तुलसीराम खरेल,
प्राकृतिक रुपमा हिन्दूकुष हिमालय क्षेत्रको झण्डै मध्यभागमा अवस्थित नेपाल धेरै प्रकारका जंगली जनावरहरु, चराहरुको प्रजनन् केन्द्र एवम् भेटघाट स्थल हो भन्ने कुरा धेरै नेपालीहरुलाई थाहा नहुन पनि सक्छ । टाढा–टाढा धेरै टाढा हिमाल पारी अत्यन्त चिसो उत्तरी ध्रुवीय क्षेत्रबाट मात्र होइन तातो भू–मध्ये रेखीय एबम् दक्षिणी गोलाद्र्धबाट पनि हजारौँ माइल यात्रा गरेर चराहरु नेपालमा आइपुग्छन् । पृथ्वीको उत्तरी गोलाद्र्धको एसिया महाद्वीपको करिब मध्ये भागमा ठडिएर रहेको हिमालय पर्वतमालाको दक्षिण काखमा रहेको नेपालमा अहिले बशन्त ऋतु समाप्त भएर गृष्म ऋतु सकिन लागेको छ ।
बर्षात् ऋतुको शुरुवातसम्म नै नौला चराहरु नेपाली आकाशमा विचरण गरिरहेका छन् । बिहानै ध्यान दिने हो भने धेरै नौला चराका बोलीहरु, भाखाहरु सुन्न सकिन्छ । चराहरुले प्रजनन्का लागि अनुकूल वातावरणको खोजी गर्दै नेपाल आइपुग्छन् । बच्चा जन्माउँछन्, केही अवस्थासम्म हुर्काउँछन् अनि सपरिवार आफ्नो पुरानो स्थानमा फर्कन्छन् । चराहरुको उक्त प्रकारको क्रियाकलाप अत्यन्तै चाखलाग्दो हुन्छ । भर्खरै मात्र चराविद् क्यारोल इन्स्किप र हेमसागर बरालले ‘नेपाल्स फोरेष्ट बर्डसस्देयर स्टेटस एण्ड कन्जर्भेसन’ नामक पुस्तक प्रकाशित गरेकाछन् । हिमालयन नेचरले प्रकाशित गरेको उक्त पुस्तकको आवरणमा झापाली चरा अन्वेषक देवेन्द्रकुमार खरेल ले खिचेको ‘सिल्भर्ड इयर्ड मेसिया’ नामको चराको तस्विर रहेको छ ।
अहिलेको मौसममा नेपालको तराई मधेस, चुरे महाभारत एवम् भित्री पहाडी स्थानहरु दक्षिण तर्फका रापिला र ताता स्थानबाट आउने चराचुरुङ्गीका क्रिडास्थल भएका छन् । नेपालका चरा विज्ञ भनेर चिनिने हेमसागर बराल, हरिशरण नेपाली, भरतराज सुब्बाका भनाइहरु अनुसार ज्येष्ठ असार महिनासम्म नै नेपाल चराहरुको गन्तब्यको रुपमा रहन्छ । यसप्रकार अहिले धेरै चराहरु भर्खरै नेपाल भित्रिएका छन्, धेरैले गुँड बनाउँदैछन् । धेरै चराहरु बच्चा कोरल्ने क्रममा छन् अनि कतिपय चाहिँ बच्चा हुर्काएर फिर्ती यात्रा गर्ने क्रममा छन् । यो मौसममा नेपालमा चराहरु श्रीलंका, भारत, माल्दिप्स, मलेशिया, थाइल्याण्ड मात्र होइन मध्यपूर्व एसिया, पश्चिम एसिया तथा अफ्रिकी मुलुकहरुबाट पनि आउने गर्दछन् ।
तुलनात्मक रुपमा शितल र लामा दिनहरु चराका लागि आहारबिहार, प्रजनन्का लागि अति नै उपयुक्त हुने भनिएको छ । ‘नेपाल फोरेष्ट बर्डसस्देयर स्टेटस एण्ड कञ्जर्भेसन’ पुस्तकका अनुसार नेपालमा आठ सय ९०े प्रजातिका चराहरु रहेको उल्लेख छ । ती मध्ये चार सय ५४ प्रजातिका चराहरु जंगलमा रहने प्रकारका छन् । तिनीहरुमध्ये चार सय २३ प्रजातिका चराहरुले मात्र नेपालमा बच्चा कोरल्ने कुरा बताइएको छ । नेपालमा पाइने चराहरु मध्ये ९३ प्रतिशत चराले मात्र नेपालमा बच्चा कोरल्छन् । हिमाल खबर पत्रिकामा पुस्तकको संक्षिप्त चर्चा गर्दै बनस्पतिविद् कमल मादेनले उक्त पुस्तक नेपाली चराहरुले बच्चा कोरल्ने तरिका र स्थानबारे अध्ययन अनुसन्धान गर्नेहरुका लागि लेटेष्ट इम्पोर्टेन्ट भर्सन भएको बताएका छन् ।
चराहरुले हाम्रो वातावरण सन्तुलनमा निकै ठूलो सहयोग गरिरहेका हुन्छन् । अधिकांश चराहरु इन्सेक्टिभोरस अर्थात् किराहरु खाने प्रकारका हुन्छन् । किरा, फट्याङ्ग्रा, लाभ्रे किरा तथा तिनिहरुका लार्भालाई खाइदिन्छन् । कतिपय बालीहरुका लागि खतरनाक किराहरुलाई मारी दिन्छन् र अप्रतक्षरुपमा सहयोग पु¥याइरहेका हुन्छन् । मासुखाने चराहरु अर्थात् सिकारी चराहरुको समेत योगदान छ । गिद्ध जस्ता पंक्षीले मरेका जनावरहरु खाइदिन्छन् र पर्यावरणमा सन्तुलन पु¥याउँछन् ।
उन्नाइसौँ शताब्दीमा नेपालका वनस्पतिहरु, जनावरहरु र नेपालको भूगोलको अध्ययनमा आउने बिदेशी अन्वेषकहरुले नेपाल होइन निपाल शब्द प्रयोग गर्दथे । उक्त कुराहरुको प्रमाणको लागि क्रिक पेट्रिक, हेमिल्टन, हुकरहरुका भ्रमण नोटहरु रहेका छन् । जीवजन्तु तथा वनस्पतिहरुका नामकरण गर्दा एउटा नामभित्र दुईवटा शब्दहरु रहेका हुन्छन् । दुई शब्दहरु मध्ये एउटा अन्वेषकको नाम वा स्थानको नामलाई बुझाउनसक्ने गरेर नामाकरण गर्ने चलन रहिआएको छ । नेपालमा पाइने चराहरु मध्ये करिब १५ प्रकारका चराहरुको प्रजातीयनाममा निपालेन्सिस शब्द प्रयोग भएको छ । निपालेन्सिस प्रजातीय नाम पाएका १५ प्रजातिका चराहरु नेपालको सीमा बाहिर त्यति नपाइने तर नेपालमा चाहिँ रैथाने चराहरुको रुपमा पाइने बताइएको छ ।
धेरै निपालेन्सिस चराहरुको नेपाली नाम भने छैन् । सामान्यत बिद्यालयका पाठ्यपुस्तकमा तथा सामान्य ज्ञानका कितावहरुमा नेपालमा मात्र पाइने चराको नाम ‘स्पाइनी ब्याब्लर’ हो भनेर लेखिएको हुन्छ, तर सो नाम पनि हाम्रो मौलिक नाम भने होइन् । यसलाई नेपाली अर्थ खोज्दा ‘काँडे भ्याकुर’ भएको हो । यो अंग्रेजीको उल्था हो, मौलिक नेपाली नाम भने होइन् । त्यसकारण सम्भव भएसम्म निपालेन्सिस चराहरु र अन्य केही हिसाबले महत्वपूर्ण र जान्नै पर्ने चराहरुको नेपाली नाम जुराउन नसकिएको कुरा सम्झदा मुटु कटक्क खान्छ ।
चराहरुको बासस्थान माथिको नाङ्गो हस्तक्षेप आजको सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको छ । सिमसारहरुको अतिक्रमण र व्यावसायीकरुपमा सिमसार माथिको हस्तक्षेप यहाँ उल्लेख गर्नै पर्दछ । अहिले नेपालमा भएका सिमसारहरु यात सामुदायिक वा सरकारी जमिन वा जंगलमा छन् । त्यस्ता सिमसारमा नौका बिहार गराउने, वनभोज स्थल र घुमन्ते पार्क बनाउने लहड्नै चलेको छ । जुन पर्यावरण र चराहरुको प्रजनन् लगायतका व्यवहारका लागि हानिकारक छन् ।
नेपाल पर्यापर्टनको ठूलो सम्भावना बोकेको मुलुक हो । पर्यापर्यटनमा जंगल, सिमसारहरुको प्राकृतिक अवस्थालाई धेरै ठूलो महत्व दिइन्छ । खास गरेर बशन्त– गृष्म ऋतुदेखि बर्खासम्म अनि हिउँदमा पृथ्वीको छुट्टै भूगोलबाट आउने चराहरुका लागि प्रजनन् केन्द्रहरु बनाइनु आवश्यक हुन्छ । उनीहरुको बासस्थान, आहारा तथा सूरक्षाबारे सचेत हुनु जरुरी छ । चराविद्हरुका अनुसार नेपालमा ३४ प्रजातिका चराहरु लोप भइसकेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग र नेपाल पंक्षी संरक्षण संघले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक सय ४९ प्रजातिका चराचुरुङ्गीहरु संकटापन्न सूचीमा छन् ।
खाद्यवालीहरुमा अत्याधिक किटनाशक औषधिहरुको प्रयोग, जलवायु परिवर्तन, सिमसारहरुको प्रदुषण तथा अतिक्रमण, वन बिनास, आदि चराहरु संकटमा पर्ने कारणहरु बन्न पुगेका छन् । रैथाने निपालेन्सिस चराहरुको मौलिक नामाकरण चुनौति बनेकै छ । लेसर ह्वीस्लिङ डक, ब्लु टेल्ड बर्ड, अर्जुनक, टुर्डोईस, बुसेरस, असेरस, तितु, नेपाल ट्री क्रिपर, हुचिल, नेपाल सन बर्ड, भ्याकूर, गिद्ध, आदिको संरक्षणको लागि केन्द्र, प्रदेश तथा स्थानीय सरकार अनि नीजि स्तरबाट कार्यक्रमहरु शुरु गर्न ढिलो गर्नुहुन्न ।