कोरोना अस्पताल चाहियो

0
596

सम्पादकीय

नेपाली कांग्रेस झापाले कोरोना बिशेष अस्पतालको माग गर्दैै सरकारलाई ज्ञापन पत्र बुझाएको छ। झापामा कोरोना सङ्क्रमित हुनेको संख्या दिनहुँ बढिरहेको भन्दै झापामा अस्पताल सन्चालन गर्न ज्ञापनमार्फत माग गरिएको हो। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा समेत सहभागी टोलीले प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। कांग्रेस सभापति उद्धब थापालगायत पार्टीका जिल्ला, नगर र गाउँसम्मका नेता कार्यकर्ता सम्मिलित टोलीले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणको नाममा भएको भनिएको खर्च पारदर्शी बनाउन, क्वारेन्टिन ब्यवस्थित गर्न समेत सरकारको ध्यानाकर्षण गरेको छ। ज्ञापनपत्रमा कैलालीको क्वारेन्टीनमा बसेकी महिलामाथि भएको बलात्कार र रूकुम घटनाका दोषीलाई कारवाही गर्न समेत माग गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाइएको ज्ञापनपत्रमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनको स्तरीकरण, वृद्धि, बिदेशमा अलपत्र परेका र रोजगार गुमाएका नेपालीको निशुल्क रुपमा उद्धार, बन्दाबन्दीले प्रभावित बिद्यार्थीका लागि वैकल्पिक विधिबाट शिक्षण गर्ने वातावरण बनाउन समेत माग गरिएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको ज्ञापनपत्रमा कोरोना भाइरसको सङ्क्रमण अप्रत्याशित रुपमा बढेकोले रोकथामका लागि प्रभावकारी कार्य गर्न माग गरिएको छ। कांग्रेस केन्द्रीय समिति सदस्यहरु समेतको उपस्थितिमा बुझाइएको ज्ञापनपत्रमा झापामै सुबिधासम्पन कोरोना अस्पताल आबश्यक रहेको उल्लेख छ। अञ्चल अस्पतालका रूपमा सञ्चालित भद्रपुरस्थित मेची अस्पताललाई विनियोजन गरिएको वजेट तत्काल निकासा गरी कोरोना बिशेष अस्पताल सञ्चालन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ।

झापा भारतसँग जोडिएको सीमान्त जिल्ला हो। यहाँका हजारौं युवा कामको सिलसिलामा बिदेशिएका छन्। कोरोना कै कारण बैदेशिक रोजगारीमा गएका धेरैको रोजगारी गुमेको छ। लकडाउनको यति धेरै समयसम्म पनि भारतबाट रोजगारी गुमाएका नेपालीको प्रवेशको क्रम रोकिएको छैन। यसरी आउनेहरूलाई सहज, सुरक्षित र ब्यबस्थित ढङ्गले घर पुर्याउने दायित्व सरकारकै हो। तर जनताले सरकारको उपस्थितिको अनुभूति गर्न पाएका छैनन्। घर फिरेका नेपालीले न सुविधा पाएका छन् न त क्वारेन्टाइनको बसाई पूरा गर्दासम्म परीक्षण नै गराउन पाएका छन्। मृत्यु पर्यन्त कोरोना पुष्टि भएकोले कतिको अन्त्येष्टि असुरक्षित हुन पुगेको छ।

सरकारले कोरोना रोकथाम र उपचारका लागि उच्चस्तरीय संयन्त्र निर्माण गरेको छ । तर त्यसको प्रभावकारिता सिद्ध हुन सकेको छैन। परीक्षणका लागि आवश्यक सामग्री तथा उपकरण खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको आरोप यथावत् छ। सरकारले सार्वजनिक गरेको खर्च विवरणमा विश्वास नभएर युवा वर्ग सडक संघर्षमा छन्। नियन्त्रण भएको भनिएका देशमा फेरि सङ्क्रमण देखिएको छ। हाम्रोमा भने फैलिने क्रममा छ। यस्तोमा सेवा प्रवाह गर्ने अस्पताल बढाउनै पर्छ। उपकरण र आबश्यक सामग्रीको अभाव हुन नदिनु र परीक्षणको गति बढाउनु आजको मुख्य आबश्यकता हो। त्यसैले कांग्रेसको माग उचित छ र सान्दर्भिक पनि। झापामा निर्माण गरिएको अस्पतालले पूर्वी नेपालको ठूलो क्षेत्रफलमा रहेका नेपालीको रक्षा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here