५० प्रतिशत कर्मचारी अहिलेपनि काममा छन् – उपाध्यक्ष राई

1
1604

भुवन राई –उपाध्यक्ष
नेपाल निजामती कर्मचारी संगठन

कोभिड –१९ को संक्रमणले मुलुक नै आक्रान्त बनेको छ । तपाईहरु अहिले यो क्षणमा कसरी काम गरिराख्नु भएको छ ?

– धेरै निजामति कर्मचरी अहिले घरमै छन् । तर, स्वास्थ्य, सुरक्षा र तीन तहकै सरकारका अत्यावश्यक सेवाका कर्मचारी अग्रपंक्तिमा रहेर अहिले पनि काम गरिरहेका छन् । म आफैं पनि धरान उपमहानगरपालिकामा कार्यरत् छु । अहिले यहाँ रहेका सडक मानवको उद्धारमा म आफैं खटिएकी छु । १०७ जना सडक मानवको उद्धार गरेका छौं । यो त धरान उपमहानगरपालिकाको मात्रै कुरा भयो । देशभर नै कर्मचारीहरु अहिले यसैगरी फिल्डमा खटिएका छन् । अझ स्थानीय तहका कर्मचारीले प्रत्यक्ष जनतासँग सरोकार राख्दै राहत वितरणदेखि कार्यालयको अन्य कामसमेत भ्याउनु परेको अवस्था छ । झण्डै ५० प्रतिशत कर्मचारी लकडाउनमा भएपनि तीन तहका सरकारमा कार्यरत् कर्मचारी कार्यक्षेत्रमै छन् ।

विषम परिस्थितिमा संगठनले के गरिरहेको छ ?

– संगठन आफैं अहिले केही गर्न सक्ने अवस्थामा छैन । किनकि सरकार अप्ठ्यारो अवस्थामा छ । हामीले सरकारलाई पाँच लाख रुपैयाँ राहत कोषमा सहयोग गरेका छौं । काममा खटिने कर्मचारीलाई राज्यले प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ । हामीले पटकपटक सरकारलाई घचघच्याऔं । फलस्वरुप सरकारले स्थानीय तहका कर्मचारीलाई समेत खाजा खर्च भएपनि उपलब्ध गराउने गरेको व्यवस्था मिलाएको छ । संगठनले कर्मचारीको हकहितका लागि काम गर्ने हो । अहिले काम गर्ने सिलसिलामा प्रदेश नं. १ मा एक जना र नेपालगञ्जमा एक गरी दुई जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । यो अप्ठ्यारो अवस्थामा काममा खटिँदा मृत्यु भएका कर्मचारीका परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन हामी पहल गरिरहेका छौं । उनीहरुको परिवारलाई मात्र होइन सबै कर्मचारीको अनिवार्य बीमा गर्नु पर्छ भन्ने पक्षमा संगठन लागेको छ ।

कोभिड –१९ को रोकथाम र नियन्त्रणका लागि खटिएका कर्मचारीको निधन भएको हो ?

् – सुनसरीमा अनमीको दुर्घटनामा मृत्यु भयो भने नेपालगञ्जमा अहेवको अहिले मृत्यु भएको छ । उनीहरु यो विषम् परिस्थितिमा पनि कार्यालयको काममा निस्किँदा ज्यान गएको हो । सुरक्षाकर्मीको अवस्था पनि उस्तै छ । जोखिम मोलेर दिनराज नभनी स्वास्थ्यकर्मी जस्तै सुरक्षाकर्मी पनि काममा तल्लीन छन् । उनीहरु सबैको दुर्घटना बीमा गराउन अपरिहार्य छ । दुर्घटनामा परेका कर्मचारीको परिवारलाई क्षतिपूर्ती दिलाउन हामीले पहल गरिरहेका छौं । सबै कर्मचारीको जोखिम बिमा अनिवार्य छ । १ नं. प्रदेश सरकारले कोभिड १९ को उपचारमा खटिएका कर्मचारीको निधन भएको खण्डमा ५० लाख दिने र संघीय सरकारले २५ लाख रुपैयाँ दिने भनेको छ । यो स्वागतयोग्य काम हो । यसलाई हामीले सरकारको तर्पmबाट भएको राम्रो कामको स्वागत गरेका छौं ।

कार्यक्षेत्रमा खटिएका कर्मचारीलाई कोरोनाको संक्रमण भएको छ कि छैन ?

–अग्रपंक्तिमा खटिएका कर्मचारीलाई संक्रमण देखिएको छ । धनकुटामा कार्यरत् चार जना स्वास्थ्यकर्मी संक्रमित छन् । उनीहरु अहिले पनि उपचारमा छन् । अरुलाई स्वास्थ्य अवस्था परीक्षण गर्न बसेका कर्मचारी नै विरामी भएर उपचारमा रहनु सबै कर्मचारीको मनोबल घट्नु हो । तर, हामी कर्मचारीले मनोबल नघटाइ उच्च मनोबलका साथ काम गरिरहेका छौं ।

जोखिम न्यूनीकरणका लागि कस्ता उपाय अपनाउनु भएको छ ?

– कोरोना भाइरस आँखाले देख्न नसकिने भएकाले कसलाई भएको छ र कोबाट कतिखेर सर्ने हो ज्यादै जोखिम छ । यस्तो अवस्थामा पनि यसबाट बचेर हामीले काम गरिरहेका छौं । संक्रमित व्यक्तिले किताव छोयो, किताबबाटै, पैसा, झ्यालढोका, जे छोयो त्यहीबाटै यो भाइरस सर्छ भन्ने हल्ला फैलाइएको छ । तर, खोक्दा र हाच्यूँउ गर्र्दा यो भाइरस बढी सर्ने भएको हुँदा त्यसबाट बच्नका लागि माक्स र सेनिटाइजरको प्रयोग गर्न जरुरी छ । हामीले सबै कर्मचारीलाई कोरोना भाइरसबाट बच्ने उपायका विषयमा जानकारी गराएका पनि छौं । राष्ट्रसेवक हौं, डर र त्रास मानेर हुँदैन, हामीले उच्च मनोबलका साथ काम गर्नु नै पर्ने हुन्छ र सोही अनुसार काम गरिरहेका छौं ।

आगामी दिनका योजना के छन् ?

– सरकारले गरेका निर्णय अक्षरस पालना गर्नु हाम्रो कर्तव्य हुन जान्छ । कार्य सम्पादनमा हामीले कुनै कमी नराखी यो क्षणमा पनि काम गरिरहेका छौं । लकडाउनमा रहेका कर्मचारीहरुको निरन्तर सम्पर्क र सहकार्यको कारण देशैभर अत्यावश्यक सबै काम सहजै अहिलेसम्म गरिरहेको अवस्था छ । भोलिका दिनमा पनि सहजरुपमा कार्य सम्पादन गर्न हाम्रो दायित्व नै हो । सबैलाई कोरोना भाइरस कोभिड १९ बाट सजग र सचेत रहन आग्रह गर्दै आफूले लिएको जिम्मेवारी पूरा गर्न म सबै कर्मचारीहरुलाई आग्रह पनि गर्न चाहन्छु ।

                                                                          प्रस्तुति – सुरेन्द्र भण्डारी

इपेप पढ्न यहाँ क्लिक गर्नु होला ।

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/16-gate-jestha.pdf

 

1 COMMENT

  1. बधाई छ उपाध्यक्ष ज्यु अहिलेकाे covid19 अथवा काेराेना भाईसरकाे माहामारीले हरेक क्षेत्रमा अत्याधिक प्रभाबित पारीरहेकाे छ यस विषम परिस्थिति मा पनि राज्य काे तिनै तहका कर्मचारीहरुले अा ,अाफ्नाे ज्यानलाई जाेखिममा राखेर दिनरात खटिरहनु भएकाेछ यहि परिस्थिति लाई प्रष्ट रुपमा राखिदिनु भएकाेमा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here