सहमतिविपरीत नेपालको चियामा भारतको अवरोध

0
680

काठमाडौं,

नेपालसँग देखिएको सीमा विवादको रिस भारतले विभिन्‍न बहानामा फेर्न थालेको छ। पाम तेल आयातमा रोक लगाएको भारतले नेपालमै उत्पादित चिया निर्यातमा पनि अवरोध गर्न थालेको छ।

भारतले चियासँगै अन्य कृषिउपजमा निर्यातमा अवरोध गरेर सिमा विवादको रिस फेर्न थालेको हो। तेस्रो देशबाट ल्याएर भारत पठाइने गरेको पाम रोकेपछि द्विपक्षीय सम्झौता लत्याउँदै नेपालमा उत्पादित चियामा रोक लगाएको हो।

भारतले अतिक्रमण गरिरहेको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूमि समेट्दै नेपालले देशको नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा अवरोध गर्न थालेको हो। दुई देशबीच लकडाउनमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात-निर्यातमा रोकावट नहुने समझदारी भएको छ।

तर भारतले नेपालमा उत्पादिन चिया निकासीमा रोक लगाए हो। यसका कारण नेपालका चिया किसान र उद्योगीको तनाव बढेको छ। यो बेला चियाको सबैभन्दा राम्रो सिजन हो। राम्रो मूल्य पनि पाइने सिजनमै चियामा अवरोध गरेपछि कृषक र उद्योगीमा तनाव बढेको हो।

भारतले अवरोध गरेपछि कूटनीतिक पहलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ। मन्त्रालयका उपसचिव श्रीधर गौतमले परराष्ट्रलाई पत्र लेखेर अवरोध खुलाउने पहल गरिदिन आग्रह गरेका छन्। ‘नेपालबाट विगतदेखि भारततर्फ निकासी हुँदै आएको नेपालमा उत्पादिन चिया कोभिड-१९ को कारण दुवै देशमा बन्दाबन्दी गरिएको वर्तमान अवस्थामा विभिन्‍न बहाना देखाई भारतीय भन्सारमा रोकिएको हुँदा समस्या उत्पन्‍न भएकाले राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आवश्यक सहजीकरणका लागि अनुरोध भएको छ’, पत्रमा भनिएको छ।

उद्योगले बन्दाबन्दीको विषम परिस्थितिमा अत्वाश्यक र कृषिजन्य सामग्रीको आयात निर्यातमा अवरोध गर्न नहुने बताइएको छ। ‘बन्दाबन्दीको विषम परिस्थितिमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुहरुको आयात निर्यातमा कुनै रोकावट नहुने समझदारी अनुरुप भारतबाट नेपालतर्फ भारतीय वस्तुहरु नियमित आयात भइरहेको छ’, पत्रमा भनिएको छ, ‘तर नेपालमा उत्पादिन चियाको हकमा भारततर्फको निकासीमा अवरोध देखिएकोले हटाउने व्यवस्थाका लागि त्यहाँमार्फत भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गरिदिन अनुरोध छ।’

नेपालका इलाम, झापासहितका जिल्लामा चिया खेती हुने गरेको छ। भारतले चिया निर्यात रोकेपछि पूर्वका विभिन्‍न जिल्लामा चिन्ता बढेको छ। अन्य खेतीबाली मासेर चिया खेती गरेका किसान र उद्योगी चिया बिक्रीमा समस्या आउने कुराले झस्किएका छन्।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here