सीमामा रोकिएका स्वदेश फर्किन थाले

0
731

डोटी,

रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका डोटेलीहरू धमाधम स्वदेश फर्किन थालेका छन् । भारतमा कोरोनाको जोसखम बढ्न थालेपछि वर्षौंदेखि त्यहाँ काम गर्दै आएका स्थानीयवासी घर फर्किन थालेका हुन् । स्वदेश फर्कनका लागि सुदूरपश्चिम प्रदेशका सीमा क्षेत्रमा रोकिएका नागरिकलाई यहाँका स्थानीय तहले ल्याउन शुरु गरेका छन् ।

शनिबारसम्म कम्तीमा पनि ७८५ जनालाई यहाँका स्थानीय तहले आफ्ना गाडीबाट जिल्ला भित्र्याइएको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ । प्रदेशका कैलाली, कञ्चनपुर नाकाबाट भने करिब ६ हजारभन्दा बढी नागरिक स्वदेश भित्रिएका छन् ।

नौवटा स्थानीय तहले नागरिक ल्याउने क्रम जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दिपायल सिलगढी नगरपालिकाका २००, आदर्श गाउँपालिकाका ८५, केआइसिंह गाउँपालिकाका २००, पूर्वीचौकी गाउँपालिकाका ८०, बोगटान फुड्सिल गाउँपालिकाका १००, जोरायल गाउँपालिकाका २०, शिखर नगरपालिकाका १०० जना गरी कुल ७८५ जना जिल्ला भित्रिएका छन् ।

त्यसैगरी यहाँका अन्य स्थानीय तहहरू बडिकेदार तथा सायल गाउँपालिकाका स्थानीयवासी आउने तयारी भएको बताइएको छ । जिल्ला भित्रिएकालाई यहाँका स्थानीय तहले सीमा क्षेत्रबाटै उद्धार गरी यहाँका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिनमा राखेका छन् ।

स्थानीय तहले खर्च व्यहोर्ने गरी सबै पालिकाले सीमामा रोकिएका आफ्ना पालिकाका नागरिकलाई ल्याउने निर्णयअनुसार सबै पालिकाका पदाधिकारी सीमा क्षेत्रमा उद्धारका लागि खटिएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई सबै स्थानीय तहले ल्याउने भन्ने निर्णय भएअनुसार हामीले सीमा क्षेत्रमा प्रतिनिधि र कर्मचारी खटाएका छौँ, उद्धार गरेर सिधै क्वारेन्टिनमा राख्न थालेका छौँ ।” छिमेकी मुलुक भारतका विभिन्न शहरमा रोजगारीका लागि जिल्लाका कम्तीमा पनि आठदेखि १० हजार नागरिक गएको हुन सक्ने प्रहरीकोे तथ्याङ्क रहेको छ ।

सीमासम्म आएर अलपत्र परेका जिल्लाका नागरिक प्रदेश सरकारको सहयोगमा यहाँका स्थानीय तहले सीमामै पुगेर उद्धार गरी ल्याएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा आउनका लागि भारतबाट आएका नागरिक सीमा क्षेत्रबाट उद्धार गरी ल्याएका छौँ, सबैलाई क्वारेन्टिनमा राखेर चेक जाँच गर्ने छौँ ।”

ती नागरिकलाई दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर मावि, वडा नं ४ राजपुरमा रहेको सेती सभाहल, वडा नं १ को मगलेक मावि तिखा, केआइसिंह गाउँपालिका, शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको चवराचौतारा, पूर्वीचौकी गाउँपालिकाको साजघाटलगायतका ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ ।

स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनस्तरीय नभएका तथा क्वारेन्टिनमा राखिएकालाई चाहिने न्यूनतम आवश्यक सामग्री (शौचालय, शुद्ध खानेपानी, ग्यास, सुत्नेलगायतका व्यवस्था) समेत नभएकाले समस्या हुने स्थिति देखिएको जोरायल गाउँपालिका–५ का सर्वजति देउवाले बताउनुभयो ।

जिल्ला अस्पतालमा कोभिड–१९ को जाँच गर्ने ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किट नभएका कारण भारतका सीमाबाट उद्धार गरी ल्याइएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राखिएको दिपायल सिलगढी–२ का स्थानीय श्याबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रबाट उद्धार गरी ल्याएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राखिएको छ, एकजनामा पनि सङ्क्रमण भए सबैमा फैलिन सक्छ ।”

सीमा क्षेत्रबाट उद्धार गरेर क्वारेन्टिनमा राखिएका भने निकै खुशी भएका छन् । भारतमा नारकीय जीवन जिउनुभन्दा आफ्नै घरमा जस्तो अवस्था र दुःख भए पनि सहन गर्न सकिने भारतबाट काम गरी दिल्पेश्वर माविको क्वारेन्टिनमा राखिएका दिपायल सिलगढी–३ बाँफीका नरेन्द्र साउदले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here