सम्पादकीय
कोरोना भाइरसको प्रकोपले आक्रान्त नेपालीलाई एउटा सुखद् सन्देश पनि दिएको छ। यसको एउटा उदाहरण हो कि अहिले युवा गाउँ फर्किएका छन् । धेरै अनेक कष्ट खपेर घर जाने अनुमति माग्दै छन् । जो त्यसो गर्न पनि सक्दैनन् उनीहरू अनुनय विनय गरिरहेका छन् बिदेशी भूमिबाट । हिजो सबैको एउटै लक्ष्य र गन्तब्य हुन्थ्यो भौतिक सुखका निम्ति बजार जाने, शहर पस्ने र आधुनिकताले दिएको भोगबिलाश र ऐश्वर्यको जीवन भोग्ने। जसका कारण गाउँ रित्ता थिए, अन्नरूपी ऐश्वर्य फलाउने जमिन बाॅझा भएका थिए। जन्ती- मलामी, अर्म-पर्म, दुःख- सुख, साह्रो- गाह्रो जस्ता सद्भाव नचाहेर पनि हराउँदै थियो।
त्यसो त युवा शक्तिको पलायन हुने क्रम वलात् उत्पन्न परिस्थितिको परिणाम हो । जनयुद्धको नाममा माओवादीले शुरू गरेको सशस्त्र द्वन्द्वको चपेटामा परेर पलायन हुनुपर्ने बाध्यता थियो त्यसबेला। मीठा सपना बाँडेर गाउँका बालबालिका तथा युवाहरुलाई हतियार बोक्न बाध्य पारेको त्यो परिवेशमा जीवन रक्षाकै लागि मात्रै भए पनि पलायन हुने क्रम शुरू भएको हो। सशस्त्र द्वन्द्वको दश बर्षको चपेटाले धेरैलाई अनाथ बनायो, धेरैको सिन्दुर पुछियो, कति घरबारविहीन बन्न पुगे। कति आज पनि त्यसले दिएको मन र शरीरको घाउ बोकेर बाँच्न विवश छन् । बाॅचेकाहरू श्रम गर्न नसक्ने थिए र सृजनाको मेलो अवरूद्ध भयो, गाउँ घर सुनसान भए। जमिन बाँझै बसे र गाउँ नै गाउँको देश परनिर्भरतातर्फ उन्मुख भयो।
यही परिवेशले रित्याएको हाम्रा गाउँलाई कोरोना भनिएको विष्णुको कारण पुनः गुल्जार बनाउने आशा पलाएको छ । बिदेशी भूमिमा कठोर श्रम गरेर परिवारको सुखद् भबिष्य निर्माण गर्ने सपनाभन्दा दुःख -जिलो गरेर परिवारसँगै बसेर आधा पेट खानुमै बढी सुख मिल्ने अनुभूति दिलाएको छ । त्यसकै तस्वीर हो सीमा नाकामा र पराईको भूमिमा देखिने रोदन र क्रन्दन । जसरी पनि सबै स्वदेश फिर्ता हुन लालयित छन् र आफ्नो सरकारको मुख ताकेर बसेका छन् । भएको रोजगारी गुमाएर गाउँ फिर्ता आएका युवावर्ग लक्षित कार्ययोजना सरकारले दिन सकेन भने तिनमा कुण्ठा र निराशाले घर बनाउनेछ । त्यसले फेरि पनि बिग्रह नै गर्नेछ, बिनाशतर्फ उन्मुख गराउनेछ।
प्रकृतिले हो शायद कोरोना महामारीकै नाममा भए पनि हामीलाई अवसर दिएको छ। यसलाई उपयोग गर्दै नेपाली युवाको कर्मठता आफ्नै माटोको प्रेममा लगाउनु पर्छ। अर्थात् कृषि प्रधान र आत्मनिर्भर नेपाली अर्थतन्त्रलाई पुनर्जीवित गर्नुपर्छ । त्यसका लागि कृषि कर्म र पेशा लक्षित योजना निर्माण गर्दै सेवा सुविधा उपलब्ध गराउनु पर्छ । कृषिको ब्यावसायीकरणसॅगै प्रवर्द्धनका कार्यक्रम ल्याइनु पर्दछ । नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने समय पनि यही भएकाले सरकारले महाविपत्तिको सामना गर्दै वर्तमानको स्वाबलम्बन, आत्मनिर्भर र सुदृढ आर्थिक एवम् सामाजिक जीवन निर्माण गर्ने आवश्यकता पूरा गर्न अग्रसर हुनुपर्छ ।