बुबाबिनाको जिन्दगी भनेको बाटो बिर्सेको यात्री जस्तै हो : महेन्द्रकुमार गिरी

0
2775

सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी यतिबेला पितृशोकमा छन् । पिता वियोगको १३औं दिन आज शुद्ध्याईँ कार्य पनि हुँदैछ ।

गत २४ जेठ शनिवार उनका पिता बमबहादुरको ८९ बर्षको उमेरमा निधन भयो । निधन लगत्तै उनले सामाजिक सञ्जालमा लेखे– ‘बुबा अब हामीबीच रहनु भएन ।’ लामो समयदेखि अस्वस्थ उनका पिताको निधनको खबर उनले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । त्यही खबरलाई सबैले आधिकारिक माने । निधनकै साँझ बमबहादुरको कनकाई माईमा अन्त्येष्टि भयो । लकडाउनकाबीच उल्लेख्य संख्यामा शवयात्रामा मानिसको सहभागिता थियो ।

शोकमा रहेका गिरीले पिता वियोगको दोस्रो दिन सामाजिक सञ्जालमा शेयर गरे– ‘बुबाबिनाको जिन्दगी भनेको बाटो बिर्सेको यात्री जस्तै हो ।’ यो वाक्यांशले सबैलाई पिताको महत्वसँगै पिताको वियोगपछिको अवस्थामा मानिस गन्तव्यहीन झै बनेको संकेत गर्छ । सामाजिक अभियानसँगै संस्थागत नेतृत्वमा हजारौंको अभिभावक बनेका गिरी जब पितालाई गुमाउन पुगे तब बाटो बिर्सेको यात्री जस्तै बनेको महशुस गर्न पुगे । वास्तवमा जन्म दिने पितासँगको वियोग कति पीडादायी हुन्छ भन्ने अनुभूति उक्त वाक्यांशले गराउँछ ।

पितृशोकमा रहेका सामाजिक अभियन्ता महेन्द्रकुमार, राजु, निर्मला र मिनालाई बिर्तामोड–२ चारपानेस्थित निवासमै उपस्थित रहेर एक सय दुई संस्थाले समवेदना प्रदान गरेका छन् । तीन हजारभन्दा बढी मानिस समवेदना दिन उनको निवासमा उपस्थित भएको उपस्थिति पुस्तिकाले पुष्टि गर्छ । सामाजिक सञ्जालमा हजारौंले शोकाकुल परिवारमा समवेदना तथा स्वर्गीय पिताप्रति श्रद्धाञ्जलि व्यक्त गरे । सञ्चारमाध्यमले पनि गिरी परिवारमा परेको पितृशोकको घटनालाई समाचार प्रकाशन प्रशारण गरे ।

अरुको अप्ठ्यारो र दुःखमा सदैव सहारा बन्ने गरेका महेन्द्रकुमारसहितका पिता वियोग हुँदा गिरी परिवारमा उपस्थित सबैको एउटै भनाइ थियो– ‘यो दुःखमा हामी पनि तपाईँहरुसँगै साथै छौं ।’ भनिन्छ दुःख बाँड्यो भने कम हुन्छ । त्यस्तै भयो महेन्द्रकुमार र उनका परिवारलाई पनि । समवेदना व्यक्त गर्न उपस्थित सबैले हामी पनि तपाईँहरुको साथमै छौं भनिदिँदा वास्तवमै पीडा कम भएको महशुस गरेको महेन्द्रकुमार बताउँछन् ।

संघीय सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले समेत सरकारको तर्फबाट समवेदना व्यक्त गरिन् । १२औं दिनका दिन प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की गिरी निवासमै उपस्थित भएर समवेदना व्यक्त गरे । प्रदेशका सहकारी मन्त्री रामबहादुर राना, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय संघ(नेप्सकुन)को तर्फबाट समेत समवेदना व्यक्त गरियो ।

दशगात्र कर्म चलिरहँदा विभिन्न दिनमा संविधानसभा सदस्य तथा सांसद, प्रदेश सभा सदस्यहरु समवेदनाका लागि गिरी निवासमा उपस्थित देखिन्थे । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, जिल्ला सभापति उद्धव थापा, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल खरेल, सचिव केशवप्रसाद ओझा लगायत राजनीतिक दलहरुको तर्फबाट समेत नेतृत्ववर्ग गिरी निवासमा उपस्थित भएर समवेदना व्यक्त गरेको देखिन्थ्यो ।

अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेल समवेदना व्यक्त गर्न पुगेका थिए । सयौं सहकारी अभियन्ता, सामाजिक अभियन्ता, सञ्चारकर्मीहरु, पेशाकर्मीहरु, उद्योगी–व्यवसायीहरु, कलाकारहरु यो अवधिमा गिरी निवासमा पुगेका छन् ।

पिता वियोगको दुःखको क्षणमा रहेका बेला सम्झेर समवेदना व्यक्त गर्ने तथा पिताप्रति श्रद्धाञ्जलि अर्पण गर्ने सबैमा गिरी परिवारले धन्यवाद ज्ञापन गरेको छ । ‘जीवनमा सबैभन्दा ठूलो बज्रपात भनेको आफ्ना अभिभावकसँगको वियोगको क्षण रहेछ’– बमबहादुरका छोरा महेन्द्रकुमार भन्छन्– ‘यो संकट र दुःखको घडीमा हाम्रो पीडा कम गर्न समवेदना व्यक्त गर्नुहुने, सहानुभूति प्रकट गर्नुहुने सबैमा कृतज्ञता ज्ञापन गर्दछौं ।

ताराचन्द र चन्द्रमायाका ज्येष्ठ सुपुत्रका रुपमा भोजपुरको टुङ्गेछा गाविसमा विक्रम सम्वत् १९८८ साल माघ ७ गते बमबहादुरको जन्म भएको थियो । तुलाराम र मनकुमारी पुरीकी सुपुत्री बसुन्धरा गिरीसँग २०११ सालमा बमबहादुरको वैवाहिक सम्बन्ध कायम भएको थियो । साविक पाराखोपी हाल अर्जुनधारा–५मा उनीहरुको स्थायी बसोबास थियो । २०६६ सालमा बमबहादुर पत्नी वियोगमा परे ।

महेन्द्रकुमारसँगै उनको परिवारले माता वियोगको बज्रपात सहनु प¥यो । बमबहादुर–बसुन्धराका छोराबुहारीमा महेन्द्रकुमार–ज्योति, राजु–मिनादेवी, छोरीज्वाईहरु निर्मला–लोकबहादुर भारती, मिना–ध्यानबहादुर भारती छन् । उनका ८ जना नातिनातिनी तथा २जना पनाति रहेका छन् ।

सामाजिक अभियन्ता महेन्द्रकुमार सहारा नेपाल र सहारानेपाल साकोसका सचिव तथा प्रमुख कार्यकारी निर्देशक हुन् । राजु पनि सहारामै आवद्ध छन् । महेन्द्रकुमार कोरोना महामारीको बेला खाना नपाएर भोकै बसेकाहरुका लागि सहयोग पु¥याउन शुरु भएको एकका लागि एक अभियानको परिकल्पनाकार तथा संयोजक हुन् । उनी राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक सदस्य समेत रहेका छन् । उनी दर्जनौं सामाजिक संघ–संस्थामा मार्फत सामाजिक अभियानमा क्रियाशील छन् । दुःखको यस घडीमा दिवंगत बमहादुरको आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुुल परिवारजनमा हार्दिक समवेदना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here