‘मोटरबाटो आयो बिजुली आएन’

0
739

प्युठान,

कुटानीपिसानीका लागि पानी र विद्युत्को अभावमा यहाँका नगरवासी समस्यामा छन् । विद्युत् नहुँदा स्थाीयवासी अँध्यारोमा बस्नुपरेको छ भने घट्ट सञ्चालनका लागि पानी र विद्युत् अभाव हुँदा कुटानीपिसानीका लागि टाढासम्म जानुपर्ने बाध्यता छ ।

स्वर्गद्वारी नगरपालिका–२ नयाँगाउँ, वाजम र हाम्जाका करिब ४५० घरधुरीमा विद्युत् नपुग्दा यहाँका बासिन्दाले कुटानीपिसानीका लागि मात्र दिनभर बिताउनुपर्ने समस्या झेल्दै आएका छन् । दुई घण्टा पैदल हिँडेर स्थानीयवासी अन्न कुटानीपिसानी गर्न खाल, नोस र रोल्पाको सुरपाल पुग्नुपर्ने बाध्यता रहेको छ ।

गाउँलेसँग मिल सञ्चालन गर्ने क्षमता भए पनि विद्युत् नभएका कारण समस्या भोग्नुपर्ने अवस्था हट्न नसकेको स्थानीय अनिता पुनले गुनासो गर्नुभयो । “जङ्गलको बाटो दुई घण्टा हिँडेर मिलमा पुग्छौँ”, पुनले भन्नुभयो, “मिलमा पुग्दा पालो कुर्दै दिन बित्छ ।” गाउँघरका जाँतो हराइसकेका छन् । जाँतो भएका घरमा पनि धेरै मात्रामा गहुँ, मकै, धान पिसाउन दिन बिताउनु पर्दा सास्ती भोग्दै आएको पुनको भनाइ छ ।

“दुई÷चार माना घरमा भएको जाँतोमा पिस्न सकिए पनि धेरै पिस्न गाह्रो हुने भएकाले मिलमै पुग्नु पर्छ”, सोही गाउँकी दिला पुनले भन्नुभयो, “गाउँमा मोटरबाटो आयो तर बिजुली आएन । बिजुलीको व्यवस्था भएमा सयौँ दिदीबहिनीको ठूलो समस्या हल हुने थियो ।” गाउँमा मिल भएमा महिलाको कार्यबोझ घट्ने र समय बचत भए आय वृद्धि गर्न सकिने उहाँ बताउनुहुन्छ ।

विद्युत् पु¥याउन वर्षौंदेखि आग्रह गरिरहँदा पनि सुनुवाइ नभएको पुनको गुनासो छ । मिलमा प्रायः महिला नै पुग्ने गर्दछन् । एक पटकमा आठ÷दश पाथी अन्न लिएर दुई घण्टा हिँडेर मिलमा पुग्ने गर्दछन् । मिलमा पालो कुर्दा कहिलेकाहीँ राति घर फर्कनुपर्ने हुन्छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युत्को पहुँच पु¥याउन बोलपत्र आह्वान गरे पनि शुरु हुन नसकेको नगरपालिका–२ का वडाध्यक्ष मीनराज रानामगर बताउनुहुन्छ । “विद्युत् नहुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन्”, वडाध्यक्ष रानाले भन्नुभयो, “विद्युत् र घट्ट मिल टाढा हुँदा स्थानीयवासीले पीडा खेप्दै आएका छन् ।”

मट्टितेल र डिजेलबाट चल्ने मिल सहज आपूर्ति नहुने भएपछि कसैले सञ्चालन गरेका छैनन् । विद्युत् पहुँच पु¥याउनतर्फ नेपाल विद्युत् प्राधिकरण र नगरपालिकामा विशेष पहल गरिने रानाको भनाइ छ । विद्युत् व्यवस्थाका लागि सम्बन्धित निकायले सक्रियता देखाउनुपर्ने स्थानीयवासीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here