मोरङको मंगलबारेमा प्रदेश १ का मुख्यमन्त्रीको पुत्ला दहन

0
884

मोरङ,

प्रदेश १ सरकारले मोरङ्को उर्लावारी-३ स्थित मंगलबारे अस्पतालको नाम फेरेर ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने कुरा नीतित तथा कार्यक्रममा राखेपछि विरोध सुरु भएको छ।

अस्पतालको नाम परिवर्तनमा असन्तुष्ट बनेकाहरुको एउटा समूहले केही दिनयता प्रदर्शन चर्काउँदै लगेको हो। स्थानीयबासी र केही नेपाली कांग्रेस समर्थकले बिहीबार प्रदेश १ सरकारका मुख्य मन्त्री शेरधन राईको पुत्ला जलाएका छन्। मंगलबारे अस्पतालको नाम मदन भण्डारीको नाममा राख्न नहुने भन्दै उनीहरुले मुख्यमन्त्री राईविरुद्ध प्रदर्शन गरेका हुन्।

बुधवार प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले मदन भण्डारी अस्पताल नामाकरणको विपक्षमा आवज उठ्नुलाई निन्दनीय भनेका थिए। मुख्यमन्त्री राईले यसो भनेपछि बिहीबार उनको पुत्ला जलाइएको हो। अस्पताल स्तरोन्‍नतिको नाममा भूगोलसँग जोडिएको अस्पतालको पहिचान मेटाउन खोजेको भन्दै स्थानीयले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

उनीहरुले प्रदेश सरकारलाई मंगलबारे अस्पतालकै नाममा बजेट ल्याउन आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाइइसकेका छ्न। तर प्रदेश सरकारले नीति तथा कार्यक्रमलाई अगाडि बढाइसकेको छ। २०४९ सालमा स्थापना भएको १५ शैय्याको मंगलबारे अस्पताललाई प्रदेश सरकारले ५० शैय्यामा स्तरोन्‍नति गरी नाम फेर्ने तयारी गरेको छ।

त्यसका लागि अस्पतालमा अपरेशन थ्रिएटर तथा उपकरण खरिद गरेर करिब ४ करोड बजेट आइसकेको छ। अस्पतालमा हाल प्रसूति र एपेन्डिसाइट्सको श्ल्यक्रिया पनि हुने गरेको छ। पूर्व-पश्‍चिम राजमार्गमा जोडिएको मंगलबारे अस्पतालमा दुर्घटनामा परेकाहरुको उपचार गराउन प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकासित गर्न खोजेको छ।

सरकारले विशेषज्ञ चिकित्सक र आवश्यक उपकरणसहितको प्रादेशिक अस्पताल बनाउने निर्णय गरे पनि हालसम्म अस्पतालको स्वामित्व हस्तान्तरण भएको छैन।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here