झापामा ९५ जनाले जीते कोरोना भाइरस

३१ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

डेढमहिनामा १ सय ६९ जनामा संक्रमण पुष्टि

लक्ष्मी उप्रेती/ काँकडभिट्टा ।

झापा जिल्लामा ९५ जनाले नोवल कोरोना भाईरस (कोभिड १९) जीतेका छन् । जिल्ला व्यवस्थापन सहायता कक्ष झापाका सचिव जीवन चौलागाईँका अनुसार पहिलो पटक ११ बैशाखमा झापा दमक नगरपालिका–३ का ४६ वर्षीय पुरूषमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।

३० जेठसम्ममा जिल्लाका १३ वटा पालिकाका एक महिलासहित एक सय ६९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । उमेर समुहका आधारमा पुष्टि हुनेमा १५ वर्षदेखि ६७ वर्षसम्मका रहेका स्वास्थ्य कार्यालय झापाका महामारी रोग कार्यक्रमका फोकल पर्सन समेत रहनुभएका चौलागाईँले जानकारी दिनुभयो ।

जिल्लाको विर्तामोड र शिवसताक्षी नगरपालिकाबाहेक अन्य पालिकामा नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण फेला परेको छ । सवैभन्दाबढी कचनकवल गाउँपालिमा १ सय २६ तथा कम्ति कमल र झापा गाउँपालिकामा १–१ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कचनकवलपछि गौरीगञ्ज गाउँपालिकामा १२ , हल्दीवारी गाउँपालिकामा २, बुद्धशान्ति गाउँपालिकामा ५ र बाह्रदशी गाउँपालिकाका ६ जनामा यसको संक्रमण पुष्टि भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । अहिलेसम्म कोभिड १९ संक्रमण पुष्टि भएका सवै क्वारेण्टिनमा बसेका मात्र हुन् ।

यसैगरी भद्रपुर नगरपालिकाको क्वारेण्टिनमा रहेका ४, मेचीनगर र अर्जुनधारा नगरपालिकाको क्वारेण्टिनमा बसेका २–२ जनामा यसको संक्रमण पुष्टि भएको सचिव चौलागाईँले जानकारी दिनुभयो । कन्काई, दमक र गौरादह नगरपालिकाको क्वारेण्टिनमा बसेका क्रमश ३, १ र ४ जनामा नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण ३० जेठसम्ममा पुष्टि भएको छ ।

जिल्लामा पीसीआर र आरडीटी विधिबाट ६ हजार ४ सय १६ जनाको स्वस्थ्य परीक्षण गरीएको थियो । सचिव चौलागाईँले दिएको जानकारी अनुसार पीसीआर विधिबाट ३ हजार ९ सय ८७ जनाको नमुना स्वाब संकलन गरी १ नम्वर प्रदेश प्रयोगशालामा परीक्षण गर्दा १ सय ६९ जनामा कोभिड १९ को संक्रमण फेला परेको, करीव ५ सयको रिपोर्ट आउन बाकी रहेको र अरू सवैको पीसीआर रिपोर्ट नेगेटिभ आएको सचिव चौलागाईँले बताउनुभयो । कार्यालयले जिल्लामा संकलन गरेको स्वाब नमुना परीक्षणाका लागि १ नम्वर प्रदेश प्रयोगशालासहित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा र कोशी अञ्चल अस्पताल विराटनगर पठाउने गरेको बताईएको छ ।

उता २ हजार ४ सय २९ जनाको आरडीटी विधिबाट परीक्षण गर्दा ३७ जनामा पोजेटिभ देखिएको सचिव चौलागाईँले जानकारी दिनुभयो । जिल्लामा रहेका ५५ वटा क्वारेण्टिनमा अहिले १ सय १२ महिलासहित ५ सय ७६ जना रहेका छन् । क्वारेण्टिनमा रहेका पुरूषको संख्या ४ सय ६४ जना रहेका छन् ।

मेची अस्पताल भद्रपुरमा २५ वेडको आइशोलेसनको व्यवस्था गरिएको छ। कोभिड १९ संक्रमितको उपचारका लागि कोभिड अस्पताल विराटनगर , वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा र गोठगाउँ पठाउने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । झापामा अहिलेसम्म जति संक्रमित फेला परे सवै भारतसहित अन्य देशबाट आएका मात्र छन् ।

जिल्लामा समुदायबाट समुदायमा यसको संक्रमण नफैलिएको चौलागाईँले बताउदै दमकमा परिवारको सदस्य छोराबाट आफ्ना बाबुमा सरेको स्पष्ट पार्नुभयो । उहाँले नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन पुर्णरूपमा पालना गर्न जिल्लावासीमा आग्रह गर्नुभयो ।

जिल्लावासीलाई अनावश्यक भीडभाड नगर्न, उच्च ज्वरो, लामोसमयसम्म रूघा, खोकीलागेमा श्वासप्रश्ववासमा समस्या भए वा आफुलाई कमजोर भएको महशुस भए तत्काल स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीसँग परामर्श लिन समेत सुझाव दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here