गाँउ गाँउमा एमाओवादीको अभियान

0
386

तीर्थराज खरेल
सुरुङ्गा,साउन २२ । मंसीर ४ गते तोकिएको संविधानसभाको चुनावलाई लक्षित गरी एकीकृत नेकपा(माओवादी)द्वारा सञ्चालित १ महिने जनसम्बन्ध सुदृढीकरण अभियान शरणामतीमा पनि शुरु गरिएको छ । पार्टीको केन्द्रीय नीति अनुसार देशव्यापि रुपमा अभियान टोलीहरु हरेक गाविस र नगरपालिकाका वडाहरुमा शहीद तथा बेपत्ताका परिवारसँग भेटघाट, कार्यकर्ता प्रशिक्षण तथा टोल सभा लगायतका गतिविधि सञ्चालन भइरहेछन् । सोही अनुरुप जनता उच्च मा.वि.शरणामतीको सभाहलमा एमाओवादीले १ दिने प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न गरेको छ । सोही प्रकारका कार्यक्रमहरु शरणमतीका सबै वडामा गरिने बताइएको छ । झापा क्षेत्र नं. ५ का संयोजक एवम् जनमुक्ति सेना नेपाल प्रथम डिभिजन चुलाचुलीका पूर्व सह–कमाण्डर हरिबहादुर श्रेष्ठको प्रमुख आतिथ्य र एमाओवादी शरणामतीका अध्यक्ष हेमबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा २ सय बढी कार्यकर्ताको सहभागिता रहेको अभियानका सदस्य देवीप्रसाद दाहालले जानकारी दिनुभयो । कोचिला मुक्तिमोर्चाका केन्द्रीय सदस्य हंसलाल राजवंशी, पूर्व सभासद पूजा खनाल, एमाओवादी जिल्ला पार्टीका कार्यालय सदस्य तेजलाल कर्ण, पार्टीका क्षेत्र नं. ५ का सेक्रेटरी आकाश लगायतको आतिथ्य रहेको उक्त कार्यक्रममा क्षेत्र नं.५ का ईञ्चार्ज चन्दु, अखिल नेपाल शिक्षक संगठन(एन्टो) का जिल्ला उपाध्यक्ष कृष्ण मैनाली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सदस्य रुद्र बजगाईंले गर्नुभएको थियो ।
उता क्षेत्र नंम्वर २ मा पनि एकीकृत नेकपा माओवादीले अभियान तिव्र पारेको छ । अभियान अन्र्तगत १६ गते वनियानी, १७ र १८ गते पथरीया,घेरावारी १९ गते केचना पाठामारी, २० गते वनियानी र २१ गते पृथ्वी नगरमा कार्यक्रम सम्पन्न भएको एकीकृत नेकपा माओवादीले जनाएको छ । हेमन्त प्रकाश ओलीको नेतृत्वमा भएको कार्यक्रममा पार्टीका जिल्ला स्तरका नेता तथा कार्यकर्ता सहित पार्टी पार्टीका गाँउ गाँउका स्थानीय कार्यकर्ताहरु समेत सहभागी थिए ।