बढी मुल्य लिने बिर्तामोडको पसल सिल

0
2195

बिर्तामोड।

लकडाउनको मौका छोपेर मुल्य वृद्धि भएको पाइएपछि प्रशासनले झापाको बिर्तामोडस्थित एक पसल सिल गरेको छ । बिर्तामोड–५ स्थित हिकोला रोडमा रहेको पशुपती ट्रेडिङ सेन्टरले सुर्तीजन्य पदार्थको बिक्रीमा अत्याधिक मुल्य असुलेको पाइएपछि प्रशासन र घरेलु कार्यालय झापाको टोलीले पसल सिल गरेको हो ।

स्थानीय उपभोक्ताबाट प्रति बन्डल २ हजार ४ सय ९५ रुपैयाँ पर्ने सूर्य चुरोटलाई २ हजार ७ सय र १ हजार ७ सय ५० पर्ने खुकुरी चुरोटलाई २ हजार १ सय रुपैयाँ असुलेको पाइएपछि उपभोक्ताले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गरेका थिए । त्यस लगत्तै बिर्तामोडका डिएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वको प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालय झापासँगको समन्वयमा सो पसलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा टोलीले चुरोटको मुल्य बढी असुलेको पाइएको छ । त्यस्तै, खरिदकर्तालाई बील समेत नदिने गरेको भेटिएको छ । साथै प्रतिबन्धित भारतीय रजनीगन्धा ठुलो परिमाणमा फेला परेपछि आवश्यक कारवाही प्रक्रियाका लागि तत्काल पसल शिल गरिएको घरेलु कार्यालय झापाका निमिक्त प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।

उनले पसल सञ्चालक मोहन अधिकारीलाई समेत मंगलबार आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको बताए । पसल सञ्चालक अधिकारीले समेत सम्बन्धित डिलरले चुरोट नदिएकाले कालोबजारी गर्ने सँग खरिद गरी बिक्री गर्नुपरेकोले साबिकको भन्दा महंगो परेको स्वीकार गरेका छन् ।

झापामा पछिल्लो समय लकडाउनको मौका छोपेर कालोबाजारी गर्ने र बढी मुल्य लिएर सामाग्री बिक्री गर्ने क्रम बढेको छ । बिशेषगरी दैनिक उपभोग्य, खाद्य सामाग्री र सुर्तीजन्य पदार्थमा व्यापक मुल्यवृद्धि र कालोबजारी भइरहेको उपभोक्ताको गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here