अल्पद्रष्टा बुद्धिजीवीको स्वतन्त्रता र स्वनियमनको व्यथा

1
1014

तीर्थराज खरेल,

बौद्धिक श्रममा जिउने कर्मीहरु नै बुद्धिजीवी हुन् । उनीहरु वास्तवमा मजदुर नै हुन् तथापि उनीहरु आफूलाई मजदुर भन्न रुचाउँदैनन् । विशेषतः बौद्धिक श्रममा जिउने, मुलुक र जनताको हितमा चिन्तनमनन गरी मुलुकलाई नवीन गोरेटातिर डोर्याउन दिशा निर्देशन गर्ने बुद्धिजीवीहरु श्रमिकवर्गको स्वर प्रबल र प्रधान हुनुपर्नेमा विश्वास राख्छन्, किनभने उनीहरु आफै श्रमजीवी नै हुन् । बहुमुखी प्रतिभा–सम्पन्न विचारकहरु बुद्धिजीवी माझबाटै जन्मछन् । धर्म, दर्शन, साहित्य, इतिहास, राजनीति आदिको अध्ययन र अनुसन्धान गर्दै विगत र वर्तमानको गहिरो विश्लेषणका आधारमा आगतको सुन्दर संसारको रुपरेखा कोर्ने काम मुख्यतः बुद्धिजीवीकै हो ।

हाम्रा दुःखकष्ट, आर्थिक, सामाजिक, राजनीतिक समस्या सृजनाका लागि सबैभन्दा घातक प्रवृत्ति दास मनोवृत्ति नै हो । २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछिकै कुरा गरौं । प्रजातन्त्र, समाजवाद, राष्ट्रियता लगायतका क्षेत्रमा हाम्रा अल्प दृष्टि र संकीर्ण सोचहरु डरलाग्दा समस्याहरु हुन् । प्रजातन्त्र सबै थोक हो भनेर हामी धेरै दशक बाँच्यौं । प्रजातन्त्र सापेक्ष हुन्छ र आलोच्य पनि हुन्छ भन्नेलाई प्रजातन्त्रविरोधी भन्यौं । आवधिक निर्वाचन मात्र प्रजातन्त्र हो भन्ने परिभाषाको प्यालाको रक्सी पिएर हामी निकै ठूला प्रजातन्त्रवादी भएका छौं । यतिबेला समाजवादको धङ्धङी शुरु भएको छ । नेपालको संविधान २०७२ मा पनि नेपाल समाजवादउन्मुख राज्यप्रणाली भएको बुझाइ र आग्रह हामीले लेख्यौं । समाजवादको संकथनको पृष्ठभूमि, प्राक्कथन, प्रस्थापना, भाष्य र प्रारुपका सम्बन्धमा चिन्तन कसले गर्ने हो ? केही बुद्धिजीवीहरु विद्यालय, महाविद्यालय र विश्वविद्यालयका समयबद्ध कार्यतालिकाभित्र आफ्नो सर्वश्व देख्छन् । उनीहरु आफूलाई बनिबनाउ पाठ्यक्रमको केबल व्याख्याकार मान्छन् र त्यसमा अल्पविराम र अर्धविराम तलमाथि पर्छ कि भनी बहुत चिन्तित हुन्छन् ।

बजेट भाषण पढिने १ महिना अघिदेखि सुविधावृद्धिको आंकलन गर्छन् र बजेट भाषण सकिएको १ महिनापछिसम्म त्यसकै चर्चामा केन्द्रित हुन्छन् । नेपालको कर्मचारीतन्त्रमा पनि बुद्धिजीवीहरुको ठूलो पकड छ । यो तप्का सरकारको मेशनरी तप्का हो, यो सोच्ने, आविष्कार गर्ने र अनुसन्धान गर्नेमा भन्दा पनि अह्राएको काम गर्नेमा बढी विश्वास गर्छ । उनीहरु विश्वास गर्छन्–दिएको काम गर्ने हो कर्मचारीतन्त्रले । यो तप्काभित्रका केही बुद्धिजीवीहरु राजनीतिक नेतृत्वलाई बाटो देखाउने कोशिस पनि गर्छन्, तर उनीहरुको स्वर धीमा हुन्छ, भूमिका गौण हुन्छ र विभेदको व्यूहचक्रममा पर्ने गरेका छन् । अर्को महत्वपूर्ण बौद्धिक तप्का सञ्चारक्षेत्रमा पनि छ । सञ्चारक्षेत्रमा रहेका बुद्धिजीवीहरुलाई दिनदिनै घटिरहेका घटना, औपचारिक सभासम्मेलन, ब्युटिपार्लर उद्घाटन, सिंगडे तालिम र संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार र नेताहरुको सवारी र मन्तव्यका समाचार बनाउँनै भ्याइनभ्याइ छ । चिकित्सा, इञ्जिनियरिङ लगायतका प्राविधिक क्षेत्रमा रहेका बुद्धिजीवीहरु प्रतिभा पलायनको सबैभन्दा बढी शिकार हुने गरेका छन् । ज्ञानआर्जनका क्रममा बढी लगानी भएबाट उनीहरु नवप्रवर्तन र आविष्कारलाई भन्दा पनि पैसाआर्जनलाई बढी प्राथमिकता दिन्छन् । राष्ट्रियताका सबालमा उच्चकोटिको विचार जागृतिको विचार हो, तर त्यही विचार अन्धराष्ट्रवादी सोचमा परिणत भएका अनगिन्ति उदाहरणहरु छन् । हरेक कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझैं यिनै प्रतिकूलता, वैषम्य र उबडखाबडका वीच मुलक र मुलुकवासीको हितमा साँचो अर्थमा आफ्नो जीवन अर्पण गर्ने बुद्धिजीवीहरु पनि यो मुलुकमा जन्मेका छन् ।

सभा र गोष्ठीहरुमा क्रान्तिकारी तथा आदर्शवादी व्याख्यान गरेर र हिजो आफ्नै गाउँबस्ती, झुपडी र बुकुराहरुमा चप्पल लगाएर भूमिगत जीवन बिताएका र आज सरकारको बागडोर सम्हालेका नेताहरुप्रति फेसबुक र ट्वीटरमार्फत सत्तोसराप गर्दै महासंग्रामको घोषणा गर्दैमा बुद्धिजीवीको भूमिका पुरा हुन्छ ? प्रज्ञाप्रतिष्ठानको कुर्सीमा पुगेपछि मात्र प्रज्ञावान हुने भ्रम पल्पिएको मुलुकका तथाकथित ‘भाग्यहन्ता बुद्धिजीवीहरु’ अल्पद्रष्टा बुद्धिजीवीहरु हुन् । सत्ताको नौनीको अंशको आशमा बस्ने, आशा पुरा नहुँदा ‘क्रान्तिको अपूर्णता’ को राग अलाप्दै क्रान्तिको रातो घाम आफ्नै वरिपरि मात्र घुम्न सक्ने भ्रमको खेती गर्ने बुद्धिजीवीहरु क्रान्तिकारी लफ्फाजीको जडसूत्रमा जकडिएर जनविरोधी कित्तामा उभिएर स्वतन्त्रताको गीत गाउन मन पराउने उनीहरुको धर्म हो । यी तथाकिथत स्वतन्त्रताप्रेमी बुद्धिजीवीहरुको मुख्य काम विरोध हो । यिनीहरु प्रतिकृयात्मक हुन्छन् र सत्ता–सरकारका गल्ती र कमजोरी मात्र देख्छन् । उनीहरुको खल्तीमा कुनै न कुनै छाप भएको दसीप्रमाणको कागत हुन्छ । यिनीहरु समाजमा भइरहेका असल पक्षलाई कमै देख्छन् । दृष्टिदोष यिनीहरुको कमजोरी हो । यिनीहरुको सूर्य विरोध र नकारात्मकताको क्षितिजमा उदाउँछ र ननिदाउञ्जेलसम्म पनि यिनीहरु विरोध नै लेख्छन्, विरोध नै बोल्छन् ।

साँच्चै भन्ने हो भने यिनीहरु सपनामा पनि विरोध नै बोलिरहेका हुँदाहुन् । सामाजिक सञ्जालमा टुप्लुकिएका अप्रमाणित उडन्ते सूचनालाई यिनीहरु अनुसन्धानको मूल स्रोत मान्छन् । यस्ता बुद्धिजीवीहरु यो जुनीमा सच्चिने छैेनन्, अर्को जुनी त आजसम्म कसैले देखेकै छैन । देशदुनियाँमा भइरहेका रुपान्तरणलाई नदेख्ने, सदैव विरोध पकाएर विरोधै खाने यस्ता बुद्धिजीवीहरुबाट युवा बुद्धिजीवी, युवा लेखक र विश्वविद्यालय पुरा गरी जीवन–संग्राममा हेलिन आँटेका भोलिका सुन्दर फूलहरुले जोगिनुपर्छ । सदैव विरोध मात्र गर्ने क्रमको निरन्तरता एउटा डरलाग्दो रोगमा परिणत हुन्छ । युवाहरु उदाउँदा सूर्यजस्तै हुन् । उनीहरुले दास हुने होइन, जाग्रत मनुष्य हुने हो । आलोचना गर्ने, प्रश्न उठाउने ताकत आफूमा युवाहरुले विकास गर्न जरुरी छ । प्रश्न केबल प्रश्न गर्नका लागि मात्र हुनुहुँदैन । अर्का थरी बुद्धिजीवीहरु झनै खतरनाक छन् । सत्ताको वरिपरि परिक्रमा गर्ने र चिन्तनमननभन्दा पनि यथास्थितिको विद्रुपतामा संक्रमणको धमिलो पानीमा माछा मार्ने उनीहरुको बढी इच्छा हुन्छ । हाम्रो समाज लामो समयदेखि पछौटेपन, अज्ञानता, स्वार्थ, पारस्परिक शंका र धोखाले गाँजिएको छ ।

बुद्धिजीवीहरुले सम्पूर्ण देशवासी र मानवजातिलाई मुक्तिको लागि सहयोग गर्न जरुरी छ । सत्ताको जुठोपुरोमा आफ्नो भाग्य देख्ने बुद्धिजीवीहरु अन्धभक्तिका उदाहरण हुन् । उनीहरु सरकारका हरेक निर्णय र गतिविधिको अन्ध समर्थन गर्छन् । यो पनि दृष्टिदोष हो । अन्धविरोध जसरी हानीकारक हुन्छ, त्यसरी नै अन्धसमर्थन पनि हानीकारक हुन्छ भन्ने सच्चाइलाई आत्मसात गर्न जरुरी छ । कार्यदिशा, कार्यभार र कार्यक्रम प्रष्ट नभइकन समर्थनमा लामबद्ध हुने र अचानक विरोधमा जमात ठूलो भएमा अन्यमनष्क अवस्थामा पुग्ने गर्दछन् यस्ता बुद्धिजीवीहरु । अल्पज्ञान भयंकर भनेझैं अन्धसमर्थनले धेरै कुरा बुझिरहन पनि आवश्यक ठान्दैन । अर्का थरी बुद्धिजीवीहरु गैरसरकारी संस्थाहरुमा कार्यरत छन् । स्वार्थसमूह, विकास साझेदार र दातृनिकायका योजना अनुरुपका परियोजना सञ्चालन गर्ने उनीहरुको मुख्य दायित्व हुन्छ । यी राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने बौद्धिक तप्का निकै सक्रिय र परिश्रमी रहेको पाइन्छ ।

साढे ६ दशक लामो जनसंघर्षको फलस्वरुप आज हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्यप्रणाली स्थापना भएको छ । तर बुद्धिजीवीको मनोदशा बदलिएको छैन । न उनीहरुको जीवनदशा नै बदलिएको छ । मुलुकलाई बाटो देखाउने स्तुत्य कार्यका लागि उनीहरुमा अन्वेषी वृत्ति हुनु जरुरी छ । प्राचीन धरोहरप्रति आस्था, इतिहासप्रति गौरव र वर्तमानप्रति सम्यक दृष्टिको समन्वयबाट आशावादी भविष्य निर्माण गर्न पथप्रदर्शन गर्ने बुद्धिजीवीहरु आफै स्वार्थ, व्यक्तिवादिता, अहंकार, इष्र्या आदि आसुरी वृत्तिको शिकार भएका छन् र मौलिक दृष्टिकोणको अभावमा चेटचंगा झैं दिग्भ्रमित छन् । केही प्रतिशत बुद्धिजीवीलाई छोडेर भन्ने हो भने नेपालका बुद्धिजीवीमा चिन्तक वृत्ति, अन्वेषी सूक्ष्म दृष्टिको प्रमाण नभएको देखिन्छ । उनीहरुमा नवीन चिन्तनको अभाव देखिन्छ । बुद्धिजीवीहरु जागिरे मानसिकताबाट माथि उठ्न सकेका छैनन् । यति मात्र होइन, उनीहरु पौर्वात्य र पाश्चात्य दर्शनको विशद् र वृहद् अध्ययन नगरी विचार र दर्शनका महारथी बन्ने धृष्टता गर्छन् । कम अनुभव भएका युवाहरु यिनै स्वार्थी बुद्धिजीवीको छिपछिपे, अहंकारी र स्वार्थी मनोभावले बशिभूत हुने र गलत प्रभावमा पर्ने बढी संभावना हुन्छ । युवाहरुले कुपमण्डुक, ढोंगी र जनता तथा देशको हितभन्दा माथि आफ्नो हितलाई राख्ने संकीर्ण र स्वार्थकेन्द्री बुद्धिजीवीहरुका प्रभावक्षेत्रबाट जोगिन आवश्यक छ, अध्ययन–अनुसन्धानको क्षेत्रमा लागेका युवाहरुले गलत संस्कारबाट आफूलाई जोगाएर अझै मेहेनत गर्न जरुरी छ ।

नवनिर्माणमा बाधा तेर्साउने प्रवृत्तिका विरुद्धमा आमूल परिवर्तनका लागि जनजागृतिको नेतृत्व गर्नुपर्ने बुद्धिजीवीहरुको अवस्था दयनीय हुनुहुँदैन । नेपालमा बुद्धिजीवीहरु मानसिक दासता र बन्धनमा जकेडिनु अति दुःखद छ । नेपालको आर्थिक र सामाजिक समस्याहरुको हल गर्न नवीन सोच विकास गर्न जरुरी छ । यसका लागि तत्सम्बन्धी स्वदेशी र विदेशी साहित्य अध्ययन, अनुसन्धान र आविष्कारका लागि समर्पित हुन बुद्धिजीवीहरु सकिरहेका छैनन् । नेपालका अर्थशास्त्र, राजनीतिशास्त्र, भूगोल, साहित्य, दर्शन, संस्कृति, भाषाका साथमा अन्तर्राष्ट्रिय क्षेत्रका तत्तत् विषयक्षेत्रको अध्ययन गरेर मुलुकलाई मार्गनिर्देशन गर्न बुद्धिजीवीहरुलाई बाधा के कुराले पुर्याइरहेको छ ? राजनीतिसँग घनिष्ठ रुपमा गाँसिएका ज्ञानविज्ञानका क्षेत्रहरुको व्यापक ज्ञान आजका लागि अति आवश्यक छ । जनअपेक्षा र शासकीय व्यवहारवीच तालमेल ल्याउन भूमिका खेल्नु बुद्धिजीवीको परम् कर्तव्य हो, राज्यलाई सही दिशा र मार्गमा डोर्याउन उनीहरुको विशिष्ट भूमिका हुन्छ ।

बौद्धिकताको कम आँकलन गर्नु मुलुकको सर्वनाशको शुरुवात हो । शासकीय निर्णय र कामहरुमा बुद्धिजीवीहरुको निर्णायक भूमिका हुन्छ । दम्भी र अहंकारी शासकले मात्र बुद्धिजीवीलाई बेवास्ता गर्छ । त्यसपछि सत्ता आलोचनादेखि डराउन थाल्छ । बुद्धिजीवीको उपेक्षाको अर्थ शासक अधिनायकवादी बाटोमा लाग्न खोजेको बुझ्नुपर्छ । अहंकारी र आसुरी प्रवृत्तिले स्वेच्छाचारितालाई प्रश्रय दिन्छ र फलस्वरुप सत्ताशक्तिको पतनलाई निम्त्याउँछ । त्यस्तो पतनलाई रोक्नसक्ने शक्ति बुद्धिजीवीमा हुन्छ । राष्ट्रको विकासका लागि सम्भाव्यता, अवसर, वस्तुस्थिति आदि अवस्थाको अध्ययन र विश्लेषण गरी सम्भावना तथा अवसरहरु पहिल्याउने एवम् जोखिमहरु पूर्वानुमान गर्ने र सोको आधारमा अवधारणापत्र, नीति, कार्यक्रम, योजना, आयोजना तथा परियोजना निर्माण, मूल्यांकन आदि कार्यमा बुद्धिजीवीको ठूलो भूमिका हुन्छ । बुद्धिजीवीहरु राष्ट्रका ढुकढुकी हुन् । बुद्धिजीवीहरुले त्रास वा आशको अंकुशमा अल्झेर स्वनियमनको व्यथाबाट मुक्त हुन जरुरी छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here