लघुकथा – म निराजन

0
1007

तुलसीराम खरेल,

हो त्यो कलेजको होस्टलवाट म आएँ। घरमा सबै आनन्दमा रमाएका थिए।पारिवारिक जमघटले सुखद अनुभुति दिएको थियो।राज परिवारमा अनुसाशन र कर्तब्यको कुरो निकै कडाइको साथ खोजिन्छ। चाहेको बेला आमा बा र काकाहरुसंग भेट गर्नै गाह्रो।दरवार भित्रको मर्यादाले कहिलेकहीँ लाग्थ्यो स्वतन्त्रतानै लुटिएको छ। साथीभाइसंग पहाडको टुप्पामा चढेर रमाउने, स्वतन्त्र रुपले तराइको फाँटमा हराउने सपना सपनानै भैदिने।स्कुलमा सबैले राजाको परिवारको भन्ने । न जिस्किननै मिल्यो न छिल्लीन नै।

त्यो दिन खुसी थिएँ। काका काकी ,दाजु दिदी, बुवा आमा सबैलाई देख्दा दङ्गै परेँ। आमाले कपाल मुसारिन, बुवाले गाला सुम्सुम्याए। दिदीले चुम्बन गरिन । दाजुले धाप मारे।काकीले त काखमै राखिन। उमेरले छिप्पीसकेको म निराजन दुधे बालकको उमेरमा फर्किएझैँ भयो।सबै खानेकुराहरु तयारी छन्। यता उता धेरै खाले परिकारहरु।एक गिलास सादा पानी पिएँ।आकास खुल्ला थियो। जेठको साँझ खुला उत्तरतिरको आकासमा सप्तऋषि तारा मण्डल प्रष्टै देखिन्थे। एउटा कालो बादलले सातवटा चहकिला तारा र छेउको कुनामा रहेको ध्रुव तारालाइ छेलिदियो। मैले आकासमा लत्रेका आँखालाइ आमाको सारीको आँचलमा फर्काएँ मलाइ किनकिन आमाको काखमा बस्न मन लाग्यो।

एकै छिनमा गोली चलेको आवाज आयो। सबै यताउता दगुरे। बुवा महाराजका अंगरक्षकले गोली चलाउनै सकेनन्। बुवा रगतको पोखरीमै डुवेको देखेँ।वहाँको गलामा साइवावाको फोटो भएको लकेट टल्किरहेको थियो। अनि कोटको खल्ती माथि हजुरवा महेन्द्रले भनेको वाक्य म मरेपनि मेरो देश बाँचि रहोस लेखेको सानो सुनौलो स्टिकर पनि देखेँ।आमालाइ लखेट्दै चउरमा मारियो। दाइ लडेर रुँदै गरेको छेउमा फुपुहरुपनि ढलेका थिए।त्यसपछी म मारीएँ। आज म देशको हालत देख्दै छु।आज बग्रेल्ती फोटाहरु मेरो बुवा र हाम्रो परिवारको देख्दैछु फैसबुकका भित्ताहरुमा।हो म आज आएको छु मेरो प्यारो देशमा बटुवा बनेर। हो म निराजन ।

(राजपरिवार हत्याकाण्ड समृतिमा जेष्ठ उन्नाइस गते)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here