जागीरबाट हटाइएपछि बयलपाटा अस्पतालका कर्मचारीले आफ्नै जिउमा पेट्रोल छर्की लगाए आगो

0
537

अछाम।

अछाम बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालको गेट अगाडि सोमबार बिहान साफेँबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएका हुन् ।

उनको हेलिकप्टरमार्फत थप उपचारको लागि नेपालगञ्ज लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले बताए । आउजीका एक छोरा र एक छोरी छन् । केहि हप्ता अगाडि अस्पतालले हटाएका ३३ जना कर्मचारीमा उनी सफाईको काम गर्दथे । आर्थिक संकट परेको भन्दै उनीसहित ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो ।

दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी दिएपछि सिद्धार्थ तनावमा रहेको उनीजस्तै हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए । ‘म अस्पतालमा चौकीदारको काम गर्थे । सिदार्थ सरसफाईको काम गर्थे । पुरानो नियुक्ति सकिन दुई महिना बाँकी थियो । हामी काम गर्न अस्पताल गयौं’ उनले भने । ‘तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमहरुले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।’

महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा भएको उनले बताए । अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ ।-इमेजखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here