मानवताको सेवा सर्बोच्च सेवा हो

0
1084

सम्पादकीय

झापामा पीसीआर परीक्षणका लागि जनस्तरबाटै सहयोग जुट्दैछ छ । एकका लागि एक अभियानको अगुवाइमा झापामा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न प्रयोगशाला स्थापना लागि जनस्तरबाट सहयोग रकम जुट्ने क्रम बढेको हो। साहारा नेपाल सहित झापाका २५ वटा विभिन्न सामाजिक सङ्घ संस्था को सहभागितामा सुरु गरिएको ‘एकका लागि एक ‘अभियानका साझेदार संस्थाहरूको बिर्तामोडमा भएको बैठकले कोरोना परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। त्यस यता विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा प्रयोगशाला स्थापनाका लागि अस्सी लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको बताइएको छ। कोभिड १९ भनिएको कोरोना भाइरसको संक्रमणले विश्वका अधिकांश राष्ट्र प्रभावित छन्। नेपालमा पनि यसको प्रभाव व्यापक भइरहेको छ।

प्रदेश नम्बर एकमा झापा कोरोनाबाट प्रभावित जिल्लाहरुमध्ये बढी जोखिमयुक्त रहेको छ। त्यसैले पीसीआर परीक्षण बढाएर रोगको पहिचानका साथै उपचारमा सहयोग पुर्याउने उद्देश्यले अभियानले ल्याब सञ्चालनको तयारी गरेको हो। प्रयोगशाला स्थापनाका लागि झापाका सहकारी संघसंस्थाबाट पच्चीस लाख रुपैयाँ, अन्तर्राष्ट्रिय झापाली समाजको तर्फबाट २५ लाख रुपैयाँ उपलब्ध हुने बताइएको छ। यसबाहेक अभियानमार्फत विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिहरूको सहयोगमा तीस लाख रुपैयाँ प्राप्त भएको अभियानले जनाएको छ। पीसीआर प्रयोगशाला स्थापनाका लागि एक करोड पन्ध्र लाख रुपैयाँ लाग्ने र सहयोगको प्रतिबद्धता प्राप्त भइरहेकाले प्रयोगशाला छिट्टै सञ्चालन हुन सक्ने अपेक्षा गरिएको छ।‌ प्रयोगशाला का लागि बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका भित्र जग्गा खोज्ने काम भइरहेको अभियानका संयोजक महेन्द्र कुमार गिरीले बताएका छन्।

वैश्विक महामारीको रुपमा रहेको कोरोना भाइरसको कारणबाट उत्पन्न विषम परिस्थितिमा अभियानले विपन्न तथा सहयोगापेक्षीहरुलाई सहयोग गर्दै आएको थियो । यसअघि अभियानले सहयोगी हात र संस्थाहरूको सहयोगमा पहिलो चरणमा झण्डै दुई हजार विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको थियो। यसैगरी झापाका विभिन्न क्वारेन्टिनमा बसेकाहरुलाई खाना खुवाएको र झापाका बिभिन्न बजारमा भोकै बस्न बाध्य दश हजार भन्दा बढी मजदुरलाई तयारी खाना खुवाएको अभियानका साझेदार संस्था वीरता जेसीसका अध्यक्ष मिजास पोखरेलले जानकारी दिएका छन्। विपतका समयमा आपतकालीन सहयोग गर्दै आएको एकका लागि एक अभियानले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उपचार समन्वय तथा अनुगमन समिति झापालाई भाइरल ट्रान्सपोर्ट मिडियम( भीटीएम ) एक हजार पचास थान उपलब्ध गराएको थियो। अभियानलाई देश तथा विदेशमा रहेका पैसठ्ठी वटा सामाजिक संघसंस्थाहरू सात सयभन्दा बढी व्यक्तिले आर्थिकरुपमा सहयोग गरेका छन् । अभियान संवाद समूह झापाको संयोजन र सहजीकरणमा सञ्चालन भइरहेको छ।

हाम्रो वैदिक संस्कृतिमा भनिएको छ – ‘परोपकाराय पुण्याय, पापाय परपीडनम् ‘ । अर्थात् पुण्य कमाउनु छ भने परोपकारी कार्य गर। यसैले पनि एकका लागि एक अभियान परोपकारी कार्य हो। विपतमा परेकालाई सकेको सहयोग गर्नु मानवीय धर्म हो। अभियानले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको बिशे नगर्ची अभियानको पनि सम्झना दिलाएको छ। कतिपय मानिस स्वयं उपस्थित भएर सहयोग गर्न अक्षम हुन्छन् त कति जोखिमबीचबाटै सेवा गर्न सधैँ तत्पर रहन्छन्। कोही इच्छा हुँदाहुँदै पनि सहयोग गर्न सक्तैनन्। नेपालको एकीकरणका लागि राजा पृथ्वीनारायण शाहले बिशे नगर्ची योजनाअनुसार हतियार खरिद गर्न जनताको सहयोग लिएका थिए। भनिन्छ कलियुगका लागि शक्ति भनेको संगठन नै हो। एकका लागि एक अभियान यही संगठनको उदाहरण हो जसले सरकारले गर्न नसकेको सीमान्त क्षेत्र झापामा भाइरस परीक्षण ल्याब स्थापनाकालागि अभियान सञ्चालन गरेको छ। यसको सफलताले कोरोना भाइरस परीक्षण गर्न सहज हुनेछ, रोगीको पहिचान छिटो र समुदायमा संक्रमण फैलिन रोक्नेछ। ‘हजार थुकी नदी’ बनिन्छ, अभियान नदी होस्, अभियन्ताहरुको ऊर्जा अझै बढोस्। सहसंयोजक बिनोद बस्नेतले अपिल गरे जस्तै हामी पनि यो र यस्तै पुण्यको काममा हातेमालो गर्न सबै मनकारीहरूलाई आह्वान गर्छौं। किनकि मानवताको सेवाभन्दा ठूलो सेवा केही हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here