“दुई रुपैयाँ लगानी गरेर चार रुपैयाँ कमाइहाल्ने मेरो लक्ष्य होइन ”

1
3718

राजगढमा ‘एभरेष्ट सस्तो बजार’ शुरु गर्न लाग्नुभएको रहेछ । यो बजार कस्तो हुन्छ ?

– अधिकांश जनसाधारण दुई रुपैयाँ सस्तो हुन्छ भन्दै दैनिक प्रयोग हुने घरायसी सामग्री खरिदका लागि भारतका विभिन्न बजार पुग्ने गरेका छन् । यो हामी सबैलाई थाहा छ । अनि यो पनि थाहा छ कि दुई रुपैयाँ सस्तोको लोभमा भारतका विभिन्न बजार सामग्री खरिदका लागि जाँदा कति नेपाली दैनिक रुपमा ठगिइरहेका छन् । एक समयको बर्बादी अनि घुमाउरो पाराले दैनिक हजारांै नेपाली ठगिइरहेको नजरअन्दाज गर्दै फरक सोचका साथ राजगढमा सस्तो बजारको अबधारणा ल्याएको हो । हुन त यो सोच मेरो पहिलादेखि कै हो । तर, म आफैं रोजगारीको सिलसिलामा विदेशमा रहेकाले त्यो सोच पूरा हुन सकेको थिएन । अब आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ बाह्रदशी–३ राजगढ बजारमा ‘एभरेष्ट सस्तो बजार’ सञ्चालनमा ल्याउन लागेको हो । यहाँ दैनिक रुपमा प्रयोग हुने सबै प्रकारका सामग्री सहजताका साथ सर्बसुलभ मूल्य मै उपलब्ध गराइन्छ त्यो पनि एउटै छानामुनी । ताकि यहाँ आउने ग्राहकले सबै सेवा एकै ठाउँबाट पाउन सकुन् अनि अरु ठाउँभन्दा दुईचार रुपैयाँ सस्तो होस् ।

‘सस्तो बजार’ कहिलेबाट शुरु हुन्छ ?

– कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण हामीलाई केही समय पछि धकेल्यो । हुन त हामीले यो बजार पहिला नै सुचारु गर्ने सोच बनाएका थियौं । तर, विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिएकाले त्यो सम्भव हुन सकेको थिएन । अब बिस्तारै अवस्था सहज हुँदै जाँदैछ त्यसकारण असार १० गतेबाट हामी सेवा सुचारु गर्छाैं । लकडाउनका कारण हामीलाई आबश्यक सामग्री उपलब्ध हुन कठिन परिस्थिति थियो । तसर्थ, हामीले सोचेको समयमा यो बजार उद्घाटन गर्न सकेनौं । अब यही बुधबारबाट सेवा सुचारु हुन्छ ।

यस्तो बजार राजगढमा आवश्यक छ ?

– आवश्यकता महसुस गरेरै यसखाले बजारको अवधारणा अघि ल्याएको हो । म यहीको स्थायी बासिन्दा । यहाँको समस्या मैले बर्षाैंदेखि देखेको भोगेको छु । हाम्रै घरपरिवारमा पनि आवश्यक सामग्री खरिदका लागि भारतको दिघलबैंक, पानीट्याङ्की, नक्सलबारी, शिलगढीसम्म पुगेको हिजोको दिन मैले भुलेको छैन । म जस्ता हजारौका परिवार भारतीय बजारमा आश्रित छन् । उनीहरु दुई पैसाको लोभमा भारतका विभिन्न बजारमा पुगेर आवश्यक सामग्री खरिद गरे पनि त्यो दिनको आम्दानी हिसाब गर्दैनन् । सामान्यतया, दैनिक जनमजदुर गर्ने मानिसले पनि अहिलेको समयमा पाँच सयदेखि एक हजार रुपैयाँ कमाउँछ । तर, सामग्री खरिदका लागि भारत जानु प¥यो भने त्यो दिन त्यसै बित्छ । हुन सक्छ नेपालमा भन्दा एक दुई सय रुपैयाँ सस्तोमा भारतमा मालसामान पाइएला । तर, त्यो दिनको हाँजिरा जोड्ने हो भने उल्टै घाटा छ । बरु यही भारतीय बजारको भन्दा पनि एकदुई रुपैयाँ सस्तो सामग्री उपलब्ध गराउन सक्यो भने कमसेकम आफ्ना ठाउँका दाजुभाइले बिहान घरमा चिया खाएर बजार भर्दै दिनभरि काममा त जान पाउँछन् । यही सोचका साथ हामीले यहाँ आँट गरेरै सस्तो बजार सञ्चालन गर्न लागेका हौं ।

लक्षित वर्ग को हुन् ?

– हामीले राजमार्ग दक्षिण र माई पूर्वका सबै नागरिकलाई लक्षित गरेका छौं । हुन त हामीले राजमार्ग उत्तरबाट यहाँ सामग्री खरिदका लागि आउनै नहुने भनेका त होइनौं । तर, समयको बचत गर्न सक्नुपर्छ । प्रत्येक मिनेटलाई ख्याल गर्दै आर्थिक उपार्जनको बाटोमा समय खर्च गर्नुपर्छ । त्यसो गर्न सकेको खण्डमा हाम्रो आर्थिक पक्ष सबल हुन्छ । राजमार्ग उत्तर पनि हामीले यसखाले बजार सञ्चालन गर्ने सोच राखेका छौं । हेरौं सबैको माया र सद्भाव भयो भने बिर्तामोडलाई लक्षित गर्दै त्यहाँ पनि एउटा सुपरमार्केट खोल्ने सोच छ । पहिला राजगढबाट सेवा सुचारु गरौं त्यसपछि बाहिर नजर घुमाउँछु । पहिला आफ्नो ठाउँमा सेवा दिएर बाहिर निस्कने सोच बनाएको छ । राजगढमा यसखाले काम गर्न लाग्दा सबैको साथ र सहयोग पाएकाले हामी थप उत्साहित भएका छौं । हाम्रो सेवा र सुविधाले सबै ग्राहकलाई खुशी पार्दै सबै झापाबासीलाई राजगढ आउने वातावरण सिर्जना गर्दैछौं ।

कतिको लागतमा खोल्नु भएको हो नि ?

– लगानीका हिसाबले ठूलै ‘भोलियम’ छ । यति उति भन्नुभन्दा पनि सेवाभावका साथ गरिने व्यापार भएकाले यसलाई लगानीसँग मात्र तुलना नगरौं ।

सञ्चालक कति जना हुनुहुन्छ ?

– बाहिरका सञ्चालक हामीले राखेका छैनौं । हामी दाजुभाइ छौं । हाम्रो परिवारले नै यहाँको सबै कारोवार हेर्छ ।

अरु बजारभन्दा यो बजारको फरक विशेषता के–के हुन् ?

– सामान्य अर्थमा भन्नुपर्दा हामीले अहिलेसम्म बजारलाई ठाउँ विशेषका रुपमा मात्रै हेरेका छौं । जस्तो कि बिर्तामोड, धुलाबारी, चन्द्रगढी, भद्रपुर, दमक, यही राजगढ, घैलाडुब्बा । तर, बजार भनेको एक सामाजिक व्यवस्था हो जसले क्रेता तथा बिक्रेताहरूले एकअर्काको बीचमा सूचना आदान प्रदान गरी स्वेच्छिक रूपले वस्तु तथा सेवाको विनिमय गर्ने गर्दछन् । अर्थशास्त्रले पनि बजारलाई परिभाषित गरेको छ– बजार शब्दले ती सम्पूर्ण क्षेत्रहरू जनाउँछ जँहा क्रेता र बिक्रेताबीच स्वतन्त्र तथा प्रतियोगीतापूर्ण सम्बन्ध हुन्छ र ती सम्पूर्ण क्षेत्रमा कुनै वस्तुको मूल्य, सामान साथै ती वस्तु छिटो र सजिलै उपलब्ध हुन्छ जसलाई बजार भनिन्छ । त्यही अर्थशास्त्रको परिभाषाभित्र रही हामीले यहाँ ठाउँ विशेषलाई लक्षित नगरी घरायसी सबै सामग्री एकै ठाउँमा पाउने गरी सस्तो बजार नामाकरण गरेका छौं । यहाँ ग्राहकको रोजाइमा निश्चित रकममा आफूले खोजेको सबै सामग्री पाइन्छ ।

सस्तो बजारको नाममा एउटा सामानमा केही प्रतिशत छुट दिएर अर्काेमा दोब्बर रकम लिने दाऊ त होइन ?

– त्यस्तो कसरी हुन सक्छ । हाम्रो लक्ष्य भनेकै सेवासहितको व्यापार हो । पैसा नै कमाउनु थियो भने म विदेशमा नै रमाउने थिए नि । साउदी अरबमा रहेको विश्व प्रशिद्ध कम्पनी लुलुको जनरल म्यानेजर हुँ । मलाई के कुराको अपुग थियो मैले नेपालमा आएर दुःख गर्नलाई । तर, आमा बुवा, आफू जन्मिएको हुर्किएको ठाउँ, आफ्नो देशभन्दा अर्काे ठूलो के कुरा हुनसक्छ र । क्षणिक सुखमा रमाउनुभन्दा विदेशमा सिकेको सिपलाई स्वदेशमा लगानीसहित सेवा गर्ने उद्देश्य राखेर यो बजार सञ्चालन गर्न लागेको हो । मैले पैसा धेर भएर यस्तो कार्य गर्न लागेको होइन । बैंकबाट लोन लिएर नै कारोवार गर्ने हो । तर, सिस्टम बसालेर विदेशीशैलीमा काम गर्न खोजेको हो । लुलु कम्पनीमा रहँदा मैले विश्वका ठूला–ठूला र प्रसिद्ध कम्पनीको व्यापार गर्ने तरिका हेरेको छु । त्यो अनुभव छ मलाई ।
सेवासहितको व्यापार गर्दा कुनै दिन घाटा हुँदैन । बरु उल्टै सहानुभूति र सद्भाव पाइन्छ । तपाई आफैं भन्नुहोस् त एकपटक ग्राहकको मन दुखायो भने फेरि फर्किएर तपाईको पसलमा त्यो व्यक्ति जीवन भर सामान किन्न आउँछ । तसर्थ, ग्राहकसँग मितव्ययी व्यवहार गर्दै अगाडि बढ्ने हो । हामीले यहाँ बजार सञ्चालन गरेपछि कुनै हामीले बिक्री गरेको सामग्रीमा कुनै पनि ग्राहकले गुनासो मात्रै गरे भने पनि हामी अर्काे सामग्री एक रुपैयाँ नलिई फ्रिमा दिन्छौं । त्यो आँट र हिम्मत गरेर दीर्घकालीन सोचका साथ बजार सञ्चालनको तयारी गरिएको हो । अझ हामीले यहाँबाट बिक्री गरेको सामग्रीको मूल्यभन्दा अन्त खरिद गरेको सामग्रीको मूल्य कम भएको पाइएमा त्यसको पनि १० प्रतिशत कम मूल्यमा ग्राहकलाई हामी सामग्री दिएर पठाउँछौं ।

अनि कसरी सम्भव छ त यहा“ले भने जस्तो ?

– सम्भव छ । त्यही सम्भव भएर त यस्तो कार्यमा हात हालेको । व्यापारको पोलेसी आ–आफ्नै हुन्छ । दुई रुपैयाँ लगानी गरेर चार रुपैयाँ कमाइ हाल्ने मेरो लक्ष्य होइन । सेवासहितको व्यापार गर्ने मेरो लक्ष्य हो ।

लकडाउनले सबै क्षेत्र डामाडोल छ यहा“ चाहि“ सस्तो बजारको कुरा गर्दै लगानी गरिरहनुभएको छ कतिको जोखिम छ लगानी सुरक्षित गर्न ?

– अहिले लकडाउनको समयमा आफू र अरुलाई सुरक्षित राखी खासगरी खाद्यान्न सामग्री र अन्य घरायसी सामग्रीको पूर्तिका लागि यो बजार सञ्चालन गर्न लागेको हो । हाम्रो सानो प्रयासले यस क्षेत्रका सबै नागरिकलाई फाइदा पुग्छ भन्ने हामीले विश्वास लिएका छौं ।

लामो समय विदेश बस्नु भएको छ । व्यापारमा विदेशी अनुभव त होला, तर स्वदेशमा त अनुभव छैन नि यहा“को । अनि, व्यापार फस्टाउला त ?

– बाहिरी देशको तुलनामा हामी नेपाली व्यापार मात्र होइन हरेक कुरामा पछि छौं । विदेशमा सिकेको सिपलाई यहाँ सदुपयोग गर्दा हुन्छ भन्ने पूर्ण विश्वासका साथ यो काम थालेको हो । त्यसैका लागि राजगढमा छुट्टै सपिङ मल स्थापना गरेको हुँ । यहाँको व्यापारको अनुभव नभए पनि विदेशी अनुभवलाई गहिरिएर अध्ययन अनुसन्धान गरेको छु । यहाँको पोलिसी भाइले हेर्ने हो । दाजुभाइको संयुक्त प्रयासमा थालिएको व्यवसाय सफल हुन्छ । यो मात्रै होइन कोरोना भाइरसको संक्रमण हटेर लकडाउन खुकुलो हुँदै गए दशैंसम्ममा भाटभटेनीभन्दा पनि व्यवस्थित ढंगले अर्काे पनि बजार सञ्चालन गर्ने लक्ष्य छ । तर, यहाँहरुको साथ र सहयोग निरन्तर आवश्यक छ । यहाँहरुले सहयोग गर्नुहुन्छ भन्ने आशा र भरोसामा नेपालमा त्यो पनि आफ्नै ठाउँमा लगानी गर्न विदेशबाट फर्किएको हुँ । अवसर दिनुहोस् तपाईहरुले सोचेको भन्दा राम्रो सेवासहितको व्यापार गर्न सकूँ । प्रस्तुति– सुरेन्द्र भण्डारी 

इपेपर हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/9.9.pdf

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here