विर्तामोड ,
कालो सुनको नामले परिचित अलैंची भारत निर्यात नभएपछि अलैंची उत्पादक किसान र व्यवसायी चिन्तित बनेका छन् ।
कृषिजन्य बस्तुमध्ये निर्यातमा सबैभन्दा अग्रपङ्तिमा रहेको अलैँची लकडाउनको कारण देखाउँदै भारतले निर्यातमा अवरोध गरेपछि अलैंची उत्पादक किसान र व्यवसायी चिन्तित बनेका हुन् ।
अलैंची भारत निर्यात नभएपछि अलैंची उत्पादक किसानले उत्पादन गरेको ४० प्रतिशत अलैंची व्यसायीसँग र किसानसँग १० प्रतिशत अलैँची स्टक रहेको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ । नेपाल अलैंची व्यसायी महासंघले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।
लकडाउनपछि पनि भारतबाट खाद्यान्न लगायतका सामग्री काँकडभिट्टास्थित मेची भन्सार नाकाबाट नियमित भित्रिरहे पनि भारतले लकडाउनको कारण देखाउँदै अलैँची निर्यातमा अवरोध गरेको नेपाल अलैँची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले बताए ।
भारतले विभिन्न बहाना वनाएर अलैँची निर्यातमा अवरोध गरेकोले ेस्याम्प्लिङका लागि पटना र कलकत्ता पठाउनुपर्ने अलैंची पठाउन नसकिएको उनले वताए ।
भारतबाट खाद्यान्न लगायतका सामग्री काँकडभिट्टास्थित मेची भन्सार नाकाबाट नियमित भित्रिरहे पनि पश्चिम बंगाल सरकारले खाली ट्रक पनि नपठाउनु भन्ने उर्दीपछि अलैंची पठाउन नसकिएको उनले बताए ।
नेपालमा उत्पादित अलैँची निर्यातमा भारतले अवरोध गरेपछि बैक तथा वित्तिय संस्थाबाट कर्जा लिएर कारोवार गरिरहेका अलैँची व्यवसायी समस्यामा परेको महासचिव भट्टराईले बताए । गोदाममा अलैंची थन्क्याएर बैंकमा चर्को ब्याज तिर्नुपर्दा व्यवसायी धराशायी भएको बताउँदै महासचिव भट्टराईले अलैँची व्यवसायीलाई राहत दिने गरी सरकारले व्याज छुटको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
अलैंची उत्पादक किसानका लागि तीनै तहका सरकारले मनोबल बढाउने गरी कृषि पुनर्उत्थानका आर्थिक कार्यक्रम र व्यवसायीका लागि कर्जामा ब्याज छुट गर्न उनले सरकारसंग माग समेत गरे ।
त्यस्तै अलैचीं व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले साउनदेखि अलैंचीको नयाँ उत्पादन सुरु हुने बताउँदै भारतले अलैची निर्यातमा अवरोध गरेकाले गोदाममा अलैँची थन्किएको बताए । आगामी दुई महिनामा नयाँ फसल बजारमा आउन लागेकाले यस्तै अवस्था रहे अलैँची व्यवसाय पूर्णरुपमा धरासायी हुने उनले बताए ।
किसान र व्यवसायीले आफ्नो गोदाममा भएको अलैँची रित्याउने समयमा भारतले अलैची निर्यातमा अवरोध गरेकाले अलैँची निर्यात नहुँदा अहिलेको बजार मूल्य पनि अनिश्चित बनेको उनले बताए ।
कलकत्तामा हुने मूल्यअनुसार नेपालको पनि अलैँचीको दैनिक मूल्य निर्धारण हुने गरेपनि अलैँची निर्यात नभएपछि नेपालमा पनि अलैँचीको मूल्य निर्धारण नगरीएको उनले बताए ।
उनले अलैंचीको न्यूनतम सर्मथन मूल्य तोकिदिन सरकारसंग माग गरेका छन् । सरकारले अलैंचीको न्यूनतम सर्मथन मूल्य तोकिदिए व्यवसायीले त्योभन्दा बढीमा अलैंची खरिद गर्ने जसले गर्दा अलैंची उत्पादक किसान उत्साहित हुने उनले बताए । नेपालमा कुल उत्पादनको दुई प्रतिशत मात्र अलैंची खपत हुने र बाँकी ९८ प्रतिशत अलैंची भारतबाट पाकिस्तान र कतार, युएई लगायतका खाडी मुलुकमा हुँदै आएको बताइएको छ ।