तनाव व्यवस्थापन नगर्दा आत्महत्या बढ्यो: पूर्वमा लकडाउनको ७८ दिनमा २२४ ले आत्महत्या गरे

0
917

बिर्तामोड ।

कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहेका बेला झापासहित पूर्वका जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या बढेको बीएण्डसी टिचिङ हस्पिटलका मनोरोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीले बताए ।

क्षणिक आवेशमा आउनु, नशालु पर्दाथ सेवन, आर्थिक, सामाजिक तनाव, डिपे्रशनका बिरामी तथा मायाप्रेममा आएको उतारचढावले आत्महत्या गर्ने ब्यक्तिको संख्यामा वृद्धि भएको डाक्टर अधिकारीको भनाइ छ । अस्पतालमा नियमित मनोपरामर्श दिइरहेका उनी नयाँ परिस्थितिमा सहज समाहित हुन नसक्नेहरूमा समस्या देखिएको बताउँछन् । कोरोनाका कारण कसैले पनि नसोचेको परिस्थिति आएपछि सम्हालिन गाह्रो हुनेहरूमा यस्तो समस्या देखिएको हो ।

‘खुशी हुन बहाना चाहिन्छ र हरेक मान्छेको खुशी हुने क्षमता फरक हुन्छ, आफूले भने जस्तो नभइरहँदा साँच्चै गाह्रो हुन्छ’– डा. अधिकारी भन्छन्– ‘एउटालाई सामान्य लागेको कुराले अर्कोलाई लौ बर्बादै भयो भन्ने पारिरहेको हुन्छ ।’ यस्तो अवस्थामा उचित परामर्श नभएमा मानिस जीवनदेखि निराश हुन्छ र उसले आत्महत्याको बाटो रोज्ने गरेको डाक्टर अधिकारीले बताए ।

महामारीका बेलामा साथीभाइ, घरपरिवार, कार्यालय वा आफन्तले गर्ने स–साना व्यवहारले पनि ठूलो असर पार्न सक्ने उनको भनाइ छ । कोरोनाका कारण दुरी कायम गर्नु पर्दा पनि मानिसहरुको दिमाग अनेक नकरात्मक विचारहरुको सिर्जना हुन सक्ने भएकाले सकारात्मक कुरामा बढी ध्यान दिनुपर्ने उनले बताए । डाक्टर अधिकारीले भने यो अवस्थामा समय निधारण गर्नु पर्ने, खानपानमा ध्यान दिनुपर्ने, डिप्रेशनको औषधि सेवन गरिरहेका तथा मासिक रुपमा समस्याका साथै मानवीय जीवनदेखि निराशा बोध भएकामा तत्काल परामर्श लिनुपर्ने डाक्टर अधिकारीको भनाइ छ ।

सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउनको अवधिमा हालसम्म प्रदेश–१मा दुई सय २४ जनाले आत्महत्या गरेका छन् । प्रदेश–१ मा सबैभन्दा धेरै झापामा आत्महत्याको दर बढेको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा ४३ जनाले आत्महत्या गरेका छन् । त्यस्तै इलाममा २६, पाँचथरमा १०, ताप्लेजुङमा ६, मोरङमा ४४, सुनसरीमा १४, धनकुटामा १३, तेह्रथुम र संखुवासभामा ७–७ जना, भोजपुरमा ११, उदयपुरमा १८, ओखलढुङ्गामा ९, खोटाङमा ११ र सोलुखुम्बुमा ५ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

पूर्वमा एक सय सात पुरुष, ८७ महिला, ११ बालक र १९ बालिका गरी २२४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रहरीले समुदायसँग मिलेर समुदाय साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेर मानिसलाई बाँच्ने तर्फ उर्जा प्रदान गरिरहे पनि पछिल्लो समय आत्महत्याको दरले भयावह अवस्थाको सिर्जना गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपालमा वार्षिक ६–७ हजारले आत्महत्या गर्ने गरेको गृहमन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०१६ मा गरेको अध्ययनअनुसार आत्महत्या गर्नेमध्ये ७९ प्रतिशत न्यून र मध्यम आय भएका देशका छन् ।

यसले आर्थिक संकट आत्महत्याको महत्वपूर्ण कारण हो भन्ने देखाउँछ । झापासहित पूर्वका जिल्लामा युवा अवस्थामा व्यक्तिहरुले आफ्नो जीवनबाट निराश हुँदै आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ । लकडाउनको अवधिमा आत्महत्या बढ्नुमा बेरोजगारी, आर्थिक समस्या नै धेरै रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here