजाश पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी ,सहसंयोजक विनोद बस्नेत, अभियानका साझेदार संस्था नेपाल परिवार नियोजन संघ प्रदेश १ का संयोजक केदार गिरी , भीटीएम किट खरिद तथा हस्तान्तरण कार्यक्रमका सह संयोजक तथा रोटरी क्लव अफ बिर्तामोडका इलेक्ट प्रेसिडेन्ट निर्मल भट्टराई, सहारा नेपालका अर्जुन चुडाल , मोहन पोखरेल , जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला , बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य तथा अभियानका खाना व्यवस्थापन समितिका संयोजक सञ्जीव घिमिरे , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढे संगै कोरोना भाइरसको परीक्षणको लागी अत्यावश्यक भीटीएम किटको अभाव हुँदा झापामा कोरोना भाइरसका संक्रमित समेत बढेकाले तत्काल भीटीएम किटकोे खरिद गरी उपलव्ध गराइएको अभियानले जनाएको छ ।

यसैवीच भद्रपुरस्थित मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना अस्पताल र साविक जनस्वास्थ्य कार्यालयको तालिम केन्द्रमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्ने टुंगो लागेसंगै अभियानले अस्पताल र प्रयोगशाला निर्माणमा सहयोग गर्न अपिल गरेको छ ।

देशविदेशबाट अभियानलाई सहयोग प्राप्त भइरहे पनि अस्पताल र प्रयोगशालाका लागि थप सहयोग आवश्यक भएको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । अभियानले अन्तर्रा्ष्ट्रिय झापाली समाज तथा प्रत्येक देशमा रहेका झापाली संघसंस्थालाई सहयोग गर्न अनुरोध गरिएको उनले वताए । अभियानले व्यक्तिगत र संस्थागत गरी जेठ १० गतेसम्म ५२ लाख ५६ हजार २७५ रुपैयाँ सहयोग प्राप्त गरेको र देशविदेशका ५१ वटा संघसंस्था र ५९४ जना दाताले अभियानलाई सहयोग गरिसकेको उनले जानकारी दिए ।

त्यस्तै, ‘एकका लागि एक’ अभियानले गत जेठ ७ गतेबाट बिर्तामोडको क्वारेन्टाइनमा राखिएका मानिसलाई बिहान, दिउँसो र बेलुका खाना खाजा खुवाउँदै आएको जनाएको छ ।  कोरोना संक्रमण जोखिम न्यूनीकरण रोकथाम र उपचारका लागि झापामा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समितिले आग्रह गरेपछि अभियानले बिर्तामोडको क्वारेन्टाइनमा राखिएका दुई सय जना मानिसलाई बिहान, दिउँसो र बेलुका खाना खाजा खुवाउँदै आएको अभियानका खाना व्यवस्थापन समितिका संयोजक सञ्जीव घिमिरेले जानकारी दिए ।

लकडाउन शुरु भएसंगै अभियानले बिर्तामोडको वनस्टप मलमा शुरु गरेको विपन्न , असहायलाई दैनिक एक छाक खाना खुवाउने कार्यलाई अझै निरन्तरता दिइँदै आएको उनले बताए । हालसम्म  नौ हजार भन्दा वढी मानिसलाई खाना खुवाएको उनले बताए ।

त्यस्तै ‘एकका लागि एक’ अभियानले बिर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाई, शिवसताक्षी दमक, भद्रपुर, मोरङ र सुनसरीका दुई हजार भन्दा वढी विपन्न तथा असाहय परिवारलाई खाद्य सामग्री वितरण गरेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । त्यस्तै अभियानले कचनकवलका चारवटा क्वारेन्टाइनमा राखिएका मानिसलाई खाजा खुवाउने भएको छ । अभियानको टोलीले त्यसक्षेत्रको अनुगमन गरी झापामा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समितिको अनुरोधमा खाजाको व्यवस्था गर्न लागेको अभियानका सहसंयोजक वस्नेतले वताए ।

यसैबीच, ‘एकका लागि एक’ अभियानलाई संस्थागत गरिने भएको छ । अभियानको बिर्तामोडमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।  कोरोना भाइरसको संक्रमणको जोखिममा परेकालाई सहयोग गर्न सहारा नेपालसहित १८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा झापामा ‘एकका लागि एक’ अभियानल शुरु गरिएको भएपनि झापामा आगामी दिनहरुमा हुन सक्ने विपद तथा प्रकोपको क्षतिलाई ख्याल गर्दै अभियानलाई संस्थागत गर्न लागिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

उनले आगामी दिनहरुमा बाढी, आगलागी तथा अन्य विपदमा परेका झापाका मानिसलाई अभियानले सहयोग गर्ने जानकारी दिए । त्यस्तै वैठकले झापाका सीमावर्ती क्षेत्रमा अस्थाई प्रहरी पोष्ट वनाउन सहयोग गर्ने निर्णय गरेको छ । झापाका विरीङ नदीदेखि गौरीगञ्जसम्मका अस्थाई प्रहरी पोष्ट वनाउन सहयोग गर्ने र त्यसका लागी राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुव्वालाई संयोजक र नेपाल परिवार नियोजन संघ प्रदेश १ का संयोजक केदार गिरीलाई सहसंयोजक तोकिएको अभियानले जनाएको छ ।

सहारा नेपालसहित १८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानको संयोजन तथा सहजीकरण संवाद समूह झापाले गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here