लक्ष्मीपुर ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मपिुर सेवा केन्द्रले व्यवसायीक बाख्रापालक ३५ जना सदस्यलाई निःशुल्क घाँसको विउ उपलब्ध गराएको छ ।
झापामा सामाजिक कार्यमा अग्रस्थानमा रहेको संस्थाले शनिवार लक्ष्मीपुरमा बाख्रापालक कृषकलाई २ केजीका दरले ‘टियोसेन्टी’ घाँसको विउ दिएको हो । लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति सदस्य टोमकुमारी ओझाको अध्यक्षतामा विउ वितरण भएको थियो ।
संस्थाका पशुचिकित्सक कमलेश्वर भाटले वर्षायाममा उत्पादन गर्ने घाँसका विषयमा जानकारी दिएका थिए । उनले बाख्रामा लाग्ने रोग र रोकथामका उपाय समेत बताएका थिए । उनले संस्थाले झापाका २० वटा सेवा केन्द्र मार्फत करिव ४ सयजनालाई सुडान दुईसय केजी र टियोसेन्टी छसय केजी गरी आठसय केजी घाँसको विउ निःशुल्क वितरण गर्ने जानकारी दिए । उनले कृषकलाई संस्थाको पेजमा गएर समेत कृषि तथा पशुपालनका विषयमा जानकारी लिन सकिने बताएका थिए ।

१० वटा माउबाख्रा पाल्न ६ कठ्ठा जग्गा चाहिने र संस्थाले ३ कठ्ठाका लागि मात्र विउ उपलब्ध गराउने संस्थाका लक्ष्मीपुर सेवा केन्द्र प्रमुख उमेश भारतीले जानकारी दिए । अरु ३ कठ्काका लागि आफै घाँसको विउ खरिद गर्नुपर्ने उनले बताए ।
त्यसैगरी संस्थाको लक्ष्मीपुर सेवा केन्द्रबाट ६५ जनालाई अर्गानिक वेमौसमी तरकारी उत्पादनका लागि टनेल, प्लाष्ट्रिक, वास, विउ विरुवा उपलब्ध गराउने उनले बताए । उनले तीनसय जना मध्ये २ सयलाई यसअघि नै दिएको बताउदै एकसय जनालाई टनेल, प्लाष्ट्रिक, वास, विउ विरुवा उपलब्ध गराउने कार्यक्रम अन्र्तगत लक्ष्मीपुर सेवा केन्द्रमा ६५ जनालाई वितरण गरिने बताए ।
लक्ष्मीपुर सेवा केन्द्रले लकडाउन अघि ३५ जनालाई बाख्रापालन सम्बन्धी तालिम समेत दिइसकेको कर्मचारी खगेन्द्र निरौलाले बताए । कार्यक्रमको सञ्चालन संस्थाका कृषि प्राविधिक लक्ष्मी भण्डारीले गरेका थिए ।






























