देउरालीको घुमाउने चौतारीमा कोरोना विज्ञहरु

0
1140

(कथा)

भुवन तामाङ,

देउरालीको घुमाउने चौतारीमा छ सात जना युवाहरु भेला भईसकेका छन् । लकडाउनले थुनिएर छट्पटिएका उनीहरु घरमा बसिरहन नसकी प्रायशः चौतारोमा भेला हुने गर्दछन् । बिहानको भात खाएर आज पनि भेला भएका उनीहरु कोरोना बहस छेड्दछन् । मानौ उनीहरु कोरोना विज्ञहरु हुन् ।

खन्द्रे चौतारोमा उपरखुट्टी लाएर ठाँटसँग बस्छ र सोधिहाल्छ, ‘होइन हाव यो कोरोना भाईरस कहिले सकिन्छ हँ साथी हो ? यसो डुल्नघुम्न पनि पाइदैन । हाटबजार पनि लाग्दैन । खेतबारी र घरको काम गर्दागर्दा वाक्कैब्याक्कै पो भैइसकियो त ।’ खन्द्रेको शब्द भुँइमा खस्न नपाउँदै डबके बोल्छ, ‘जबसम्म धुइँपत्ताल खोज्दा एउटा पनि कोरोना भाइरस भेटिन्न नि अनिमात्र कोरोना भाइरस सकिन्छ ।’ डबकेले यत्ति भनेको मात्र के थियो युवाहरु देउराली नै उचालिने गरी हाँस्छन् । यत्तिकैमा लुसे विज्ञता ओकल्न थाल्छ, ‘तिमीहरुले टिभी हेरेनौ ? डब्लु.एच.ओ.की प्रवत्ता मार्गरेट ह्यारिसले केहीदिन अघि जेनेभामा भएको कार्यक्रममा विश्वका सबै स्थानबाट कोरोना भाइरस नसकिएसम्म यसको अन्त्य हुँदैन भनेकीछिन् ।’ यो सुनेपछि त केटाहरु भुँडी थलथल पार्दै हाँस्छन् । हाँसो रोक्न खोज्दै तीनशेरे भन्छ, ‘ती प्रवत्ताले भनेजस्तो त लाटाले पनि भन्न सक्छ नि हाव कि कोरोना विश्वको सबै स्थानबाट हराएपछि यसको अन्त्य हुन्छ । होइन यति भन्नलाई तिनलाई डब्लु.एच.ओ.ले करोडौँ डलरको जागिर देको ? बरु हाम्रो डबकेको कुरो धेरै ठीक, जबसम्म धुइँपत्ताल खोज्दा एउटा पनि कोरोना भाइरस भेटिन्न नि अनिमात्र कोरोना भाइरस सकिन्छ ।’ डब्लु.एच.ओ. भन्दा बढी जान्ने भएकोमा सबैले डबकेलाई बधाइ दिन्छन् । बधाई पाएपछि डबके गजक्क परेर सानो होइन ?

खैनी माड्दै भुक्के सोध्छ, ‘होइन कोरोना भाइरस भनेको हो चाहिँ के ?’ अघिसर्दै असिने प्रस्ट पार्छ, ‘यो सार्स, मर्स, इबोला भाइरस जस्तै तर खतरनाक भाइरस हो । जो प्रोटिनयुक्त हुन्छ र त्यसलाई बोसोले ढाकेको हुन्छ भनेर समाचारहरुमै भनिसकेका छन् त ।’ भुक्के पुनः सोध्छ, ‘धत्तेरी यस्तो त सबैलाई थाहा छ । मैले जान्न खोजेको के हो भने यो सास् भाको हुन्छ कि नभाको ?’ उत्तरमा असिने भन्छ, ‘अब हाम्रै देशका प्रधानमन्त्रीले भनेको कुरा पत्याउने हो भने कोरोना भाइरस सास् भाको पनि हो र नभाको पनि ।’ असिनेको कुरा सुनेर सबै खितित्त हाँस्छन् र चनाखो हुँदै कान ठाडो पारेर सुन्छन् । असिने थप भन्छ, ‘प्रधानमन्त्रीले भनेका छन् कि, कोरोना भाइरसको बोसो साबुनपानीले पगालेपछि त्यो मर्छ । उनले यो पनि भनेका छन् कि यो जिवित नभएकाले मर्ने कुरा भएन । बुझिस् त भुक्के ?’ बीचैमा तीनशेरे भन्छ, ‘यी मुला हो तिमेरलाई केही थाहा छैन रछ । ल सुन, म भन्छु कोरोना के हो भनेर ।’ सबै तीनशेरेतिर हेर्छन् । ‘कोरोना भाइरस भनेको एक प्रकारको ढुसी हो ।’ तीनशेरेको कुरा सुनेर केटाहरु हाँसेर भुतुक्कै पर्छन । यत्तिकैमा बुच्चे सोध्छ, ‘ढुसी भनेको चाहिँ के हो नि तीनशेरे ? उत्तरमा तीनशेरे भन्छ, ‘ढुसी भनेको ढुँडी हो क्या ।’ युवाहरु हाँसेर चौतारो जुरुक्कै उचाल्छन् । तीनशेरे एकछिन् रोकिएपश्चात भन्न थाल्छ, ‘कुनै चिज धेरै ओसियो भने ढुँडी पर्छ नि हो त्यस्तै हो कोरोना । त्यै भएर जाडोमा धेरै असर गर्छ भनेका हुन् क्या । यदि कुनै चिजमा, खानेकुरामा ढुँडी पर्यो भने त्यो चिज बिग्रन्छ कि नाई ? हो त्यसरी नै मान्छेको लङ्ग्स्भित्र कोरोना भाइरसरुपी ढुँडी पसेपछि त्यो बढ्दै जान्छ र लङ्ग्स्को सेलहरु नष्ट पार्दछ । कोरोना भाइरस बोसोले ढाकिएको प्रोटिनको कण हो । बोसो पगाल्न सके वा मानिसको शरीरमा एन्टिबडी बढाएर भाइरस बढ्न नदिएपछि कोरोना नष्ट हुन्छ ।’ तीनशेरेले यत्ति के भनेको थियो दुईतीनजना भएर तीनशेरेलाई चौतारोबाट पर उछुट्याइ दिन्छन् र भन्छन्, ‘कहीँ नभाको विज्ञ ?’

यत्तिकैमा मुड्के भन्छ, ‘वास्तवमा तीनशेरेले भनेको ठीकै हो ।’ यत्तिकैमा खन्द्रे प्याच्च भन्छ, ‘ल यो जान्ने आयो कहीँको ।’ मुड्के जोडदिँदै भन्छ, ‘कोरोना भाइरसको बाहिरी परत बोसो पग्ले पछि त्यसको विनिर्माण हुन्छ । भन्नुको मतलब डिकन्स्ट्रक्सन् हुन्छ ।’ बीचैमा एउटा बोल्छ, ‘डेरिडाको डिकन्स्ट्रक्सन्को सिद्धान्त यसले पुरै घोकेछ कि क्या हो ।’ अर्को भन्छ, ‘पहिला उसलाई भन्न त दे ।’

मुड्के भन्न थाल्छ, ‘डिकन्स्ट्रक्सन् गर्न साबुन पानी खाने कुरा त भएन तर हातमा, जीउमा, लुगामा र सरसामानमा भएको कोरोना भाइरस डिकन्स्ट्रक्सन् हुन्छ । लङ्ग्स्भित्र पुगेको कोरोनालाई डिकन्स्ट्रक्सन् गर्न चाहिँ दिनमा कम्तिमा चारपटक तातो पानी सेवन गर्ने र कम्तिमा दुईपटक तातो पानीको स्टिम लिने । चीन, कोरिया, ताईवान, जापानमा यही विधि प्रभावकारी भएको हो । जहाँ उमालिएका तात्तातो खानेकुरा या तातो सुप खाने चलन छन् त्यहाँ कोरोना भाइरस नियन्त्रण भएको छ । नेपाल र भारतमा पनि तुलसी, मरिच या कागती पानी उमालेर सेवन गर्दा कोराना बिरामी निको भएका पाइएका छन् । र, जहाँ ठण्डा पेय, जुस र चिसा खानेकुरा खाने संस्कृति छ त्यहाँ महामारी थामिएका छैनन् ।’ यति भन्नासाथ केटाहरुले मुड्केलाई बेहुली बोके जस्तैगरि बोकेर चौतारो वरिपरि घुमाउँछन् र पुनः चौतारोमै लगेर थचार्छन् अनि गलल हाँसेर मज्जा लिन्छन् । यत्तिकैमा नुरे सोध्छ, ‘यो कोरोना भाइरस त अमेरीका कि चीनले पो बनाको भन्छन् त मान्छेहरु ।’ केटाहरु भन्छन्, ‘लु तँईले नै भन्दे न त ।’ नुरे भन्न थाल्छ, ‘कोरोना भाइरसमा एच.आई.भी. एड्स भाइरसको गुण पाइएकाले अमेरीकाले कोरोना भाइरस बनाएको आशंका गरिएको छ । किनकि एच.आई.भी. एड्स भाइरस अमेरीकाले बनाएको विश्वास गरिन्छ ।’ नुरेले यति के भनेको थियो उसलाई सबै मिलेर ढकार आउन्जेल ढाडमा मुड्क्याउँछन् कहीँको एच.आई.भी. एड्स विज्ञ आयो भनेर । तै पनि नुरे बोल्न छाडदैन, ‘चीनलाई हराउन अमेरीकाले कोरोना भाइरस बनाएको चीनको विश्वास छ भने अमेरीकालाई हराउन चीनले कोरोना भाइरस बनाएको अमेरीकाको विश्वास छ । जसलाई युद्धकै रुपमा पनि ब्याख्या गरियो ।’

यत्तिकैमा विचारे विचार गर्दै भन्छ, ‘हाव अनि कोरोना भाइरसबाट बच्ने औषधी या खोपचाहिँ आउँदैन ? यी हाम्रै देश नेपालमा कोरोना बिरामी बढेका बढ्यै छन् । के थाहा हामीसम्म पनि आइपुग्छ कि ?’ बीचैमा लुसे भन्छ, ‘मैले चाहिँ जानेको के हो भने नाथे कोरोना भाइरसलाई भेटेँ भने नि त्यसलाई लिखालाई जस्तैं दुईटा नङको बीचमा च्यापेर पिटिस्सै पारेर मारिदिन्छु ।’ लुसेको खैँरात रहेन । उसलाई केटाहरुले चौतारोबाट निकाला नै गरिदिन्छन् । बीचैमा तीनशेरे भन्छ, ‘कडा मर्च हालेको छिप्पेको भाती जाँड दिनको तीनशेर खानुपर्छ त्यस्ता कोरोना सोरोना कुलेलाम ठोकोना हुन्छ । डबके पनि के कम ? उसको पनि नाम त्यसै डबके रहेको होइन । उ पनि भन्छ, ‘दिनको दुईचारेक डबका कोदोको जाँड धोक्नु पर्छ कि त्यो कोरोना नै मातेर लठ्ठ हुन्छ ।’ तीनशेरे र डबकेलाई पनि केटाहरुले चौतारोबाट निकाला गरिदिन्छन् ।

लु भएन भन्दै थुतुने भन्छ, ‘तर म त्यसो भन्दिन ।’ केटाहरु एकै स्वरमा सोध्छन्, ‘अनि के चाहिँ भन्छस् त ? थुतुने थप भन्न थाल्छ, ‘मान्छेले प्रमाणीक कुरामात्र बोल्नु पर्छ क्या । दवाई त चीन, भारत, अमेरीका, इटली, बेलायतदेखि इजरायसम्मले बनाइरहेको दाबी गरेका छन् तर तिनीहरुले प्रभाकारीरुपमा काम नगर्न सक्छन् । एउटा सम्भावना यो पनि छ कि, एच.आई.भी., इभिएनइन्फ्लुएन्जा, सार्स, मर्स भाइरस बिरुद्धको अचुक औषधी बनाउन नसकेजस्तै कोरोना भाइरस नष्ट पार्ने औषधी या खोप कहिल्यै नबन्न पनि सक्छ भनेर अन्तर्राष्ट्रिय इजेन्सीहरुले भनिरहेका छन् । त्यसैले मानिसहरु स्वयम् नै सचेत हुन जरुरी छ ।’

आत्तिदै हर्के भन्छ, ‘हैट असम्भव कुरा नगरौ न हौ । बरु नेपालमै दवाई बनिसको नि । त्रिभुवन विश्वविद्यालय वनविज्ञान प्रयोगशालामा प्रा. ललितकुमार दासले हर्बलबाट कोराना भाइरस नष्टगर्ने दवाई बनाएका छन् रेन्त । डब्लु.एच.ओ.ले पनि चासो लिएको समाचार आएको छ । नेपालकै दवाई ठीक हो नि । होइन त साथी हो ?’ केटाहरु हर्केको कुरामा हो मा हो मिलाउँदै राष्ट्रप्रेम दर्शाउँदै ‘नेपाली दवाई नै ठीक हो’ भन्न थाल्छन् । कति अरु मात्र विश्व गुरु बनेको ध्वाँस पिट्छन् हँ ? कोरोना भाइरसको दवाई बनाउनेमा चाहिँ नेपाल नै विश्व गुरु बन्नुपर्छ भन्दै केटाहरु हा हा र हुु हु गर्दै रमाउँदै बुरुक्क बुरुक्क गर्दै देउरालीको घुमाउने चौताराबाट बेपत्ता हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here