‘ रिपोर्ट नआउञ्जेल भगवान् सम्झिएर बस्छौँ ’

0
901

 

झापा,

कोरोना सङ्कटमा सबैभन्दा बढी जोखिम लिएर अग्रभागमा खट्नेमा स्वास्थ्यकर्मीहरु पर्दछन् । हुनत मन्दिर, मस्जिद, चर्च सबै बन्द भएको अहिलेको अवस्थामा विश्वका कतिपय स्थानमा चिकित्सकहरुलाई नै ‘भगवान्’ को सङ्ज्ञा दिएको समाचार पनि सुनिन्छ । तर कोरोना सङ्कटविरुद्धको नेपालको अहिलेको लडाइँमा चिकित्सकहरु अघि देखिए पनि उनीहरुसँगै रहने नर्स, ल्याबमा कार्यरत अरु स्वास्थ्यकर्मीको भूमिका पनि कम छैन ।

यो तस्वीर प्रतिनिधि तस्बीर मात्र हो ।

अझ सबैभन्दा बढी त प्रयोगशालामा रातदिन खटिरहेका ल्याव टेक्निसियनहरुको भूमिका रहन्छ । कोरोना सङ्क्रमण भए नभएको जानकारीका लागि गरिने परीक्षणको स्वाब सङ्कलनदेखि रिपोर्ट आउने दिनसम्म प्रत्यक्ष संलग्न रहन्छन् उनीहरु । यस कार्यमा धौलागिरि अस्पतालका १२ र स्वास्थ्य कार्यालयका एक गरी १३ जना ल्याब टेक्निसियन निरन्तर खटिएका छन् । अहिले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाका ल्याव टेक्निसियनसमेत स्वाब सङ्कलन तथा आरडिटी परीक्षणको काममा खटिएका छन् ।

उनीहरु कोरोना भाइरस सङ्क्रमणको अहिलेको अवस्थामा बागलुङ जिल्लाभर स्वाब सङ्कलनको काममा रातदिन खिटिरहेका छन् । विश्वव्यापीरुपमा फैलिरहेको यो महामारीको यस अवस्थामा कार्यरत उनीहरुले कोरोना रिपोर्ट नआउन्जेलसम्म भगवान् सम्झेर बस्ने गरेको अनुभव सुनाउँछन् ।

स्वाब सङ्कलनमा हिँडेको स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मीको पेशागत दायित्वदेखि जीवन सुरक्षासम्मको अनुभूति सङ्गाल्ने मौकासमेत आएको स्वास्थ्यर्कीको प्रतिक्रिया छ । बागलुङमा चैत दोस्रो साता नै कोरोना सङ्क्रमण देखिएकाले बागलुङ शुरुदेखि नै चर्चामा रहँदै आएको हो । दुईजनालाई सङ्क्रमण मुक्त बनाएर घर पठाएको बागलुङस्थित धौलागिरि अस्पताल सबैको प्रशंसाको पात्रसमेत बनेको छ । आइतबारसम्म धौलागिरि अस्पतालमा १७ सङ्क्रमितले उपचार गराइरहेका छन् भने सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।

बागलुङमा पाँचौँ र छैटौँ सङ्क्रमित देखिएपछि चैतबाटै बागलुङका चिकित्सक एवं स्वास्थ्यकर्मीहरु अहोरात्र स्वास्थ्य सेवामा खटिनु परेको थियो । स्वास्थ्यकर्मीले पर्याप्त स्वास्थ्य सुरक्षाको अभाव तथा विभिन्न समस्याका बाबजुतसमेत स्वाब सङ्कलनमा खटिरहेको अनुभव सुनाउँछन् । पिपिइ लगाएरै स्वाब सङ्कलन गरे पनि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार सुरक्षित भएर स्वाब सङ्कलन गर्न नसक्दा यसको रिपोर्र्ट नआउन्जेल ढुक्क हुने अवस्था नरहेको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन अफिसर डिल्लीप्रसाद आचार्यले बताउनुभयो ।

“गाउँमा जाँदा अनेकौँ समस्या हुन्छ, कहिले सुरक्षा सामग्रीसमेत पर्याप्त हुँदैन” आचार्यले भन्नुभयो, “रातको १ बजेसम्म स्वाब सङ्कलन गरेको अनुभाव छ, कतिपय स्थानमा खाना नपाएर भोकभोकै पनि काम ग¥यौँ ।” आचार्यका अनुसार स्वाब सङ्कलनमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा जाँदा खान, बस्नको निकै समस्या हुने गरेको छ । कोरोनाको डर हुने भएकाले जहाँ जसले जे दियो त्यही खान पनि नसकिएका कारण भोकभोकैसमेत हिँडिएको अनुभव आचार्यको छ । कोरोनाको कन्ट्र्याक्ट ट्रेसिङका आधारमा र क्वारेन्टिनमा बस्दै आएकाको स्वाब सङ्कलनमा गाउँ गएर आएपछि रिपोर्ट नआउन्जेलसम्म अप्ठेरो महसुस भइरहने र आफू पनि सङ्क्रमित भइने डर लाग्ने आचार्यको अनुभव रहेको छ । आफ्नोभन्दा परिवारलाई सर्न सक्ने भएकाले परिवारको सम्पर्कबाट समेत टाढा रहेको उहाँ बताउनुहुन्छ ।

निकै तनावका बीच कोरोना परीक्षणमा खटिएको धौलागिरि अस्पताल बागलुङका ल्याब प्रमुख सुरज बरालले बताउनुभयो । जिल्लाका प्रत्येक स्थानीय तहको क्वारेन्टिनमा गएर आशङ्का गरिएका व्यक्तिको स्वाब सङ्कलन तथा आरडिटी परीक्षणमा खटिएको बरालको भनाइ छ ।

कन्ट्र्याक्ट ट्रेसिङका आधारमा जसलाई पनि कोरोना परीक्षण गर्नुपर्ने हुन्छ । “सुरक्षा त अपनाएकै हुन्छौँ”, बरालले भन्नुभयो, “मनमा भने कोरोना सर्छ कि भन्ने लाग्छ, आफूले सङ्कलन गरेको सबै स्वाब रिपोर्ट नेगेटिभ आए हुन्थ्यो भन्ने लाग्छ”, आफूहरुले पनि बेला बेलामा आरडिटी र पिसिआर गर्दै आए पनि नयाँ सङ्क्रमण थपिँदै गएका कारण मनमा केही भय पैदा भइरहेने उहाँको अनुभव रहेको छ ।

“बन्दाबन्दीले गर्दा सबै ठाउँ बन्द छन्, गाउँ गाउँमा जाँदा खाजा, पानी पनि पाइँदैन, सुरक्षा सामग्री अझै पनि पर्याप्त छैन”, बरालले भन्नुभयो । सुरक्षा सामग्रीको बारेमा जानकारी गराउने समयमा जुन जुन सामग्रीको जानकारी गराइयो त्यो सबै प्रयोगमा ल्याउन नसकेको भन्दै बरालले सानो गल्तीका कारण ठूलो दुर्घटना हुनसक्नेप्रति सचेत भए पनि ढुक्क हुने अवस्था नआएको बताउनुभयो ।

“स्वाब सङ्कलन गरेर फर्किएपछि त्यसको रिपोर्ट नआउने समयसम्म भगवान् सम्झेर बस्ने गरेको छु । डर लाग्छ, लागे पनि काम गर्नै पर्ने बाध्यता छ । कोरोनाका विरुद्धमा विश्व लडिरहेको छ, हामीहरुले काम गर्दैनौँ भन्न त मिल्दै मिलेन”, बरालले अनुभव सुनाउनुभयो ।

स्वाब सङ्कलन गरेकाको पोजेटिभ रिपोर्ट आउदा आफूलाई निकै डरको अनुभव हुने उहाँको भनाइ रहेको छ । स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गर्ने, परीक्षण गर्ने र रिपोर्ट पेश गरेर मात्र हुँदैन र सबै सचेत हुनुपर्छ । सामाजिक दूरी कायम गर्नुपर्छ । दुई चारजना ल्याबका साथीहरुले मात्र जिल्लाभरको स्वाब सङ्कलन गर्न सम्भव हँुदैन भनेर प्रदेशसँग सहकार्य गरेर अन्यलाई समेत तालिम दिन थालेपछि केही सहज बनेको छ ।

बागलुङमा कोरोना सङ्क्रमित भेटिएपछिका शुरुवाती दिन निकै कष्टप्रद भएको भए पनि विस्तारै बानी पर्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । आफू संलग्न भएर स्वाब परीक्षण गरिएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि हुनु उहाँहरुका लागि मात्र नभएर हाम्रा लागि पनि समस्या भएको धौलागिरि अस्पतालका अर्का ल्याब टेक्निसियन शोभित शर्माले अनुभव व्यक्त गर्नुभयो ।

“युट्युब हेरेर कोरोनाका विषयमा र सुरक्षा सतर्कताका विषयमा जानकारी प्राप्त गरेको थिएँ”, शर्माले भन्नुभयो, “विस्तारै यसको बारेमा जानकारी लिन थालेपछि आत्मविश्वास बढ्दै गायो, काम गर्दागर्दै अहिले त सामान्य नै लाग्न थालेको छ ।” स्वाब सङ्कलन गरेर फर्केपछि उहाँहरुको रिपोर्ट कस्तो आउँछ भनेर मनमा ढुकढुक भने हुँदै आएको र आफूले सङ्कलन गरेको स्वाबमा कोरोना पोजेटिभ देखिएमा आफूलाई पनि कोरोना भाइरसले छोयो कि भन्ने आशङ्का पैदा हुने उहाँको अनुभव छ ।

सुरक्षा सामग्री लगाएर काम गर्दै आए पनि प्रयोग गर्ने विधिमा ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव रहेको छ । बाह्रजना ल्याब टेक्निसियनले कोभिड–१९ को परीक्षणका लागि स्वाब सङ्कलन मात्र होइन, अस्पतालमा आउने बिरामीको अन्य परीक्षण पनि गर्दा समय व्यवस्थापनमा भने चुनौती हुने गरेको छ । बाहिरबाट आउनेहरुलाई समयमै नियन्त्रणमा राख्ने र परीक्षणको दायरा बढाएर समुदायमा फैलन नदिने हो भने कोरोना जोखिम कम हुँदै जाने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।

नयाँ रोग भएका कारण सिकाइको अनुभवसमेत बटुल्न पाइएको शर्माले बताउनुभयो । विषम परिस्थितिमा देशका लागि र आफ्ना ठाउँका लागि काम गर्न पाउँदा खुशीको समेत अनुभव भइरहेको उहाँहरु बताउनुहुन्छ ।

कोरोनामात्र होइन सबै प्रकारका परीक्षणमा ल्याबमा काम गर्नेहरु सबैभन्दा नजिक भएका कारण बढी जोखिम हुने भएका कारण सतर्कता अपनाएर काममा खटिएको ल्याब टेक्निसियन अम्बिका बस्नेतले जानकारी दिनुभयो । “प्रत्यक्ष संलग्न हुनुपर्ने भएकाले सामान्य डर नै भयो”, बस्नेतले भन्नुभयो, “पैसाभन्दा पनि ठूलो त मान्छेको ज्यान हो, अरुको ज्यान बचाउनका लागि आफ्नो ज्यान जोखिममा राखेर अग्रभागमा खटिएकै छौँ ।”

स्वास्थ्यकर्मीप्रतिको सर्वसाधारणको दृष्टिकोण सकारात्मक हुन भने नसकेको बस्नेतको गुनासो रहेको छ । एउटा व्यक्तिले एकै दिनमा २० जनाभन्दा बढीको स्वाब पनि सङ्कलन गर्दा शारीरिकरुपमा मात्र होइन, मानसिकरुपमा पनि दबाब हुने गरेको छ । गाउँमा पुगेर काम गर्दा पिउने पानी, खाने खाजाको मात्र होइन, शौचालयको पनि समस्या हुने गरेको उहाँको अनुभव छ । यो समयमा ल्याबमा काम गर्नेहरुले बिरामी हुँदासमेत आराम गर्न नपाएको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मीले उच्च सतर्कता अपनाउन नसक्ने हो भने भोलि सबै स्वास्थ्यकर्मी सङ्क्रमित हुने र सर्वसाधारणले उपचार नपाउने अवस्था पनि आउन सक्छ । यसतर्फ बेलैमा सोच्न जरुरी रहेको बस्नेतको भनाइ रहेको छ ।

बागलुङ जिल्लामा हाल सम्म ९३९ पिसिआर र एक हजार ३६७ आरडिटी परीक्षण भइसकेको छ । हाल यस जिल्लाका मात्र २९ जनाको कोरोना पोजेटिभ आइसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here