हट्ने होइन डटी लड्ने …

0
1012

मोहम्मद सदरुल / विराटनगर ।


हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ ।
कहिल्यै नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ ।

राष्ट्रियताले भरिएको यो गीतले धेरै सन्देश दिन खोजेको छ । वास्तवमा भन्ने हो भने संसारका जति पनि सफल व्यक्ति छन् तिनीहरू आफ्नो लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि जस्तो सुकै समस्यासँग पनि नहटिकन डटेर लडेकाले सफल भएको पाइन्छ । चाहे ती व्यापारी हुन, चाहे राजनीति व्यक्तिहरू हुन्, चाहे अरु कुनै व्यक्तिहरू नै हुन् । आफ्नो लक्ष्य तथा उद्देश्यसँग नहटिकन डटेर लड्ने व्यक्तिहरू नै आज सफल व्यक्तिहरूको सूचीमा छन् ।

यस्तै एक व्यक्ति हुन्—विराटनगरका वसिम आलम । उहाँले विगत ५७ दिनदेखि सडक पेटीमा बस्ने मानिसलाई खाना खुवाउँदै आउनुभएको छ । शुरुमा कोरोना भाइरसबाट बच्न र बचाउनका लागि जनचेतना फैलाउनेदेखि मास्क, सेनिटाइजर र पञ्जा वितरण गर्ने अभियानमा लाग्नुभएका आलम विगत ५७ दिनदेखि सडक पेटीमा बस्ने मानिसलाई खाना खुवाउने अभियानमा लाग्नुभएको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि मुलुकभर लकडाउन जारी छ । लकडाउन शुरु भएको चार दिनपछि मास्क, पञ्जा र सेनिटाइजर वितरण गर्न जाँदा गरिब, असहाय, विपन्न परिवारका केही व्यक्ति सडकको पेटीमा बसेर खाना खान पाउने प्रतीक्षामा थिए । यही संवेदनालाई सहन नसकेर आलमले एक समूह बनाएर सडक पेटीमा बस्ने मानिसलाई खाना खुवाउने सङ्कल्प लिनुभयो र यो अभियान शुरु गर्नुभएको आज ५७ औँ दिन हो ।

पहिलो दिन ९६ जनालाई वितरण गर्नुभएको खाना अहिले दिनमा ४०० जनालाई खुवाउने कार्य गरिरहनुभएको छ । बिहान बेलुका खाना खुवाउने कार्यमा दुईवटा समूह बनाएर अभियानलाई निरन्तरता दिइरहनुभएका कर्मठ युवा वसिमको समूहमा अहिले २० जना युवा छन् भने पप्पु अन्सारीले विराटनगर महानगरपालिकाको ट्राफिक चोकमा सञ्चालन गर्नुभएको रोयल विरयानी हाउसमा खाना तयार गर्न आफ्ना कुकसहित हाउस वसिम आलमलाई जिम्मा दिनुभएको छ । यो हाउसमा बिहान बेलुका ताजा खाना पकाउने र खाना खाने समूहलाई दैनिक परिकार परिवर्तन गरी खुवाउन कार्य गरिरहनुभएको छ ।

उहाँको यो कार्यलाई मोरङका प्रहरी प्रमुख विश्व अधिकारी, वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख बेदप्रसाद गौतम र प्रहरी अधिकृत विकास राईसहित केही सरकारी कर्मचारीले पनि सराहना गर्दै काममा सहयोग गर्दै आउनुभएको छ । युवा वसिमको कार्यबाट प्रसन्न हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ समितिका सदस्य जीवन आचार्यले भिडियो कल गरेर उहाँलाई धन्यवादमात्र दिनुभएन उहाँले सोही कलबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि युवा वसिमलाई धन्यावाद दिनुभयो । उहाँले भन्नुभयो, “यो काम निकै सराहनीय छ यसलाई निरन्तरता दिनुस् ।”

यही विषयलाई लिएर नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पनि भिडियो कल गरेर विराटनगरका युवामा देखिएको जोश र जाँगरलाई कदर गर्दै धन्यावाद दिनुभयो । उहाँले भन्नुभयो, “यो कामलाई नरोक्नु होला ।”

यस्तै प्रेरणाबाट उत्साहित युवा वसिमको काम सक्रिय सहयोग गरिरहनुभएका विराटनगर निवासी पप्पु अन्सारीले इस्लाम धर्मावम्बीहरूको महान् चाड रमजान महिनामा व्रत बसेका १८० परिवारमा रोजा व्रत खोल्न इफतारको बन्दोबस्त गर्नुभएको थियो । उहाँले इफतारमा सधैँ नै परिकार परिवर्तन गरी व्यवस्था गर्नुभएको थियो भने कटहरी गाउँपालिका निवासी कृषक कोपेन्द्र सिंहले गोलभेँडा र बन्दाकोभी निःशुल्क उपलब्ध गराइरहनुभएको छ ।

अहिलेसम्म कुनै सङ्घसंस्थाको सहयोग नलिई गरिरहेको यो कार्यमा व्यक्तिगतरुपमै केही साथी एवं समाजसेवीले सहयोग गरिरहेको र उहाँहरूको सहयोगलाई सम्मान गर्दै भिडियोमार्फत भइरहेको कार्यको जानकारी पनि दिइरहेको युवा वसिमले जानकारी दिनुभयो ।

कुनै राजनीतिक रङ्ग नदिएको यस कार्यमा सहभागी युवाले कोरोना भाइरसबाट बच्न निकै सावधानी अपनाउनाका साथै स्वास्थ्य विज्ञले दिएको सुझावलाई अङ्गिकार गरिरहनुभएको छ भने प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहयोगमा सडक पेटीमा खाना खाने समूहलाई स्वास्थ्य परीक्षण पनि गराइरहेको वसिमको भनाइ छ ।

लकडाउनले गरिब, असहाय र विपन्न एवं रोजगार गुमाएका मानिसबीच मात्र यो समूह पुगेनन् उहाँहरू विराटनगरमा डेरा लिएर बसेका विद्यार्थीको घरमा दाल, चामल र राजमासहितको प्याकेज बनाएर युवा निर्माला भण्डारीको नेतृत्वमा ४० जना विद्यार्थीको घरमा राहत पु¥याउने व्यवस्थासँगै वृद्धाश्रम र अनाथ आश्रममा मनिष पौडेलको नेतृत्वमा राहत पु¥याउने व्यवस्था र पेरिस सुवेदीको नेतृत्वमा १९ जना अपाङ्ग र तेस्रो लिङ्गीमा खाद्यान्न पु¥याउने काम पनि सम्पन्न गरेका छन् ।

मोरङका चिरपरिचित एवं राजनीतिक क्षेत्रमा अलग्गै पहिचान बनाउनुभएका युवा वसिम आलमको साविकको घर रङ्गेली नगरपालिका हो भने उहाँ २०५६ सालमा विद्यार्थीबाट राजनीतिक शुरु गरेर रङ्गेली पब्लिक माध्यमिक विद्यालयको अनेरास्ववियुको उपाध्यक्ष बनेर शुरु गर्नुभएको राजनीतिक यात्रा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङका सचिवालय सदस्य हुनुहुन्छ भने मोरङको विद्यार्थी फाँटको इन्चार्जसमेत रहनुभएको छ ।

सडक पेटीमा खानाका लागि प्रतीक्षा गरिरहनुभएका सुनिल मण्डलले उहाँका कारणले मेरो पेटमा आहार पुगेको छ उहाँलाई जति नै धन्यवाद दिए पनि कमै हुने प्रतिक्रिया दिनुभयो । विराटनगर सरौचिया निवासी मण्डल मजदुरको काम गर्नुहुन्थ्यो र सरकारले लकडाउन घोषणा गरेपछि केही दिन भोकै बसेको स्मरण गर्नुभयो ।

विराटनगर महानगरपालिका—१४ का रामभरोस सहनीले आफूले यो खाना लगातार २० दिनदेखि खाइरहेको छु । खाना मीठो र स्वादिलो हुन्छ भन्नुभयो । म रिक्सा चलाउँथे र गुजारा गर्थें अहिले लकडाउनले रिक्सा चल्दैन र पेट पाल्न गाह्रो भएकाले खाना खान सडकको पेटीमा बस्न नपाउँदै वसिमको समूहले खाना लिएर आउँदा उहाँका अनुहारमा बेग्लै चमक र खुशी देखिन्थ्यो ।

तेह्रथुम निवासी रत्न श्रेष्ठ कामको सिलसिलामा तीन महिना पहिले विराटनगर आएको थियो । उहाँले भन्नुभयो, “सबैतिर काम बन्द भएपछि खाना खान पनि समस्या परेपछि विराटनगरका युवाले समाधान गरिदिनुभएको छ ।” यस्तै, बजारमा प्लाष्टिक टिप्ने विराटनगर मिलन चोक निवासी प्रेम विक, ठेला चलाउने रामपुर निवासी भिखारी मण्डल र मोरङको बुढीगङ्गा गाउँपालिका निवासी मजदुरको काम गर्ने अशोक सरदारले पनि दिनहुँ साँझ र बिहान सडकको पेटीमा बस्दा खाना, पानी तथा मास्क पाउने गरेको छु भन्नुभयो ।

घाम, पानी केही पर्वाह नराखी निरन्तर गरिब, असहाय, विपन्नका पेटमा आहार पु¥याउन जोहो गर्ने यो युवा समूहलाई विराटनगर, मोरङमा मात्र नभएर, वरपरका जिल्लामा पनि प्रशंसा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here