हामी पनि स्कुल जान
पाए कस्तो हुन्थ्यो होला
सफा स्कुल ड्रेस लगाई
आहा!बोक्न पाए झोला
स्कुल जान्थ्यौँ साथी सङ्गी
खोल्थ्यौँ सबले मनका कुरा
पढी,लेखी खुसी साथमा
गर्थ्यौँ आफ्ना काम पूरा
तर कठै ! कहिले आउला
हाम्ले स्कुल जाने दिन
ड्रेस छैन के ले किन्ने
बाको थाप्लो भरि ऋण
कस्ले किनि दिन्छ हाम्लाई
कापी, कलम,किताब ,झोला
साँच्चै स्कुल जान पाए
डोको विश्राम पाउँथ्यो होला
आमा ज्यादै दुखी हुन्छिन्
अरु स्कुल गा’को देख्दा
पल्लो घरको साहुकी छोरी
घर आई चित्र लेख्दा
सम्झँदी हुन् मन मनै
हाम्रा पनि छोरा छोरी
पढ्न लेख्न पाउँदा हुन् त
चित्र कोर्थे यसै गरी
तर आमा हामी गरीब
डोको ,नाम्लो हाम्रो साथी
पढ्ने,लेख्ने अवसर पाए
हामी पनि पुग्थ्यौँ माथि
राज्य भन्छ भोको,नाङ्गो
अब दुखी हुन्न कोही
साक्षर नेपाल घोषणा भो
तर हाम्रो अधिकार खोई ?
विष्णु निरौला आचार्य