संक्रमणको जोखिम झन् बढ्यो: पूर्वी नाकाबाट सामान्य स्वास्थ्य जाँच बिनै सयौंका संख्यामा नेपाली भित्रिँदै

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

विर्तामोड ।

तस्वीर :अर्जुन कार्की ।

पूर्वी नाका कांकरभिट्टाबाट सामान्य स्वास्थ्य जाँच बिना नै नेपाली नागरिक भित्रने गरेको पाइएको छ । कोरोना संक्रमण फैलन नदिन भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसंगै केही दिन सिमामा कडाई गरेपनि अहिले दिनहुँ सयौंको संख्यामा नेपाली नागरिक समान्य स्वास्थ्य जाँच बिना नै नेपाल प्रवेश गरिरहेका छन् ।

शुरुका केही दिन पूर्वी नाका कांकरभिट्टामा थर्मलगनको प्रयोग गर्दै लाइन लगाएर तापक्रम नापिए पनि अहिले नेपाल प्रवेश गर्ने मानिसको सामन्य तापक्रम समेत परिक्षण हुँदैन । मेचीनगरपालिकाले जिल्ला प्रशासन कार्यालयसंग समन्व्य गर्दै कोरोना सहायता कक्ष स्थापना गरेपनि अहिले सो सहायता कक्ष देखाउनका लागि स्थापना गरे झैं भएको छ ।

सहायता कक्षमा कार्यरत एक कर्मचारीका अनुसार भारतबाट भित्र्ने नेपाली नागरिकको अहिले स्वास्थ्य जाँच गर्न छाडिएको छ । केहिदिन अघिसम्म सवारी चालक तथा सहचालकको स्वास्थ्य जाँच गरिदै आए पनि अहिले सो कार्यसमेत बन्द छ । अहिले भारतबाट आएका चालक तथा सहचालकको मात्रै स्वास्थ्य जाँच गर्ने गरेको बताइएको छ ।

उता प्रहरीले सीमामा कडाई नगर्दा खुलेआम नेपाली नागरिक भित्र्ने गरेको स्थानीयबासीको भनाई छ । कांकरभिट्टाबासी भन्छन्–हामी सचेत छौं तर, प्रहरीले प्रभावकारी काम नगर्दा कोरोनाको त्रास बढ्यो । स्थानीयका अनुसार दैनिक सयौंको संख्यामा नेपाली नागरिक भित्र्याउन प्रहरीकै हात छ । साँझ परेपछि प्रहरीले नेपालीलाई नेपाल भित्र्याउने गरेको छ । इलाका प्रहरी कार्याल कांकरभिट्टाका एक प्रहरी अधिकारीका अनुसार ब्यवस्थापन गर्न नसक्दा नेपाली नागरिकको सामान्य स्वास्थ्य जाँच समेत हुन नसकेको हो । उनका अनुसार पुलसम्म गाडी लिएर गयो, गाडीमा चडायो र सोझैं गन्तव्य पठाइन्छ ।
शुरुका केही दिन इलाका प्रहरी कार्यालय कांकरभिट्टा अघिसम्म हिडाउदै ल्याइए पनि स्थानीयले विरोध जनाएपछि पुलबाटै गाडीमा ल्याउन थालिएको हो–प्रहरी अधिकारीको भनाई छ ।

दैनिक नेपाली नागरिक सामान्य स्वास्थ्य जाँच बिना नै भित्र्नु र दक्षिणी सिमावर्ती क्षेत्रमा कडाई गरिनुले प्रहरीको काम गर्ने शैली प्रति नै सर्वसाधारण अनभिज्ञ छन् । दक्षिणी सिमावर्ती क्षेत्रमा नेपाली नागरिक भित्र्न नदिन भन्दै प्रहरी पाल टाँगेर सिमामा प्रहरी तैनाथ छन् तर, पूर्वी नाका कांकरभिट्टा आएका नेपालीलाई भित्र्याउन प्रहरीले नै सहयोग गरिरहेको स्थानीयको भनाई छ । यस विषयमा इलाका प्रहरी कार्यालय कांकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेललाई जिज्ञासा राख्न भेट्न खोज्दा भेट्न चाहेनन् ।

यसअघि जिल्ला समन्व्य समिति झापाले नेपाल भित्र्ने नेपालीलाई स्वास्थ्य परिक्षण गरेर मात्रै नेपाल भित्र्याउने र अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेपनि कार्यान्व्यन भएको छैन । अहिले प्रहरीले नै सीमामा अलपत्र परेका नेपालीसंग रकम उठाएर सोझैं जुन जिल्लाका हुन त्यहि जिल्लामा पठाउने गरेको एक प्रहरीले बताए । सामान्य स्वास्थ्य जाँच समेत नगरि सयौंको संख्यामा नेपाली भित्र्दा कोराना संक्रमणको जोखिम बढेको छ । लकडाउनभए यता मात्रै करिब दुई हजार पाँच सयभन्दा धेरै नेपाली नेपाल प्रवेश गरिसकेको प्रहरीले जनाएको छ ।

यसैबीच सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई काँकरभिट्टा नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले भारतबाट नेपालीलाई नेपाल प्रवेश गर्न २० वटा नाका तोकेको हो ।

समितिले तोकेको झापाको काँकरभिट्टासहित इलामको पशुपतिनगर, मोरङको रानीलगायत छन् । भारतबाट आएका नागरिकहरुको अनुगमन गर्न र क्वारेनटाइनमा राख्न सहजताका लागि निश्चित नाकाहरु तोकिएको समितिले जनाएको छ । भारतबाट नेपाल प्रवेश गर्न चाहने नागरिकलाई सुरक्षित रुपमा नेपाल प्रवेश गराउँदै सम्बन्धित पालिकाले क्वारेनटाइनमा राख्नका लागि यस्तो व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बताए ।

यसरी तोकिएको बाहेक स्थानबाट लुकिछिपी छिर्नेहरुको हकमा स्थानीय प्रशासन अनुसार कानुनी कारबाही हुने उनले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here