विवाद मिलाउन वाणिज्य संघको पहल

0
365

 

तीर्थराज खरेल

सुरुङ्गा, साउन २२ । सुरुङ्गा बजारमा रहेको प्रसाईं मार्केटको विवाद मिलाउन झापा उद्योग वाणिज्य संघ सुरुङ्गा शाखाले गम्भीर पहल शुरु गरेको छ ।
२०६९ सालको कात्तिकदेखि घरधनी मधुमाया प्रसाईंका छोरा पदम प्रसाईं र व्यापारी प्रयोजनमा कोठा बहालमा लिनेहरु नारायण तिम्सिना, नारायण अधिकारी, पुष्पा दाहाल, टीका दाहाल, सरस्वती दाहाल, प्रदीप पौडेल, अनिता मैनाली, पदम बस्नेत आदि वीच असमझदारी उत्पन्न हुँदै आएको थियो । घरसाहुले विभिन्न बहानामा व्यवसायीलाई दुःख दिने काम भएको भनी व्यवसायीले पटकपटक उद्योग वाणिज्य संघमा निवेदन दिएका थिए । घरधनीसँग भएको लिखित र मौखिक सहमति अनुसार घरधनीले व्यवहार नगरी कोठा खाली गर्न दबाब दिएको बहालवालाहरुको भनाइ रहेको छ । संझौता अनुसार भाडा तिरेर स्वतन्त्रसँग व्यवसाय गर्न पाउनुपर्ने व्यापारीहरुको माग रहेको बताइएको छ । घरनिर्माण पछि कोठा भाडामा दिंदा प्रत्येक व्यापारीबाट ५० हजारदेखि १ लाख रुपैयाँसम्म डिपोजिटको रुपमा अतिरिक्त रकम घरधनीले असुलेको र अहिले सो रकम बढाएर ४ लाख भन्दा बढी पु¥याउन दबाब दिएको एक व्यापारीले बताए । व्यवसाय गरिरहेका पुराना बहालवालालाई हटाएर नयाँलाई राख्दा नयाँबाट बढी डिपोजिट लिन पाउने घरधनीको नियत रहेको व्यापारीहरुको आरोप छ । एक व्यापारीले नाम नछाप्ने शर्तमा भने–“ गणतन्त्र नेपालमा पनि सम्पत्ति हुनेले बजारमा आफ्नो घर नहुने साना पूँजी भएका व्यवसायीलाई पेल्ने काम रोकिएन, हामी अन्यायमा परेका छौं ।” घरधनी र बहालवाला वीच विवाद बढेपछि उद्योग वाणिज्य संघले घरधनी र व्यवसायीलाई राखेर पटकपटक विवाद मिलाउन कोशिस गरेको, उनीहरु वीच सुमधुर सम्बन्ध हुनुपर्ने र व्यवसायीले सहज रुपमा व्यापार गर्न पाउनुपर्ने निर्णय गरेको झापा उद्योग वाणिज्य संघ शाखा सुरुङ्गाका अध्यक्ष युवराज संग्रौलाले बताउनुभयो । यस सम्बन्धमा झापा उद्योग वाणिज्य संघ शाखा सुरुङ्गाको कार्यसमिति बैठकले २०६९ साल माघ ५ र २०७० साल साउन ४ गते स्वतन्त्रतापूर्वक व्यवसायीले आफ्नो बन्दव्यापार गर्न पाउनु पर्ने निर्णय गरेको शाखा सचिव सोमनाथ उप्रेतीले जानकारी दिनुभयो । सुरुङ्गा गाविसमा यस सम्बन्धमा भएको सर्वपक्षीय बैठकले शीघ्र समस्या हल हुनुपर्नेमा जोड दिएको छ । कुरा बुझिदिनुपर्ने पक्ष नै जिम्मेवार नभइदिंदा यो विषय टाउको दुखाइको विषय भएको सो बैठकमा सहभागी राजनीतिक दलका एक नेताको भनाइ थियो । यो विवाद बढ्दै जाँदा बन्द निषेधित शान्तिक्षेत्रको रुपमा रहेको सुरुङ्गाका व्यापारीहरु नै व्यवसाय बन्द गरेर सडकमा निस्कने परिस्थिति बन्दै गएको एक व्यापारीले बताए ।