कारोबारीमाथि भद्रपुर भन्सारले सुरु गर्‍यो अनुसन्धान

0
1229

सशस्त्र प्रहरीको सेटिङमा सुर्तीजन्य पदार्थ र रजनीगन्धा तस्करी प्रकरण 

भद्रपुर ।

नेपालमा प्रतिबन्धित भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र रगनीगंन्धासहित नियन्त्रणमा लिएका भद्रपुरका एक कारोबारीमाथि अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त प्रहरी टोलीले बिहीबार भद्रपुर ५ बस्ने अशोक सहनीको गोदामबाट सुर्तीजन्य पदार्थ र रजनीगन्धा बरामद गरेको थियो ।

सुर्तीजन्य पदार्थ र रजनीगन्धा खोज्दै प्रहरी टोलीले गोदाममा छापा मार्दा बिलबिजक नभएको पाँच पोका कपडा समेत बरामद गरेका थियो । सहनीलाई समेत नियन्त्रणमा लिएका प्रहरीले शुक्रवार सुर्तीजन्य पदार्थ, रजनीगन्धा र कपडा भद्रपुर भन्सार कार्यालय बुझाएको छ । प्रहरीले कारोबारी सहनीसहित ४ लाख २७ हजार मूल्य तोकेर सामान बुझाएको भद्रपुर भन्सारका कर्मचारी विकास दाहालले जानकारी दिए ।

यता भन्सारले सामानको विषयमा सहनीमाथि छानबिन सुरु गरेको छ । सहनीमाथि दुई वटा मुद्दामा अनुसन्धान भइरहेको कर्मचारी दाहालले बताए । प्रतिबन्धित भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र रगनीगंन्धाको एउटा मुद्दा र अवैध कपडाको अर्को मुद्दा दर्ता गराई अनुसन्धान भइरहेको छ । कारोबारी सहनीसँग बयान लिने काम भइरहेको उनले बताए । बयानपछि धरौटीमा रकम तोकिनेछ । सामान बराबरको ४ लाख २७ हजार धरौटी बुझाए मात्र उनलाई छाडिने भन्सारको कानुन रहेको बताइएको छ ।

घटना विवरण अनुसार भद्रपुर ५ स्थित देवीवस्ती नाकाबाट कारोबारी सहनीले सशस्त्र प्रहरीलाई पोकाको एक हजार दिएर प्रतिबन्धित सुर्तीजन्य पदार्थ र रजनीगन्धा तस्करीको माध्यमबाट भित्राएर झापामा बिक्री वितरण गरिरहेको उनले दिएको बयानबाट खुलेको छ । लकडाउनमा पनि सशस्त्र प्रहरीको सेटिङमा झापामा तस्करी भइरहेको सञ्चारमाध्यममा समाचार बाहिरिएपछि सशस्त्र प्रहरी बल २ नम्बर गण झापामा तरङ्ग फैलिएको प्रहरी स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here