पर्यटन पूर्वाधार निर्माणको काम धमाधम

0
970

प्युठान,

यहाँका पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । पर्यटकीय क्षेत्र सुनसान भएका समयमा सडक, वाटर पार्क, होम स्टे, पैदल मार्ग निर्माणलगायत काम भइरहेका छन् ।

जिल्लाका प्रमुख पर्यटकीय क्षेत्र स्वर्गद्वारी, गौमुखी, भित्रीकोट, नौबहिनी, मल्लरानी, झुलेनी, कोठीभिर, नांगी, ऐरावती र ओखरकोट इष्नाथानलगायत पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणमा काम अघि बढाइएको हो । सात पर्यटकीयस्थललाई आकर्षक बनाउन करीब रु तीन करोड ५० लाखको पूर्वाधार निर्माणको काम भइरहेको डिभिजन वन कार्यालयका प्रमुख राजु क्षत्रीले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रदेश नं. ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा सिँढी निर्माण, रेलिङ, होम स्टे, पैदल यात्रा मार्ग र वाटर पार्कलगायत पर्यटकीय पूर्वाधार निर्माणका काम भइरहेका छन् । “बन्दाबन्दीको समयमा यहाँका पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणका काम अघि बढाइएको छ”, प्रमुख क्षेत्रीले भन्नुभयो, “केही ठाउँमा सकिन थालेको छ भने केही ठाउँमा शुरु भएको छ ।”

पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीयवासी मजदूरले काम पाएका छन् । असार मसान्तसम्म सकाउनुपर्ने भएका कारण सबै ठाउँमा सामाजिक दूरी कायम राखेर काम गरिएको उहाँले बताउनुभयो । प्युठान नगरपालिकाको भित्रीकोट दरबारको जीर्णोद्धार तथा नयाँ पर्यटकीय संरचनाको निर्माण भइरहेको छ ।

संस्कृति मन्त्रालयको रु ४० लाख, प्रदेशको उद्योग मन्त्रालयको रु पाँच लाख, पुरातत्व विभागको रु १० लाख र प्युठान नगरपालिकाको रु १५ लाख गरी ७० लाखमा भित्रीकोटमा सिँढी, सुरक्षा जाँचघर, शौचालय र भित्रिकोटको उत्खनन भइरहेको नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनु भयो ।

विसं १९९० को भकम्पले भत्किएको दरबार भग्नावस्थामा छ । भित्रीकोट पूर्वाधार निर्माणका लागि रु १४ करोडको लागत अनुमान विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको कक्षपतिले जानकारी दिनुभयो ।

यससँगै प्युठान –४ को शहीदोद्यानमा शहीदको शालिक, पार्क र रेलिङ, गौमुखीमा बहुउद्देश्यीय सामुदायिक भवन, होमस्टे, कोठीभिरमा रेलिङसहितको सिँढी, झुलेनी र नांगीमा पैदलयात्रा मार्ग, टहरा निर्माणलगायत काम भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

झिमरुक गाउँपालिका–७ टिमुरचौरको इष्नाथान मन्दिरमा काठमाडौँ निवासी फत्तबहादुर जिसीले ढोको निर्माण गर्नुभएको छ । तुसारामा जन्मी हाल काठमाडौँमा बस्दै आउनुभएका जिसीले रु ५० हजार सहयोग गर्नुभएको झिमरुक –८ का वडाध्यक्ष तुलस बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी स्वर्गद्वारी मन्दिर पुग्न सहज हुने गरी भिङ्ग्री–स्वर्गद्वारी सडक कालोपत्रे गर्न थालिएको छ । भिङ्ग्रीदेखि स्वर्गद्वारी नजीकै रहेको धरमपानीसम्म १४ किलोमिटर सडक कालोपत्रे गर्न थालिएको सडक डिभिजन कार्यालयका प्रमुख विनोदप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रदेश नं ५ सरकारको रु २५ करोड ५० लाखको लागतमा कालोपत्रे शुरु भएको हो । वसिस इञ्जिनीयर्स एण्ड वुल्डर्स प्रालिले ठेक्का पाएको र निमार्ण सम्पन्न मिति असोज मसान्तसम्म भएकामा ७० प्रतिशत काम सकिएको प्रमुख सापकोटाको भनाइ छ ।

कालोपत्रे सडकबाट दर्शनार्थीको आवतजावतमा सहज हुने हुँदा बन्दाबन्दीपछि पर्यटकको संख्या वृद्धि हुने आशा रहेको स्वर्गद्वारी नगरपालिका–२ विष्णु खनालले बताउनुभयो । त्यसैगरी झिमरुक र माडी नदीको संगमस्थल ऐरावती पुग्न सडक पूर्वाधारको निर्माण भइरहेको छ । असार मसान्तसम्म पूरा गर्ने गरी दरभानदेखि ऐरावती पुग्ने ६ किलोमिटरको ग्राभेल र ट्रयाक खोल्ने योजना बन्दाबन्दीले केही समय रोकिए पनि पुनः सञ्चालनमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here