पूर्वीनाकाबाट ५ सय ८७ मेट्रिक टन हरियो साग सब्जी आयात

0
792

लक्ष्मी उप्रेती / मेचीनगर,

नेपालमा लकडाउन भएपछिको अवधिमा पुर्वीनाकाबाट ५ सय ८७ मेट्रिक टनमात्र हरियो साग सब्जी आयात भएको छ । पर्याप्तरुपमा आयात नहुँदा आर्थिकरुपमा समेत सरकारले नोक्शानी व्यहोर्नु परेको छ ।

प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालय काँकरभिट्टाका अनुसार चैत १४ देखि २६ गतेसम्म काँकरभिट्टा नाका भएर ९३ लाख ९२ हजार रुपैयाँ मुल्य बराबरको ५ सय ८७ मेट्रिक टन हरियो साग सब्जी आयात भएको हो ।

कार्यालयका प्राविधि सहायक चन्देश्वर ठाकुरका अनुसार सो अवधिमा टमाटर, खुुर्सानि, सीभी, करेला, काक्रा, काउली, बन्दा, मुलालगायतका हरिया सागसब्जी आयात भएको छ । भारतबाट विभिन्न प्रकारका हरियो सागसब्जी आयात हुदाँ नेपालबाट भारततर्फ निर्यात ठप्प छ । भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा तरकारीको आयात पनि शुन्य थियो ।

चैत २६ गतेसम्म यो नाका भएर हरियो सागसब्जी आइरहेका भएपनि भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले नाका बन्द गरेपछि नेपालको पूर्वीनाका काँकरभिट्टा नाका हुँदै तरकारी लिएर आउने सवै सवारीका साधन ठप्प भएको र चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प हुँदा तरकारीकोे आयात पनि शुन्य भएको प्राविधिक सहायक ठाकुरले बताउनुभयो ।

पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुममा उत्पादित बन्दाकोपीको माग भारतीय बजारमा अत्याधिक हुने भएपनि लकडाउनका कारण सवारी साधन ठप्प हुँदा निर्यात हुन सकेको छैन् । पूर्वी नाकाहुँदै बन्दाकोपीसहित मुसुरो दाल, अदुवा, अम्लिसो, तोरीपिना, राइसव्राण्ड तथा जडीबुटीलगायतका वस्तुहरु निर्यात हुने गरेका थिए । अहिले ती वस्तुको निर्यात ठप्प रहेको कार्यालयले जनाएको छ ।

विशेषगरि भारतका विभिन्न बजारबाट आयातित सागसब्जी नेपालको स्थानीय बजारदेखि काठमाण्डौँसम्म पुग्ने गरेको छ । केहीदिनदेखि भारतको पश्चिम बंगाल सरकारले भारतबाट मालवाहक सवारी साधन चल्न खुला गरेपछि फाट्टफुट्टरुपमा तरकारी आयात हुन थालेको छ । तर, ती तरकारी स्थानीय बजारमै खपत हुने ठाकुरको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here