पीसीआर ल्याबका लागि मेची उद्योग वाणिज्य संघ र भन्सार एजेन्ट संघको सहयोग

0
1177

बिर्तामोड। 

‘एकका लागि एक अभियान’ अन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब स्थापनाका लागि मेची उद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

विहीवार बिर्तामोडमा भएको एक कार्यक्रमकाबीच मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, सचिव रवि नेपाल, कार्यालय प्रमुख गोपाल बस्नेत तथा मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौलाले संयुक्त रुपमा ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । अभियानको तर्फबाट सह–संयोजक बिनोद बस्नेत, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल र वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले रकम ग्रहण गरेका थिए ।

अभियानका सहसंयोजक बस्नेतले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै एकका लागि एक अभियानले विश्वभर रहेका झापालीलाई एक ठाउँमा जोडेको बताए । उनले महामारी नियन्त्रणका लागि छिटोभन्दा छिटो पीसीआर ल्याब स्थापना गर्न सबैलाई सहयोगका लागि आव्हान गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईले एकका लागि एक अभियानमा निजी क्षेत्रको समेत उत्साहजनक सहभागिता बढेको भन्दै खुशी व्यक्त गरे । उनले सबै उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुलाई समेत यस अभियानमा जोडिन आग्रह गरेका छन् ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष तिम्सिना र भन्सार एजेन्ट संघका अध्यक्ष निरौलाले अभियानमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन अभियानका सदस्य तथा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

एकका लागि एक अभियान, अन्तर्राष्ट्रिय झापाली समाज, जिल्ला सहकारी संघ, प्रदेश सरकार तथा झापाका स्थानीय सरकारको सहकार्य र समन्वयमा पीसीआर ल्याब स्थापना हुने अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए । केही समयभित्रै झापामा स्थापना गरिने पीसीआर ल्याबको सम्पूर्ण लागत एक करोड १५ लाख रुपैयाँ लाग्ने बताइएको छ । अभियानमा विभिन्न अढाई दर्जन सामाजिक संघ–संस्था साझेदारका रुपमा आवद्ध भएका छन् ।

जनस्तरबाट मुलुकमै पहिलोपटक स्थापना गर्न लागिएको पीसीआर ल्याबका लागि विभिन्न सामाजिक संस्था तथा व्यक्तिगत रुपमा पनि दाताहरुले सहयोग गर्ने क्रम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here