फुर्सदमा पछुताउनु राम्रो हुन्न

0
643

सम्पादकीय

कोरोना भाइरसले पकड बिस्तार गरिरहेको बेला प्रदेश नम्बर १ का सामाजिक मन्त्री जीवन घिमिरेले यो प्रदेशलाई कोरोनामुक्त प्रदेश घोषणा गर्ने बताएका छन्।‌ मेची नगरपालिकामा भएको होल्डिङ सेन्टर र क्वारेन्टिनको निरीक्षण गर्न आएका उनले अन्य प्रदेशको तुलनामा कोरोना प्रभाव कम रहेकाले यस्तो घोषणा गर्न लागेको दाबी गरे। प्रदेशका अन्य जिल्ला सरह कारोना भाइरसले झापाका प्राय: सबै पालिकाहरूलाई छोएको छ।‌ प्रदेशभित्रका सबै जिल्लामा समेत यसले उपस्थिति जनाइ सकेको छ। शुरुमा उदयपुर यस प्रदेशको सर्बाधिक प्रभावित जिल्ला थियो भने पछिल्लो समयमा झापाको कचनकबल गाउँपालिकामा सङ्क्रमण बढी देखिएको छ। अझै परीक्षण गर्न बाँकी रहेको र घर आउने क्रम जारी रहेकाले नियन्त्रित नै रहेको भन्न सकिने अबस्था छैन र होइन पनि।

कोरोना असरका कारण रोजगारी गुमाएका लाखौं नेपाली युवा भारतबाट जसोतसो आए। खाडी लगायत तेस्रो मुलुकबाट सजिलै आउन सकिने अबस्था छैन। हवाई मार्गबाट आउनु पर्ने कारणले र त्यसको बेग्लै प्रक्रिया पूरा गर्नु पर्दा आगमन ब्यबस्थित नै हुन्छ। उताबाट आउँदा कोरोना परीक्षण अनिवार्य भएकोले जोखिम पनि कम हुन सक्छ। तर परीक्षण हो खोप होइन भनेर मान्ने हो भने अनियन्त्रित आगमन र आवागमन केही समयका लागि जोखिमपूर्ण नै रहन्छ। सरकारको तर्फबाट महामारी रोकथाम, उपचार र नियन्त्रणका लागि गठित उच्चस्तरीय संयन्त्र विवादमै बित्यो। लकडाउन गरेर रोकथामको प्रयास त गरियो तर अन्य आबश्यक तयारी गरिएन। जसका कारण निम्न वर्गीय जनताले आफूलाई असुरक्षित महसुस गरे। भोकका कारण पछिल्लो समय लकडाउन उल्लंघन गर्नेहरु बढ्दै गएपछि मोडालिटी बदलियो तर सङ्क्रमण पुष्टि हुने क्रम ब्यापक भइरहेको छ।

झापा चेतनाका हिसाबले अघि नै छ। यसकारण पनि हुन सक्छ यहाँ कोरोना भाइरसको सङ्क्रमण भयावह छैन। अझ अर्को कारण हुनसक्छ घेरै झापाली युवा भारतमा भन्दा खाडी मुलुकमा छन् र ती आउन पाएका छैनन्। भारतबाट आएकाहरू क्वारेन्टीनमा बसेका कारणले कोरोना भाइरसले सङ्क्रमणको रूप लिन सकेन। प्रदेशमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल बिराटनगरमा कोरोनाको उपचार भइरहेकोमा अब मेची अस्पतालको स्तरोन्नति हुने भएकाले स्वास्थ्य सेवाअझ सहज हुने छ। अहिलेसम्मको तथ्याङ्क अनुसार सङ्क्रमण समुदायमा पुगेको छैन त्यसैले अन्यको तुलनामा १ नम्बर प्रदेश महामारीको भयावहताबाट मुक्त मान्न सकिन्छ। तर कोरोनामुक्त घोषणा गरिहाल्नु पर्ने हतारो चाहिँ खुल्ला दिसामुक्त घोषणा जस्तै हुनसक्छ। हतारको निर्णयले फुर्सदमा पछुताउनु भन्दा कोरोना असरबाट जोगाउने तर्फ लाग्नु बुद्धिमानी हुनसक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here