बिर्तामोडमा आचरण सचेतना शिक्षा लागू गरिने

0
1390

बिर्तामोड,

तुलसीप्रसाद निरौला

झापाको विर्तामोड नगरपालिकाले कक्षा ५ र ६ को आचरण सचेतना शिक्षा नामक पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयनमा ल्याउने भएको छ ।
गत बर्ष नगरपालिकाले ३ र ४ कक्षामा ‘आचरण सचेतना शिक्षा’ को पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरीे पठनपाठन भइरहेकोमा यस वर्ष कक्षा ५ र ६ को पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयनमा ल्याउने भएको विर्तामोड नगरपालिकाले जनाएको छ ।
विर्तामोड नगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सर्वाङ्गिण विकासका लागि स्थानीय पाठ्क्रम निर्माण गरेको विर्तामोड नगरपालिकाले जनाएको छ । विद्यालय तहमा असल संस्कार र आचरणको विकास भए मात्रै नागरिक देशप्रति जिम्मेवार बन्न सक्छ भन्ने अवधारणाका आधारमा बिर्तामोड नगरपालिकाले स्थानीयताका आधारमा पाठ्यक्रम बनाएको हो ।
विर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा इतिहास, कला, साहित्य, संस्कृति, भाषा, कानून, वन, कृषि,नेतृत्व विकास , बिर्तामोड नगरपालिकाको परिचय लगायतलाई समावेश गरी स्थानीय पाठ्यक्रम बनाउने नीति लिएको विर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीले वताए । उनले नैतिक मूल्य र मान्यताका विषयमा सानैदेखि पढाउनु पर्ने बताए ।

त्यस्तै बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंले बिर्तामोड नगरपालिकाले नगरका सबै सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीले अनिवार्य रुपमा ‘आचरण सचेतना शिक्षा’ पढ्नुपर्ने व्यवस्था मिलाइएको बताइन् ।

बिर्तामोड नगरपालिकाले नगरका सबै सामुदायिक र संस्थागत विद्यालयमा यो वर्ष कक्षा ५ र ६ मा आचरण सचेतना शिक्षा लागू गरिने वताउँदै उनले यसका लागि पाठ्यपुस्तक तयारीको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिइन् ।

पाठ्यक्रम निर्माण गर्न विर्तामोड नगरपालिका नगर शिक्षा समितिका पूर्व प्रमुख युवराज पाण्डेको संयोजकत्वमा पाठ्क्रम निर्माण समिति गठन गरिएको थियो । सो समितिको सदस्यहरुमा देवेन्द्र हुमागाईं, मोहन ओली, डम्वरबहादुर वस्नेत, युवराज कट्टेल, टीका पोखरेल, भोजराज दाहाल, टंक सेढाईं, तिलचन भण्डारी ,केशरवहादुर खवास,लीलाप्रसाद भण्डारी,  दिनेश आचार्यलगायत रहेका छन् ।
त्यस्तै पूर्व श्रोतव्यक्ति टंक सेढाईंको संयोजकत्वमा कक्षा ५ र ६ को पाठ्यक्रम तथा पाठ्यपुस्तकको पाण्डुलिपी लेखन र सम्पादन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा देवेन्द्र हुमागाईं, लिलाप्रसाद भण्डारी ,भोजराज दाहाल, टीका पोखरेल रहेका छन् । त्यसैगरी पाठ्यपुस्तकको पाण्डुलिपी लेखन सहयोगीहरुमा धर्मराज माझी, श्याम दाहाल, सरस्वती दाहाल, धनकुमारी खरेल , भुपेश मर्डी रहेका छन् ।

उक्त समितिले पाठ्यक्रम तथा पाठ्यपुस्तकमा विर्तामोड नगरपालिकाको भूगोल, इतिहास, संस्कृति सम्पदा, वन, वातावरण तथा सरसफाईं, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, पर्यटन, स्थानीय विकास पूर्वाधार, विपद् व्यवस्थापन र सुरक्षा, योग शिक्षा, यातायात ,सञ्चार, आचरण तथा आत्मसम्मान,नेतृत्व तथा व्यक्तित्व विकास लगायतका विषयलाई समावेश गरेको कक्षा ५ र ६ को पाठ्यक्रम तथा पाठ्यपुस्तकको पाण्डुलिपी लेखन र सम्पादन समितिका सदस्य देवेन्द्र हुमागाईंले वताए ।
समितिले कक्षा ५ र ६ को पाठ्यक्रम तथा पाठ्यपुस्तकको पाण्डुलिपी तयार गरेर विर्तामोड नगरपालिका नगर शिक्षा समितिलाई हस्तान्तरण गरेको थियो । पाठ्यक्रमको पाण्डुलिपी लेखन र सम्पादन समितिका संयोजक टङ्कप्रसाद सेढाईले विर्तामोड नगरपालिका नगर शिक्षा समितिका पूर्व प्रमुख तथा पाठ्क्रम निर्माण समितिका संयोजक युवराज पाण्डेलाई पाठ्यक्रम हस्तान्तरण गरेका थिए ।

स्थानीय पाठ्यक्रम निर्माण समितिले विर्तामोड नगरपालिका नगर शिक्षा समितिका प्रमुख तिलचन भण्डारीलाई कक्षा ५ र ६ को पाठ्यक्रम तथा पाठ्यपुस्तकको पाण्डुलिपी हस्तान्तरण गरेको थियो । नगर शिक्षा प्रमुख भण्डारीले पाठ्यक्रमलाई अन्तिमरुप दिन लागिएको बताए । विज्ञहरुको राय मागिएको वताउँदै उनले केही परिमार्जन गर्नुपर्ने आवश्यकता देखिए परिमार्जन समितिले त्यसको काम अघि बढाउने वताए ।
कक्षा ५ र ६ को पाठ्यक्रम तथा पाठ्यपुस्तकको पाण्डुलिपी लेखन र सम्पादन समितिले विर्तामोड ५ स्थित न्युटन्स एजुकेशन एकेडेमीको सभाहलमा कक्षा ५ र ६ को पाठ्यक्रम तथा पाठ्यपुस्तकको पाण्डुलिपी लेखन र सम्पादन गरिएको समितिका सदस्य तथा न्युटन्स एजुकेशन एकेडेमीका निमित्त प्रिन्सिपल देवेन्द्र हुमागाईंले वताए ।

गतवर्षदेखि कक्षा ३ र ४ मा लागू गरिएको ‘आचरण सचेतना शिक्षा’ कोे पाठ्यपुस्तकमा केही परिमार्जन गरिएको शिक्षा प्रमुख भण्डारीले जानकारी दिए । उनले आवश्यक अध्ययन पूरा गरी पाठ्यपुस्तक छापेर विद्यालयलाई उपलब्ध गराउने र पाठ्यक्रम तथा पाठ्यपुस्तकका कार्यान्वयनको प्रक्रियामा आएपछि विर्तामोड नगरपालिका भित्रका विद्यालयमा लागू गरिने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here