मेची अस्पतालको निर्माणाधीन भवनमै कोरोना अस्पताल बन्ने निश्चित, जनस्तरबाटै उठेको विवाद साम्य

0
1219

भद्रपुर।

भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा अस्थायी कोरोना उपचार अस्पताल बनाउने निर्णयप्रति जनस्तरबाट उठेको विवाद साम्य भएको छ ।

भद्रपुरमा गठित कोरोना अस्पताल नागरिक सरोकार समाजले मेची अस्पतालको निर्माणाधीन भवनमै कोरोना अस्पताल बनाउँदा डब्लुएचओले तोकेको मापदण्ड अनुसार बनाएमा कुनै आपत्ति नहुने बताएपछि जनस्तरबाट उठेको विवाद साम्य भएको हो ।

विवाद साम्य भएसँगै मेचीकै निर्माणाधीन भवनमा कोरोना अस्पताल बन्ने निश्चित भएको छ । मेची अस्पतालको निर्माणाधीन भवनमा समाजले आइतबार दिउँसो संक्षिप्त पत्रकार भेटघाट गर्दै अस्पताल वरिपरि संक्रमण फैलिने त्राससँगै मेची अस्पतालमा आउने विपन्न परिवार सेवा लिनबाट वञ्चित हुने निष्कर्ष निकाल्दै जनस्तरबाटै आवाज उठेको प्रस्टाए । तर, जनस्तरबाटै उठेको आवाजलाई राजनीतिकरण गरेर गठित समाजप्रति आरोप लगाउन कामले हामीलाई दुखी तुल्याएको समाजका संयोजक भक्त खवासले बताए ।

जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण समितिले सर्वपक्षीय छलफलबाटै मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसीआर परीक्षणको प्रयोगशाला बनाउन निर्णय गरेको थियो । उक्त समितिले स्थानीयस्तरमा छलफल नगरी एकलौटी ढङ्गले निर्णय गरेपछि अस्पताल आसपासका स्थानीयले त्यसको विरोध गरेका थिए । विरोध गर्दै स्थानीयको एक भेलाले समाज गठन गरेका थिए ।

समाजले भद्रपुरमै कोरोना अस्पताल बनाउनु बाहेक अन्य विकल्प नरहेको बताउँदै संयोजक खवासले भने, ‘मेचीको निर्माणाधीन भवनबाहेक अन्य उपयुक्त स्थानमा बनाउनु पर्छ भनी जनस्तरबाट उठेको आवाजलाई सम्बोधन गरेको मात्र हो, तर, हामीले उठाएको आवाजलाई राजनीतिकरण गर्‍यो । त्यस्तो गर्नुहुँदैन थियो । जिल्ला समितिले निर्णय गरेकै ठाउँमै तोकिएको मापदण्ड अनुसार अब चाँडो भन्दा चाँडो कोरोना अस्पताल बन्नु पर्छ ।’ त्यस्तै भद्रपुरका पूर्व मेयर भारततेन्दु कुमार मल्लिकले निर्माणाधीन भवन भन्दा अन्य विकल्प खोज्दा राम्रो हुन्थ्यो ।

‘अहिले बन्दै गरेको अस्पतालको भवनमा कोरोना अस्पताल बनाउने निर्णय के आधारमा गरेको हो, त्यसले कहिलेसम्म पूर्णता पाउँछ, हेर्न बाँकी नै छ, उनले भने ।’ ‘कोरोना अस्पताल झापावासीका लागि आवश्यक छ, यो भद्रपुरमै बन्नुपर्छ,’ उनले भने, ‘तर कोरोना अस्पतालको कारण मेची अस्पतालमा सेवा लिन आउने विपन्न परिवार वञ्चित हुनु हुँदैन ।’ त्यस्तै ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले अधुरो भवनमा कोरोना अस्पताल बनाउँदा वरिपरि संक्रमण फैलिने सम्भावना देखेर नै जनस्तरबाटै आवाज उठेको हो । तर, काँग्रेसले विरोध गरेको भन्दै व्यापक आलोचना गरियो, यसलाई राजनीतिकसँग जोड्नु भन्दा पनि संवाद र छलफलबाटै टुङ्गाउनु पर्र्थो, उनले भने । जिल्लामा कोरोना संक्रमणको सख्या बढ्दो क्रममा रहेकोले भोलिबाटै कोरोना अस्पताल बनाउनुमा सबै लाग्नु पर्ने उनले बताए ।

त्यस्तै ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा, मेची अस्पतालका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारी, डा। पृथ्वीविक्रम राई, तोयानाथ गडतौला लगायतले कोरोना अस्पतालको नाममा विपन्न परिवारलाई सरकारी सेवा लिनुबाट वञ्चित पार्नु हुँदैन । संक्रमण फैलिन नदिन आवश्यक जनशक्ति र थप पूर्वाधार निर्माण गरिनुपर्छ । साथै कोरोना अस्पताल बनाउँदा हाल निर्माण भइरहेको काम पनि रोकिनु हुँदैन, उनीहरू भन्छन् ।

हाल जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १११ पुगेको छ । उनीहरूलाई उपचारका लागि धरान र विराटनगर लगिएको छ । त्यहाँ पनि उपचारका लागि बेड नहुँदा थप समस्या भइरहेको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको र उपचारमा समस्या भइरहेकोले भद्रपुरमै कोरोना अस्पताल बन्दा यहाँका सङ्क्रमितलाई राहत पुग्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here