८२ वर्षीया वृद्धालाई नगद सहयोग

0
607

चिप्लेढुङ्गा, 

सडक पेटीमा मकै पोलेर जीविकोपार्जन गर्दै आउनुभएकी ८२ वर्षीया वृद्धालाई रू १० हजार प्रदान गरिएको छ ।

पोखरा –१७, घारिपाटनमा दश वर्षदेखि मकै पोलेर जीवन धान्दै आउनुभएकी सहारा क्षेत्रीका बारेमा जेठ २५ गते राससमा ‘हरियो मकैले धानेको बुढ्यौली’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचारबाट उहाँको वास्तविकता बुझेपछि बेलायत निवासी समाजसेवी प्रेमबहादुर गुरुङ र लक्ष्मी गुरुङले अभियानकर्मी माया गुरुङमार्फत उक्त रकम पठाउनुभएको हो ।

“हामीले बूढी आमाको बारेमा समाचारमा पढ्यौँ, चार सन्तान जन्माएर पनि बेसहारा बन्नुभएकी आमा परिवारका साथ मायाममता र उचित स्याहारका साथ बाँच्नुपर्ने उमेरमा दुःख गरेर जीवन धानिरहनुभएको रहेछ । रक्तचापको बिरामी हुनुहुँदो रहेछ, त्यसैले सहयोग पठाएका हौँ”, प्रेमले भन्नुभयो ।

दोसल्लाको सम्मानसहित रु १० हजार बुझ्दै गर्दा क्षेत्रीको आँखा रसाएका थिए । “मेरै कोखबाट मैले नजन्माए पनि मलाई माया गर्ने धेरै छोराछोरी यो संसारमा छन्, मेरो दुःख देख्न नसकी मलाई दबाइ खर्च पठाउँछन् ।” उहाँले भन्नुभयो, “बिहान बेलुकाको छाक पाखुराले साथ दिएसम्म गरेर खान्छु ।”

बेलायत निवासी समाजसेवी माया गुरुङ बन्दाबन्दीले नेपालमै रोकिएपछि विपन्न परिवारका लागि सहयोग अभियानमा सक्रिय हुनुहुन्छ । उहाँले भन्नुभयो, “यो उमेरमा सहारा नहुँदा पनि आत्मबल दरो बनाएर आगोमा पसिना चुहाउनुभएको छ, बाँच्नका लागि सङ्घर्ष गर्नुभएको छ ।” ।”
उहाँले आफू र साथी पार्वती गुरुङ कोरोनाको समयमा सहयोग अभियानमा जुटेको र हालसम्म एक हजारलाई राहत वितरण गरिसकेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here