झापाका क्वारेन्टाइनमा बस्ने ‘सन्तुष्ट’

0
1326

सुरक्षा ब्यवस्था राम्रो, दैनिक योगा ,प्रवचन र नृत्यबाट मनोरञ्जन

बिर्तामोड।

देशका अधिकांश स्थानीय तहले कोरोना भाइरसको संक्रमण समुदायमा नफैलियोस् भन्ने उदेश्यले क्वारेन्टाइन तथा होल्डीङ सेन्टर स्थापना गरेर भारत तथा अन्य देशबाट आएका नागरिकलाई राख्ने गरेका छन् ।

उनीहरुलाई स्वास्थ्य परिक्षण पछि मात्रै घर पठाउने गरेको जनप्रतिनिधिहरुले बताउने गरेका छन् । देशका अधिकांश क्वारेन्टाइनहरु मापदण्ड विपरीत रहेको तथा क्वारेन्टाइनमा महिलाहरु असुरक्षित भएको साथै क्वारेन्टाइनमा बस्नुपर्दा नागरिकले दुःख भोग्नुपरेको समाचारहरु आइरहेका बेला झापाका बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिकाका साथै बाह्रदशी क्षेत्रमा रहेका क्वारेन्टाइन तथा होल्डीङ सेन्टरको सुरक्षा ब्यवस्था कडा बनाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक रिजालले भने–देशका विभिन्न स्थानमा भएका समस्यालाई मध्य नजर गर्दै इलाका प्रहरी कार्यालय अनारमनी अन्र्तगतका क्वारेन्टाइन तथा होल्डीङ सेन्टरमा सुरक्षा ब्यवस्था कडा बनाएका छौं । सबै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, सामाजिक अगुवा, राजनीतिक दल तथा सबै नागरिकको सहयोग प्राप्त भएका कारणले क्वारेन्टाइन तथा होल्डीङ सेन्टरमा रहेका नागरिकले सहजता महशुस गरेको डीएसपी रिजालको भनाई छ । उनले झापामा सञ्चालित एकका लागि एक अभियानले क्वारेन्टाइन तथा होल्डीङ सेन्टरमा रहेका नागरिकको खानपानका साथै स्वास्थ्यको विषयमा ठूलो सहयोग गरेको भन्दै अभियानको प्रशंसा गरे ।

बिर्तामोड नगरपालिका अन्र्तगत कञ्चनजंघा हेल्थ इन्स्टिच्युटमा १७ पुरुष, सात महिला तथा एक जना बालिकासहित २५ जना, मेची आँखा अस्पतालमा ३५ पुरुष, १२ महिला र पाँच जना बालबालिका गरी ५२ जना रहेका छन् । त्यस्तै कनकाई नगरपालिका–३ मा रहेको दलित भवनमा ६ पुरुष र दुई महिला गरी आठ जना, कनकाई–६ मा रहेको चम्पापुर माविमा ७–७ महिला पुरुष र तीन जना बालबालिका गरी १७ जना, कनकाई–९ स्थित आर्दश माविमा ६ पुरुष, पाँच महिला र एक बालक गरी १२ जना, कनकाई–७ मा रहेको भृकुटी माविमा चार जना पुरुष, कनकाई–३ मा रहेको उद्योग वाणिज्यसंघमा एक जना पुरुष, कनकाई–३ मै रहेको कनकाई क्याम्पसमा १९ जना पुरुष रहेका छन् ।

त्यस्तै अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे माविमा ३७ जना पुरुष, १४ जना महिला तथा एक जना बालिका गरी ५२ जना रहेका छन् । भारत तथा काठमाण्डौंबाट आएकाहरुलाई उक्त क्वारेन्टाइन तथा होल्डीङ सेन्टरमा राख्ने र स्वास्थ्य परिक्षण गरेर मात्रै घर पठाउने ब्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रिजालले जानकारी दिए ।

झापाका अधिकांश क्वारेन्टाइन तथा होल्डीङ सेन्टरमा रहेका नागरिकलाई कुनै नैराश्यता नहोस् भन्ने उद्धेश्यले विभिन्न सांगितीक कार्यक्रम, बिहान बेलुका योग, प्रवचन तथा कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ, त्यसका लक्ष्ण तथा रोगलाई जित्न आत्मबल कस्तो हुनुपर्छ भन्ने विषयमा स्वास्थयकर्मी, सुरक्षाकर्मी, जनप्रनिधि तथा त्यससंग ज्ञान भएका ब्यक्तिहरुले सिकाउने गरेको बताइएको छ ।

पूर्वाञ्चलकर्मी अर्जुनधारा स्थित शनिश्चरे माविको क्वारेन्टाइन पुग्दा त्यहाँ रहेका नागरिक आफ्नै सुरमा ब्यस्त थिए । कोही इन्टरनेटमा मार्फत भिडियो कलमा ब्यस्त थिए भने कोही अध्ययानमा, केही योगा गरिरहेका थिए भने कोही आफ्ना अनुभव अन्य साथीहरुलाई बताइरहेका थिए ।

भारतको मेघालयबाट आएका श्याम कार्की आफ्ना अनुभव सुनाई रहेका थिए । उनले भने भने–हामी आफैं सुरक्षित र सचेत बन्नुपर्छ । आत्मबल बलियो बनाउन सक्यो भने रोगलाई सहज रुपमा जित्न सकिन्छ । क्वारेन्टाइनमा खाना, बस्नको राम्रो सुविधा भएको तथा सुरक्षाकर्मीले साह्रोगाह्रो सोध्ने गरेको उल्लेख गरे ।

भारतको वनारसबाट आएका विनय कोइराला अध्ययनमा ब्यस्त रहेका छन् । संस्कृत साहित्य अध्ययन गरिरहेका कोइरालाले भने क्वारेन्टाइनमा बसेर अध्ययन गरिरहेको छु । धेरैले क्वारेन्टाइनमा बसेकालाई नै कोरोना संक्रमितको रुपमा सोच्ने गरेका छन् त्यो गलत हो । रोग नफैलियोस् भनेर सरकारलेसुरक्षित रुपमा राख्ने काम गरेको छ । त्यसमा पनि हामीलाई सबै सुविधा प्राप्त भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि सबैले राम्रो सहयोग गरेको कोइरालाको भनाई छ ।

त्यस्तै दिल्लीबाट आएकी विमला खड्काले भनिन्– महिलाहरुलाई छुट्टै बस्ने ब्यवस्था गरिएको छ । हामीले सुरक्षित महशुस गरेका छौं, महिला स्वास्थ्यकर्मीले हाम्रो स्वास्थ्यको बारेमा सोध्नुहुन्छ । महिला मात्रै रहेको स्थानमा कुनै पुरुष जान नपाउने तथा साह्रोगाह्रो परेमा महिला प्रहरी मात्रै त्यस स्थानमा जाने ब्यवस्था मिलाइएको डीएसपी रिजालले जानकारी दिए ।

शनिश्चरे माविमा रहेको क्वारेन्टाइनमा २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको स्वास्थ्यकर्मी आस्मा धिमालले जानकारी दिइन् । उनले महिलाका लागि सेनेटरी प्याड तथा अन्य स्वास्थ्य सामग्रीहरु समेत उपलब्ध गराइएको बताइन् । विभिन्न ब्यक्तिहरुले सहयोग गर्ने क्रम चलिररहेको र सबैको साथ तथा सहयोगले गर्दा सबैसामग्री पु¥याउन सफल भएको उनको भनाई छ ।

क्वारेन्टाइनमा रहेका नागरिकको सुरक्षाको विषयमा प्रहरी चनाखो रहेको र सबैसंग समन्व्य गरेर काम गरेकाले इलाका प्रहरी कार्यालय अनारमनी अन्र्तगतका क्वारेन्टाइन तथा होल्डीङ सेन्टरमा कुनै समस्या नआएको डीएसपी रिजालको भनाई छ । क्वारेन्टाइ तथा होल्डीङ सेन्टरमा रहेका नागरिकको स्वास्थय परिक्षण पनि भइरहेको र रिर्पोट नेगेटिभ आएकाहरु घर फर्किने क्रम पनि चलिरहेको बताइएको छ ।

कस्तो हुनुपर्छ त क्‍वारेन्टाइन ?

सरकारले कोरोना भाइरसको जोखिम बढेसँगै यसअघि नै व्यवस्थित क्‍वारेन्टाइनको लागि मापदण्ड निर्धारणका लागि ‘कोरोना भाइरससम्बन्धी क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६’ गरेको छ । चार महिनाअघि गत फागुन चार गते सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरेर ल्यायो ।

यही मापदण्डअनुसार, भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्‍वारेन्टाइन व्यवस्तित गरेर राखेको थियो। तर, त्यसयता बनाइएका धेरै क्‍वारेन्टाइनहरु मापदण्ड विपरीतका छन् ।

सरकारले बनाएको मापदण्डअनुसार क्‍वारेन्टाइन भन्नाले, ‘कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आँकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तीमा १४ दिनसम्म अलग्गै राखिने ठाउँ हो ।’ क्‍वारेन्टाइनमा शौचालय सहितको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको तथा विद्युत, पानी राम्रो भएको हुनुपर्छ ।

मुख्यगरी कोठाको व्यवस्थापन प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने र क्‍वारेन्टाइनस्थलमा स्वास्थ्य सामग्री सहितको प्रतिसय जनाका व्यक्ति क्‍वारेटाइन बसेको ठाउँमा एकजना मेडिकल अधिकृत स्वास्थ्य परिचारिका एक, पायारामेडिक एक, ल्याब टेक्निसियन हुनुपर्नेछ । जसमा २४ सै घण्टा एम्बुलेन्स पनि व्यवस्था गनुपर्ने मापदण्डमा उल्लेख भए पनि हाल बनाइएका धेरैजसो क्‍वारेन्टाइन सरकार आफैँले बनाएको मापदण्डविपरीतका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here