निकासीका नाममा अवैध कर

0
381

सुरेन्द्र भण्डारी
राजगढ,साउन २७ । दक्षिणी झापाको राजगढमा एरिया निकासी करको नाममा ठेकेदारले भारतबाट अबैध रुपमा आएको बिभिन्न खाद्य सामाग्रीको समेत कर लिने गरेको पाईएको छ ।
गाविसले पशु चौपाया निकासीका लागि भन्दै स्थानीय एक ठेकेदारलाई ठेक्का दिएकोमा एरिया निकासी करको रसिद दिएर भारतबाट अवैध रुपमा ल्याउने गरेको दैनिक उपभोग्य सामाग्री र अन्य समाग्रिहरुकोको समेत कर लिने गरेको पाईएको हो । बाहिरबाट ल्याईएको दैनिक उपभोग्य लगायतको सामाग्रीकोसमेत निकासी कर भन्दै रकम असुली हुँदै आएको छ ।
भन्सार कार्यालय नभएको यस सिमा क्षेत्रमा भारतबाट ल्याईएको र सिमा बजारमा किनिएको खाद्य सामाग्रीसमेत ठेकेदारले कर असुली गर्ने गरेको स्थानीयवासीले बताएका छन् । भारतबाट बिना परीक्षण कुनै पनि प्रकारका खाद्य सामाग्री ल्याउन कानुनले बन्देज गरेको छ  भने यस्तो रसिद काटेर कर असुली गर्दासमेत स्थानीय निकाय मौन रहेको छ ।
राजगढ गाँउ विकास समितिले गत आर्थिक वर्ष २०७०÷०७१ का लागि लगाइएको पशु चौपायाका लागि एरिया निकासी ठेक्का ८२ हजारमा राजगढ–५ निवासी शुवास ढुङ्गेलले लिएको गाबिसले जनाएको छ ।
ठेकेदारले राजगढ गाविस भन्दा वाहिरवाट राजगढमा आयात गरिएको प्रत्येक सामग्रीमा  एरिया निकासी कर भन्दै मनोमानी अवैध कर असुल गरिरहेको र भारतबाट ल्याईएको सामानको समेत एरिया निकासी कर भन्दै उठाईरहेको पाईएको छ । यसरी ठेकेदारले मनोमानी रुपमा रकम उठाए पछि  घेरावारी, वनियानी,पथरीया, पाठामारी, शरणमति, कुमरखोद लगायतका गाविसवाट राजगढमा खाद्यवस्तु तथा पशु चौपाया भित्र्याए वापत स्थानीय अबैध कर तिर्न वाध्यछन् । एकठाँउबाट अर्को ठाउमा दैनिक उपभोग्य सामाग्री ल्याउदासमेत कर उठाइदा स्थानीय निकाय मौन रहदा स्थानीयले यसमा गाबिस कर्मचारीहरुकोसमेत मिलोमतो भएको आरोप समेत लगाएकाछन् ।

राजगढ, घेरावारी, लगायत आधा दर्जन गाविसका स्थिानीयले भारतीय बजार दिगलबैंकमा दैनिक उपभोग्य सामाग्री चिनी, तेल लगायतका खाद्यवस्तु सस्तो पाइने भएपछि त्यस्ता सामान भारतवाट आयात गर्ने गरेकाछन् भने त्यसमा समेत ठेकेदारले रकम असुली गर्दै आएको वताइएको छ ।
एरिया निकासीको नाममा अवैध रुपमा ल्याईएको सामाग्रीकोसमेत भन्सार लिईनु गैह् कानुनी भएको राजगढ गाविसका सचिब हरीप्रसाद सिटौलाले वताए  । उनले पशु चौपायाको मात्र कर लिनु पर्नेमा एक गाबिसबाट अर्को गाबिसमा दैनिक उपभोग्य सामाग्रीहरु लैजादा समेत कर लिने गरेको बिषयमा आफुलाई थाहा नभएको र यदि त्यस्तो पाईएमा आइतवार वैठक वसेर आवस्यक कारवाही गरिने वताए ।  छोटी भन्सार कार्यालय नभएका कारण यस क्षेत्रका स्थानीय खुलम खुल्ला रुपमा भारतवाट रसायनिक मल, नुन तेल, चिनी लगायतका खाद्य वस्तु नेपाल ल्याउने गर्नाले त्यसको फाईदा उठाउदै ठेकेदारले रसिद काटेर कर असुली गरेको स्थानीय एक राजनीतिक दलका नेताले वताए ।
प्रति साईकल पचास रुपौंयाका दरले ठेकेदारले स्थानीयबाट रकम असुली गर्दै आएको रसिद स्थानीयहरुले देखाउदै रसिद काट्न नमान्दा सामान जफत गरिदिने गरेको बताएका छन् ।
उता ठेकेदार ढुङ्गेल भने आफूले सो विषयमा थाहा नपाएर यसरी निकासीको नाममा कर उठाउने गरेको वताए  । यस अघिको ठेकेदार बमबहादुर कटुवाल पनि यसरी नै कर असुल्ने गरेको र उसैको देखासिकीमा आफूले यस्तो  कार्य गरेको बताउछन् ढुङ्गेल । आफूले केही दिन अघिवाट एरिया निकासीको आयातित सामानको कर लिन छाडेको वतउँदै आएका छन् ।  उनले अगाडि भने — ‘मलाई ठेक्का लिएको  बेला कसैले आयातित सामग्रीको कर उठाउनु हुँदैन भनेर भनेन’ ।  यदी यो विषयमा अझैंपनि कसैलाई चित्त बुझेन भने म  काटिएको रसिद फिर्ता ल्याए उठाएको पैसा फिर्ता दिन्छु उनको भनाई छ ।
यता गाविस परिषदमा छलफल भएर गाविस आयातीत सामग्रीहरुको कर लिने निर्णय नै नगरी यस्तो कार्य गर्नु सरासर अनैतिक कार्य हो भन्छन् स्थानीय विकास अधिकारी लालमणी ओझा । परिषदमा निर्णय नै नभइ यसरी अवैध रुपमा कर उठाइन्छ भने त्यसलाई कार्वाही हुने स्थानीय विकास अधिकारी ओझाको भनाई छ ।