बिर्तामोड।
अमेरिकामा रहेको पुनर्निर्माण नेपाल नामक संस्थाले सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी दुई लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ ।
मुलुकमै पहिलो पटक कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारका लागि एकका लागि एक अभियानले झापामा नागरिकस्तरवाट स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै उक्त रकम प्रदान गर्ने घोषणा गरेको पुनर्निर्माण नेपालका सचिव अशोक ओलीले बताए ।
झापामा कोरोना संक्रमितको संख्या वढीरहेकोले कोरोना संक्रमितको उपचारका लागि पीसीआर प्रयोगशालाको आवश्यकता महशुस गरी एकका लागि एक अभियानले नागरिकस्तरवाट झापामा पीसीआर प्रयोगशाला स्थापना गर्न लागेकाले उक्त कार्यका लागी पुनर्निर्माण नेपालले हाललाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सचिव ओलीले वताए ।
उक्त रकम भद्रपुर–७ स्थित रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीमार्फत ‘एकका लागि एक’ अभियानलाई हस्तान्तरण गरिने रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओलीले जानकारी दिए ।
प्रदेश १मा जनस्वास्थ्य परिक्षण प्रयोगशाला विराटनगर , विराटनगरको कोसी अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको पीसीआर परीक्षणका भइरहे पनि रिपोर्ट आउन एक साताभन्दा बढी समय पर्खनुपर्ने बाध्यता भएकाले एकका लागि एक’ अभियानको अगुवाईमा झापाको कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।





























