सम्पादकीय
इतिहास मै पहिलोपटक एकता प्रदर्शन गरेका हाम्रा राजनीतिक दलहरू सम्भवत अहिले छिमेकी देश भारतका लागि टाउको दुखाइ भएका छन् । अतिक्रमित भूमि फिर्ता लिने प्रक्रिया अनुसार भएको संबिधान संशोधन प्रस्तावमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलले पूर्ण समर्थन गरेर ऐतिहासिक एकता प्रदर्शन गरेका हुन्।बिगतमा आफ्नै संरक्षण र सहयोगमा हुर्किएका कारणले ती दलहरूबाट आशा र अपेक्षा गर्नु मानवीय हिसाबले ठीक होला तर माता र मातृभूमिप्रतिको कर्तब्यबाट बिचलित हुनु हुँदैन त्यो भारतले बुझ्नै सकेन। त्यसैले भारत सरकार, भारतीय मिडिया र भारतीय जनता यतिबेला टुप्पी कसेर हामीबिरूद्ध बिष बमन गरिरहेका छन्। कमजोरी हाम्रा अगुवाहरूले गरेकै छन् सत्ता प्राप्त गर्ने वा सत्ता नछोड्ने स्वार्थ पूरा गर्ने नाममा उसको ‘बुई’ चढेर।
गल्तीबाटै सिक्छ मानिसले गल्तीको महशुस गर्यो भने। लडेर उठ्दा लड्नुको कारण थाह पाउन सकियो भने फेरि- फेरि नलडिएला। त्यसैले इतिहासले दिएको यो अभूतपूर्व एकता र जिम्मेवारीलाई निष्कर्षमा पुर्याउने दायित्व वर्तमान सरकारको हो। अब उसले ‘किन्तु -परन्तु’ भन्न पाउँदैन, कोरोना वा अरू कुनै बहानामा अल्मलिन हुँदैन र पाउँदैन पनि। यसैले सरकार र सत्तारूढ दलको जीवन निर्धारण गर्नेछ र बिगतमा आफूहरूद्वारा भए- गरेका अक्षम्य अपराधहरूको प्रायश्चित पनि हुनेछ। हो अहिलेको मूल समस्या कोभिड -१९ नै हो। तर राष्ट्रिय अस्मितामाथि जब प्रश्न खडा हुन्छ ब्यक्ति गौण बनिन्छ। यही कारण भनिएको हो ‘ जननी, जन्मभूमिश्च स्वर्गादपि गरियसी ‘ ।

जन्मभूमिको रक्षार्थ आमाहरूले दूधमुखे बालक पिठ्युँमा बोकेर अंग्रेजसॅग नालापानीको युद्ध लडेको ज्यूँदो इतिहास हाम्रै हो। क्रुर सेनानायक जिलेप्सीको मुटुमा भेदन गर्ने हाम्रा पुर्खाहरूको वीरता र अदम्य साहस कोरा कल्पना होइन। पद, पैसा र ऐश्वर्यको मोह देखाएर लेखिएको चिठ्ठी अंग्रेजी दूतका अघि च्यातेर, थुकेर अनि कुल्चिएर ‘ बाघको डमरु हुॅ, सिनो खाने कुकुर नसम्झ ‘ भन्ने अमरसिंह थापाको स्वाभिमानले नै त बहादुर जातिको पहिचान दिएको छ। सात समुद्र पारीको शक्तिलाई रोक्न , स्वाधीन र स्वतन्त्र राष्ट्रको गौरव बढाउनका पृथ्वीनारायण शाह लगायत उक्त महाअभियानमा तन,मन,धन र बुद्धि समर्पण गर्ने पुर्खाहरूको गौरव अक्षुण्ण राख्ने दायित्व वर्तमान सरकारको हो। त्यसैले संसदले दिएको समर्थन आम जनताको आदेश ठानेर सरकारले अब तीन करोड जनताको बलमा मातृभूमिलाई अतिक्रमणबाट मुक्त गर्नुपर्छ ।
भारत कहिल्यै हाम्रो शत्रु भएन। ऊ आफैँ बक्सिसमा स्थापित भूगोल हो। त्यसैले ऊसँग शत्रुता बढाउनु पर्ने कारण पनि छैन। नेपालले युद्ध हारेको होइन केही भूभाग गुमाएको मात्र हो त्यो पनि स्वतन्त्र अस्तित्व रक्षाका निमित्त। तर आज भारत त्यहाँका सञ्चार माध्यममार्फत बिष ओकलिरहेको छ। काल्पनिक कथा जोडेर ठूलो श्वरले चिच्याइरहेको छ। सीमा अतिक्रमण गरेकै छ, सीमान्त क्षेत्र मिचिएको छ, सुस्ता र कालापानी वारिको ठूलो भूभाग अहिले विवादको उत्कर्षमा छ। ‘जो – – उस्कै ठूलो श्वर’ नभए त टेबलबाटै विवाद समाधान हुनसक्थ्यो। संसारका ठूल्ठूला युद्ध वा असमझदारी वार्ताबाटै टुङ्गिएको छन्। त्यसैले अथक र अबिराम हिँड्नु पर्छ टुङ्गोमा पुगिन्छ । यसका लागि कार्यकारी प्रमुखको मूल भूमिका रहन्छ। शरीरले गलित भए पनि इच्छाशक्ति र जनताको साथ र समर्थनले सतिसाल झैँ बलिया प्रधानमन्त्रीको गोडामा आएको गोल जाली भित्र पस्नु पर्छ । अझ बल आर्जन गर्ने हो भने सरकारले, सरकारमा बस्नेहरूले संयमित, शिष्ट, सदाचारी बन्नुपर्छ । देशका बुद्धिजीवी, अध्येता,इतिहास तथा भूगोलविद्, नैष्टिक राष्ट्रसेवक ,सञ्चार माध्यम तथा अकर्मण्यताबिरूद्ध सडकमा रहेकालगायत सबै नेपालीलाई विश्वासमा लिन सक्नु पर्दछ। सत्यको जित भएरै छाड्छ, यो हाम्रो दर्शनको मान्यता पनि हो।


























